यसपालि चलेन ओलीको ‘राष्ट्रवादी कार्ड’

यसपालि चलेन ओलीको ‘राष्ट्रवादी कार्ड’

काठमाडौं- दुई वर्षअघि मदन भण्डारीको ६९ औं जयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘भारतले आफूलाई सत्याच्युत गर्न खोजेको’ बताएका थिए।

२०७७ असार १४ गते मदन भण्डारीको ६९ औं जयन्तीको अवसरमा आयोजित त्यो कार्यक्रममा ओलीले भनेका थिए,‘भारतद्वारा अतिक्रमित भूमि समेटर नेपालको नयाँ नक्सा जारी गरेकै कारण भारतबाट आफ्नो प्रधानमन्त्रीको पदमा गम्भीर असुरक्षा पैदा भयो।।’

त्यो बेला ओली वाम गठबन्धन (एमाले–माओवादी) का तर्फबाट सरकारको नेतृत्व गरिरहेका थिए।

आन्तरिक विवादका कारण पार्टीभित्रै चेपुवामा परेर प्रधानमन्त्रीको कुर्सीमाथि खतरा देखेपछि त्यतिबेला ओलीको त्यो भनाइ आएको थियो।

त्यसअघि २०७४ सालको आम निर्वाचनका बेला पनि ओलीले मधेस आन्दोलनका क्रममा भएको नाकाबन्दीलाई मुख्य चुनावी मुद्दा बनाए।

नाकाबन्दीका कारण आजित नेपाली जनताको ठूलो समर्थन देखियो ओलीको पक्षमा। त्यो चुनावमा वाम गठबन्धनलाई मतमात्रै दिएनन् बरू दुई नजिककै बहुमत दिलाएर सरकारको नेतृत्वमा पु¥याए।

नाकाबन्दीलाई ‘बिम्ब’ बनाएर चुनावअघि ओलीले फ्यालेको राष्ट्रवादको ‘कार्ड’ सफलभयो। प्रधानमन्त्री पनि भए।

यसपालिको चुनावमा पनि ओली त्यही पुरानो ‘कार्ड’ लाई अघि सारेर चुनावमा होमिए। त्यो कार्ड थियो–आफू प्रधानमन्त्री छँदा संविधान संशोधन गरेर संसदबाट पास गर्न लगाएको नेपालको नयाँ चुच्चे नक्सा।

यसपालिको चुनावमा ओलीले राष्ट्रवादको त्यो कार्ड पहिलोपटक दार्चुला पुगेर फ्याले।

ओलीले दार्चुला पुगेर यसपटक चुनावी अभियानको सुरूवात गरे। दार्चुलाबाट चुनावी अभियान सुरू गर्नुपछाडिको प्रष्ट उद्देश्य थियो– नेपालको नयाँ नक्सालाई चुनावी एजेन्डा बनाउनु।

दार्चुला सदरमुकाम खलंगाको चुनावीसभामा एमाले अध्यक्ष ओलीले भनेका थिए,‘हामीले नक्सा जारी गरेका छौं। संसदले सर्वसम्मत पारित गरेको छ। त्यो भूमि हामी फिर्ता ल्याउँछौ, आज ग्यारेन्टी गर्न चाहन्छौं।’

ओलीको दाबी थियो– भारतले मिचेको जमिन एमालेलेमात्रै फिर्ता ल्याउन सक्छ।

अघिल्लोपटकको निर्वाचनमा चलिसकेको राष्ट्रवादको कार्ड यसपालिको चुनावमा पनि सफल हुन्छ उनको बुझाइ थियो।

त्यसैले त्यही दिन बैतडी र कञ्चनपुरमा चुनावीसभालाई सम्बोधन गरेका उनले लिपुलेक, लिम्पियाधुरा र कालापानीमाथि जोड दिएका थिए।

ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सुदूरपश्चिमको विकासमा केही गर्न नसक्ने र भूमि फिर्ता ल्याउन नसक्ने नेता भनेर आरोप लगाए।

ओलीले फ्यालेको त्यो ‘राष्ट्रवाद–कार्ड’ लाई प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालै दिएका थिए।

देउवाले व्यवहारतः सीमामा पुग्ने चेतावनी दिँदै ओलीको राष्ट्रवादी ‘कार्ड’ लाई चिर्ने प्रयास गर्दै ‘बन्दुक लिएर सीमामा लड्न’ चुनौती दिए।

गृहजिल्ला डडेलधुराको अजयमेरू गाउँपालिकामा चुनावीसभालाई सम्बोधन गर्दै देउवाले दार्चुला पुगेर भाषण गर्दैमा अतिक्रमित भूमि फिर्ता नहुने जवाफ ओलीलाई फर्काए।

कूटनीतिक माध्यमबाट मात्रै जग्गा फिर्ता हुने बताउँदै देउवाले भनेका थिए,‘दार्चुलामा भाषण गरेर लिम्यिाधुरा आउँछ? कि लड्नुप¥यो। बन्दुक ल्याउनुहोला। होइन भने कूटनीतिक माध्यमबाट आफ्नो भूमि फिर्ता ल्याउने हो। भाषण गर्दैमा भूमि फिर्ता हुने होइन।’

यसपालिको निर्वाचनमा भने ओलीले फ्यालेको राष्ट्रवादी ‘कार्ड’ दार्चुलामा चलेन नै अरू जिल्लामा पनि सफल भएको देखिँदैन।

एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा असहज परिस्थितिका बाबजुद कांग्रेसका दिलेन्द्रप्रसा बडुले यसपालि बाजी मारेका छन्।

बडुले २८ हजार ५१५ मत ल्याएर निर्वाचित हुँदा एमालेका गणेशसिंह ठगुन्ना २६ हजार ३८१ मत ल्याएर निकटतम प्रतिस्पर्धीमा सीमि भए।

ठगुन्नालाई पराजित गरेर अघिल्लो निर्वाचनको ‘बदला’ पनि लिएका छन्, बडुले। २०७४ सालको निर्वाचनमा दार्चुलाबाट तिनै ठगुन्नाले कांग्रेसका बिक्रमसिंह धामीलाई ६ हजार ७६५ मतान्तरले पराजित गरेका थिए।

३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणामलाई हेर्ने हो भने यो निर्वाचनमा जित निकाल्न बडुलाई त्यति सहज थिएन। सत्तारुढ दलबीच गठबन्धन हुँदा पनि दार्चुलाको कुनै पनि पालिकाको नेतृत्व कांग्रेसले जित्नसकेको थिएन।

त्यहाँको ९ पालिकामध्ये ५ एमाले र ४ माओवादी केन्द्रले जितेको थियो।

वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा पनि बडुलाई जित निकाल्न कठिन थियो। एमालेका वडाध्यक्षका उम्मेदवारहरूले २९ हजार ३९७ मत पाउँदा कांग्रेसका उम्मेदवारहरूले २१ हजार ५५४ मत ल्याएका थिए। माओवादीको ७ हजार ८८१ मत थियो।

दार्चुलाको संसदीय इतिहासले हेर्ने हो भने बडुलाई फापेको छैन। २०४८ देखि त्यहाँबाट चुनाव लड्दै आएका उनी तीनपटक हारिसकेका थिए।

२०४८ र २०५६ लाई छाडिदिने हो भने बडु कुनै चुनाव त्यहाँबाट जितेका थिएनन्।

२०५१ मा एमालेका प्रेमसिंह धामीबाट पराजित भएका उनलाई २०६४ मा माओवादीका लक्ष्मणदत्त जोशीले पछारेका थिए।

२०७० मा ठगुन्नासँग पराजित भएका बडु २०७४ मा समानुपातिकलाई रोजे।

 

 


Leave a Reply

Your email address will not be published.