असहजलाई ‘सहज’ बनाइदिएका रामकृष्ण

असहजलाई ‘सहज’ बनाइदिएका रामकृष्ण

काठमाडौं- २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचन जस्तो अनुकूल परिणाम २०७४ मा रामकृष्ण यादवका लागि रहेन।

दोस्रो संविधानसभा निर्वाचनमा माओवादी केन्द्रका तत्कालीन नेता रामचन्द्र मण्डललाई पराजित गरेका नेपाली कांग्रेसका नेता रामकृष्णलाई २०७४ को निर्वाचनमा धनुषा–२ मा पराजय भोग्नुपर्‍यो।

संघीयता कार्यान्वयनपछि भएको पहिलो निर्वाचनमा उनी तत्कालीन संघीय समाजवादी फोरमका उमाशंकर अरगरियासँग पराजित भए। मतान्तर पनि फराकिलो थियो।

उमाशंकर ३२ हजार ४४ मतसहित निर्वाचित हुँदा रामकृष्ण १५ हजार ४४२ मत ल्याएर तेस्रो स्थानमा समेटिए। १८ हजार ७१५ मत ल्याएर माओवादी केन्द्रका तत्कालीन नेता रामचन्द्र झा दोस्रो भएका थिए।

तिनै रामकृष्ण यसपालिको निर्वाचनमा उमाशंकर र रामचन्द्र दुवैलाई पछारेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

मतान्तर झिनो छ। तर, जितका प्रमाणपत्र रामकृष्णले पाइसकेका छन्। यो जितका साथै संसदसम्म पुग्ने उनको बाटो खुलेको छ।

शुक्रबार बिहान सार्वजनिक मतपरिणामअनुसार कांग्रेस नेता रामकृष्णले आफ्ना निकटतम प्रतिद्वन्द्वी उमाशंकरलाई १५७ मतको झिनो मतान्तरले पराजित गरेका छन्।

रामकृष्णले २० हजार ११२ मत ल्याउँदा उमाशंकरले १९ हजार ९५५ मत पाएका छन्। यस्तै एमालेबाट माओवादी केन्द्र र नयाँ शक्ति पार्टी हुँदै पछिल्लो समय नेकपा(एकीकृत समाजवादी) मा आवद्ध रामचन्द्र झा १३ हजार ९०१ मत प्राप्त गरेर तेस्रो स्थानमा समेटिएका छन्।

जनता समाजवादी पार्टी (जसपा) का आनन्द यादव (गंगाराम) ले १२ हजार ९०१ मत ल्याएका छन्।

सहज थिएन जित

मंसिर ४ गतेका लागि चुनावको घोषणा भएसँगै सबै राजनीतिक दलका उम्मेदवारहरू टिकट लिने प्रयासमा जुटे।

अघिल्लो चुनाव जितेकादेखि पराजितहरूका साथै कतिपय नयाँ अनुहार टिकट पाउन जिल्लाबाट आएर काठमाडौंमा डेरा हाले। पार्टीका शीर्ष नेताहरूलाई विश्वासमा लिन सकेजति कोसिस गरे।

त्यसैमध्येका एक थिए, रामकृष्ण। उनी अघिल्लोपटक पराजित भए पनि धनुषा–२ मा कांग्रेसबाट एक्ला दाबेदार थिए। तर, रामकृष्णलाई बाधक बनिरहेको थियो गठबन्धन।

३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मतको आधारमा त्यो क्षेत्रमा कांग्रेस पहिलो दल थियो। गठबन्धनमा आवद्ध रहँदासम्म त्यो सिटमा जनता समाजवादी पार्टी (जसपा) को दाबी थियो।

जसपाका साथै नेकपा(एकीकृत समाजवादी) ले पनि यो सिटका लागि दाबी प्रस्तुत ग¥यो। अन्तिम समयमा जसपा गठबन्धन बाहिरिएपछि धनुषा–२ का लागि कांग्रेस र एकीकृत समाजवादीले दाबी गरिरह्यो।

तर, गठबन्धनका शीर्ष नेताहरू यो सिटका लागि सहमति जुटाउन सकेनन्। र, ‘मित्रवत’ प्रतिस्पर्धा गर्ने निर्णयमा पुगे।

कांग्रेसले रामकृष्ण र गठबन्धनका अर्को घटक दल एकीकृत समाजवादीले रामचन्द्र झालाई उम्मेदवार बनायो।

उता एमालेसँग गठबन्धन गरेको जसपाले त्यो क्षेत्रमा ‘मित्रवत’ प्रतिस्पर्धा गर्ने निर्णय गर्‍यो।

एमालेबाट उमाशंकर अरगरिया र जसपाबाट आनन्द यादव चुनावी मैदानमा उत्रिए।

केन्द्रमा शीर्ष नेताहरूले गठबन्धन गर्ने निर्णय गरे पनि एकहिसाबले धनुषा–२ मा सबै दल एक्ला–एक्लै प्रतिस्पर्धा गरे।

धेरैले पूर्वानुमान गरेजस्तै कांग्रेसका रामकृष्ण र एमालेका उमाशंकरबीच कडा ‘टक्कर’ देखियो यो क्षेत्रमा। मतगणना सुरू हुँदा धेरै समयसम्म उमाशंकरले अग्रता लिइरहे।

बीचबीचमा रामकृष्णले उछिने पनि मतान्तर झिनो देखिन्थ्यो। कुनैबेला उमाशंकर र कुनैबेला रामकृष्णले अग्रता लिने रोचक प्रतिस्पर्धा देखियो यी दुई उम्मेदवारबीच।

अन्तिम परिणाम घोषणा हुँदा रामकृष्णले १५७ मतको झिनो मतान्तरले उमाशंकरलाई पराजित गरे।

चुनावी मैदानमा उत्रिएका एकीकृत समाजवादीका रामचन्द्र तेस्रो स्थानबाट माथि उक्लिन सकेनन् भने चुनाव लड्नकै लागि एमाले परित्याग गरेर जसपा प्रवेश गरेका आनन्द प्रतिस्पर्धामा आउनै सकेनन्।

राजनीतिक परिदृष्यलाई हेर्ने हो भने योपालि चुनाव जित्न रामकृष्णभन्दा सहज उमाशंकरलाई थियो। पाँच वर्षअघि रामकृष्णलाई पराजित गरेर संसदमा पुगेका उनी कुनै नकुनै हिसाबले पदमा बसिरहे।

जसपामा छँदा प्रमुख सचेतक रहेका उमाशंकर लोसपामा आउँदा ओली नेतृत्वको सरकारमा केही दिन पर्यटनमन्त्री बने। त्यसबाहेक संसदीय विकास क्षेत्रको बजेट चलाउने अवसर पनि उनीसँगै थियो।

सांसदमा निर्वाचित भइसकेपछि क्षेत्रको विकासका लागि धेरै काम गरेकोले यसपालि पनि चुनाव जित्नेमा ढुक्क देखिन्थे, उमाशंकर। उनले पाएको मतलाई नै हेर्ने हो भने उमाशंकरको बलियो जनाधार रहेको देखिन्छ।

तर, योपालि संसदससम्मको यात्रा तय गर्न धनुषा–२ को जनताले उनलाई अनुमोदन गरेनन्।

कडा प्रतिस्पर्धाकाबीच निर्वाचित हुनुमा रामकृष्ण त्यो क्षेत्रमा कांग्रेसको मजबुत संगठन र आफूप्रति जनताको विश्वासलाई श्रेय दिन्छन्। पाँच वर्षका लागि निर्वाचित नभए पनि जनताबाट कहिले टाढा नबसेको उनको भनाइ छ।

‘जनताकै बीचमा बसेको मान्छे हुँ, क्षेत्रमै रमाउन मन लाग्छ। प्रतिस्पर्धा कडा भयो। तर, यस क्षेत्रका नागरिकका लागि गरेको कामका आधारमा अनुमोदित भएको छु,’ रामकृष्ण भन्छन्,‘जनताले ममाथि गरेको विश्वासलाई घात गर्ने छैन।’

राजनीतिक यात्रा

२०३५ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट राजनीतिमा प्रवेश गरेका रामकृष्ण अविछिन्न रूपमा नेपाली कांग्रेसमा सक्रिय रहिरहे।

२०३८ सालमा जनकपुरको राराब क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको उपसभापतिमा निर्वाचित भएपछि पार्टी राजनीतितर्फ उनको आकर्षण बढ्यो।

दलहरूमाथि प्रतिबन्ध रहेको बेला उनी ‘क्रुर’ पञ्चायती शासनविरूद्धका सबै आन्दोलनहरूमा निरन्तर सहभागी भइरहे।

२०४२ सालमा पञ्चायत शासनविरूद्धको सत्याग्रहमा जनकपुरबाट पक्राउ परेर ७ महिना सिन्धुली जेल बसे।

जेलबाट रिहा भइसक्दा पनि पञ्चायतविरूद्धको उनको ‘जुनुन’ मरिसकेको थिएन। २०४६ सालको पहिलो जनआन्दोलनमा सक्रिय भूमिका वहन गरे। प्रहरीबाट समातिएर फेरि जेल बसे।

कांग्रेसको १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका रामकृष्ण १४ औं महाधिवेशनमा शेखर समूहबाट सहमहामन्त्रीका लागि प्रतिस्पर्धा गरेर पराजित भए।

पटक–पटक गरी करिब दुई वर्ष जेल काटिसकेका रामकृष्ण २०६४ सालमा संसदीय राजनीतिमा प्रवेश गरे।

गणतन्त्र घोषणापछि पहिलोपटक भएको संविधानसभाको त्यो निर्वाचनमा उनले माओवादी केन्द्रका रामचन्द्र मण्डललाई पराजित गरेर संसदसम्मको यात्रा पूरा गरे।

त्यो बेला उनी संसदको लेखा समितिको सभापति बनेका थिए।

२०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पनि उनले त्यो क्षेत्रबाट पुराना प्रतिस्पर्धी मण्डललाई फेरि पराजित गरे। दोस्रोपटक संविधानसभा सदस्यमा निर्वाचित भएका उनी त्यो बेला कृषिमन्त्रीसमेत बनेका थिए।

तर, २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा रामकृष्णलाई धनुषा–२ का मतदाताले पत्याएनन्। मधेस आन्दोलनलगत्तै भएको त्यो चुनावमा तत्कालीन संघीय समाजवादी फोरमका उमाशंकरबाट पराजितमात्रै भएनन् तेस्रो स्थानमा समेटिए।

यसपटक भने उमाशंकरलाई पराजित गरेर रामकृष्णले पुरानो हारको ‘बदला’ लिएका छन्।

 

 


Leave a Reply

Your email address will not be published.