प्रधानमन्त्री ‘भर्सेस’ केपी ओली!


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


मुलक अहिले प्रश्नैप्रश्नको बीचमा उभिएको छ। र, यसको उत्तर दिने प्रमुख जिम्मेवार प्रधानमन्त्री कहाँ छन् कसैलाई पत्तो छैन। खोज्दाखोज्दै आजित जनताले अब प्रधानमन्त्री खोज्नै छाडिसके किनकि सिंहदबार या बालुवाटारमा जनताको पहुँच छैन र सायद त्यतै कतै सुरक्षित बंकरमा प्रधानमन्त्री आराम गरिरहेका हुनसक्छन्। 

प्रश्नहरूका उत्तरहरू सम्बन्धित व्यक्ति या पक्षले दिएनन् भने त्यसको वास्तविक उत्तर आउन सक्दैन। या, अझै गलत पक्षले जवाफ दियो भने त्यो प्रत्युत्पादक हुनसक्छ। अहिले कोभिड–१९ को घेराबन्दीबीच तीन महिनाभन्दा बढी थुनिएर बसेका आम जनतासँग प्रधानमन्त्री, स्वास्थ्यमन्त्री र सरकारका अन्य अंगलाई सोध्नुपर्ने प्रश्नका चाङ छन्। र, यसको उत्तर दिने निकाय कता छन्् कसैलाई थाहा छैन। ती प्रश्नको जवाफ असम्बन्धित पक्षबाट आइरहेकाले अन्यौल छाएको हो भन्ने मेरो बुझाइ हो। 

अब तपाईं भन्नुहोला, प्रधानमन्त्री त अहिले दैनिकजसो प्रत्यक्ष नै टेलिभिजनमा आइरहेकै छन्, स्वास्थ्यमन्त्री पनि बेलाबेला झुल्किरहेकै छन्। प्रश्नको जवाफ पनि दिएकै छन्। र, प्रधानमन्त्रीको बेसार महात्म्यले त अहिले देशभित्र मात्र होइन बाहिर पनि तरंग ल्याएको छ र सामाजिक सञ्जाल त बेसारकै होली खेल्दैछ। हो, तपाईं–हामी यहाँनिर चुकेका छौं। ती व्यक्ति जुन तपाईंको प्रश्नको उत्तर लिएर आउँछन् नि, ती प्रधानमन्त्री हुँदै होइनन्। ती त खड्गप्रसाद शर्मा ओली अर्थात् केपी ओली हुन्। कसैकसैले साइनो लगाएर केपी बा भन्छन्, कसैले केपी बाजे भन्छन्, कसैले केपी काका भन्छन्। जसले जे भने पनि ती खड्गप्रसाद शर्मा ओली अर्थात् केपी ओली नै हुन्। प्रधानमन्त्री त बालुवाटारको बंकरमा आराम गरिरहेछन्। 

फेरि तपाईं भन्नुहोला प्रमाण देखा? अहिले सबैभन्दा बढी चलेको शब्द हो– ‘प्रमाण देखा’। यही व्रह्मास्त्रले नै अहिले भ्रष्टाचारीलाई सुनपानी छर्किदिएको छ। वडामा १५ हजार भ्रष्टाचार गरेको समाचार आओस् या सिंहदरबारमा १५ अर्बको, सबैको एउटै व्रह्मास्त्र छ– ‘प्रमाण देखा’। तर, ती प्रधानमन्त्री होइनन्, चतुर केपी ओली नै हुन् भन्ने प्रमाण सबैले देख्नुभएकै छ अलिक ख्याल गर्नुभएन कि? र, म यहाँ त्यसको स्मरण गराउँछु।  

प्रमाण १ : 

क्वारेन्टिनको अवस्थाबारे सबैलाई थाहा छ। भेडाबाख्राको खोरजस्ता क्वारेन्टिनमा सामाजिक दुरी हुँदै नभएका, पानी, खानेकुरा नभएका देखि थुप्रै पीडाबीच पनि जनताले आवश्यक सहयोग गरिरहेका बेला लम्किचुहा नगरपालिकाको क्वारेन्टिनमा एक महिलाको बलात्कार हुन्छ। क्वारेन्टिनमा भएको यो हदैसम्मको लापरबाही र त्यसले जन्माएको अपराध के, किन र कति कारणले भयो र भविष्यमा यस्तो हुन नदिन सरकारले कस्तो कदम चाल्छ? यसको उत्तर जनताले प्रधानमन्त्रीसँग खोज्छन्। र, आसा गर्छन् कि प्रधानमन्त्रीले यो घटनाका लागि सरकारको तर्फबाट माफी माग्नेछन्। घटना किन र कसरी भयो गल्ती कहाँनेर भयो त्यसको द्रुत छानबिन गरेर भविष्यमा यस्तो नदोहरिन आवश्यक कदम चाल्नेछन्। र, पिडित महिलालाई सहानुभूतिसहित आवश्यक सहयोग र बन्दोबस्तको घोषणा गर्नेछन्। तर, प्रधानमन्त्री बंकरमै आराम गरे र त्यसको जवाफ दिन केपी ओली आए। ती तिनै चतुर केपी ओली थिए जसले कुनै बेला हावाबाट बिजुली निकाल्दिन्छु भनेर गफ दिएका थिए। 

त्यसैले, उनले एकै वचनमा टुंगै लगाइदिए– ‘सरकारले गरेको हो र? स्वयंसेवकले ‘घटिया’ काम गरे र तिनीहरूलाई प्रहरीले समातेकै छ।’ र अझै चतु¥याइँ गरे– महिला भएकाले छुट्टै राख्नुप¥यो र त्यसैले घटना घट्यो। के ती अपराधी साँच्चिकै स्वयंसेवक नै थिए त? केपी ओलीलाई यसको अनुसन्धान गर्नैपर्दैन। उनी सर्वज्ञानी नै हुन्। यदी प्रधानमन्त्री हुन्थे त क्वारेन्टिन सुधार्ने निर्देशन त पक्कै दिन्थे होलान्। तर, केपी ओलीले क्वारेन्टिन सुविधासम्पन्न भएको दाबी गरिरहे। 

प्रमाण २:  

बर्दियाको एक क्वारेन्टिनमा ५५ वर्षीय जोधिराम गुडियाको पानी पिउन नपाएर मृत्यु भयो। त्रासैबीच आफ्नो गाउँ फर्किएका उनलाई घर जान दिइएन र क्वारेन्टिनमा राखियो। खानाको त कुरै छोडौं पिउनलाई पानी माग्दा त्यो पनि नपाएपछि उनको मृत्यु नै भयो। 

राज्यको १० अर्ब खर्च भएको र दातृराष्ट्रहरूबाट सहयोग पनि आइरहेको अवस्थामा क्वारेन्टिनको यस्तो अवस्था किन? जोधिरामको मृत्युको जिम्मेवार को? यो प्रश्नको जवाफ जनताले प्रधानमन्त्रीसँग खोजेका थिए। तर, प्रधानमन्त्री बंकरमै सुरक्षित आराम गरिरहेका थिए या राष्ट्रपति कार्यालयका लागि कार्पेट छान्दै थिए, त्यो कसैलाई थाहा भएन। यसको जवाफ दिन पनि आइपुगे तिनै चतुर केपी ओली। अनि भनिदिए– ‘नेपालीको इम्युनिटी पावर गज्जबको छ। कोरोनाले त कोही मर्दै मर्दैन। नुन, तेल र बेसार खाएको नेपालीले कोरोनालाई हाच्छ्युँ गरेर उडाइदिने हो।’

उनका सेनाहरूले ताली ठोके। मदहोश केपीलाई एउटा प्रतिनिधिले प्रश्न सोधे– ‘तपाईंलाई कसले भन्यो?’ कुटिल केपीले जवाफ दिए– ‘मैले भनेको सुन्नुभएन?’ गललल हाँसेर उडाइदिए जनताका प्रश्नहरू। अझै, उनका भजनमण्डली बेसारको फाइदाका बारेमा गुगलमा खोजेर सेयर गर्दैछन्। (यीनलाई लेख्न–पढ्न पनि अल्छी लाग्छ।) 

यदि प्रधानमन्त्री हुन्थे त केही गम्भीर देखिन्थे। जोधिरामको परिवारसँग सरकारका तर्फबाट माफी माग्थे। के कति कारणले त्यस्तो भएको हो र अब त्यो घटना हुन नदिन सरकारले के गरिरहेको छ र गर्ने छ, त्यसका बारेमा स्पष्ट पार्थे। तर, चतुर केपी ओलीले आफूलाई आयुर्वेद शास्त्रमा अब्बल छु भन्दै नाक फुलाए।
 

प्रमाण ३ : 

तीन महिना लामो लकडाउनमा बसिरहेका बेला अब कोरोना नियन्त्रण होला र दैनिकीमा फर्कौंला भनेर योजना बुनिरहेका बेला कोरोना संक्रमण अझै आक्रामक रूपमा बढ्दैछ।  करिब दुई दर्जनको मृत्यु पनि भइसकेको अवस्थामा अब ‘लक डाउन’ को विकल्प के हुन सक्छ र संक्रमणको गुणात्मक वृद्धि भइरहँदा अब सरकारको योजना के हुनसक्छ? लकडाउनकै अवधिमा १ सय २० आत्महत्या किन भए? भोकमरीविरुद्ध लड्न सरकारको योजना के छ? गरिबका लागि राहत कस्ता हुनेछन्? यी प्रश्नका जवाफ आउँछ कि भनेर जनता प्रधानमन्त्री पर्खिरहेका थिए। तर, प्रधानमन्त्री आउनुअघि नै सांसदहरूको बढेको तलबभत्ता आइसकेको थियो। तलब खुवाउनमात्र पनि विदेशी ऋण चाहिने र चालु मुद्राकै अभाव हुने अर्थमन्त्रीले बताइरहेका बेला प्रधानमन्त्री आएनन्। कुटिल केपी ओली कान कोट्टाउँदै आइपुगे। 

‘कोरोनाले एक–दुईजना मरेका हुन सक्छन्, बाँकी त विश्व स्वास्थ्य संगठनका कारणले देखाउनुपरेको हो। अरू रोगले मरेका हुन्। कोरोना त देखिएको मात्र हो। लकडाउनमात्र एक उत्तम विकल्प हो। सरकारले दु्रत गतिमा काम गरिरहेको छ। सबैले राहत पाइरहेका छन्। राहत बाँडिएको छ। हिसाब खोज्ने बेला होइन यो। पछि हिसाब देखाउँला। राष्ट्रपति भवनको कार्पेट कसले फेर्‌यो, प्रधानमन्त्रीको गलैंचा कसले फेर्यो, त्यो हामीलाई थाहा हुने कुरा होइन। यसमा टाउको दुखाइ किन?’ चतुर ओलीले सबैले राहत पाएको दाबी गरे। 

यदि, प्रधानमन्त्री हुन्थे त, लकडाउनको पहिलो तीन महिनामा सोचेजति काम गर्न नसकेकोमा क्षमा माग्थे। जनतालाई धन्यवाद दिन्थे। थप केही समय धैर्य गर्न अनुरोध गर्थे। राष्ट्रपति भवनको कार्पेटको पैसा राहतका रूपमा प्रयोग गर्थे। तर, चतुर केपी ओलीले आफूले जत्तिको राम्रो अरू कसैले गर्न नसक्ने भन्दै आफ्नै तारिफ गरे र भजनमण्डलीले जयजयकार गरे। 

यस्ता प्रमाणको फेहरिस्त हुन्छन्। सबैभन्दा महत्वपूर्ण त उनको ‘बडी ल्याङ्ग्वेज’ अर्थात् शारीरिक भाषा नै हो। हरेकपल्ट प्रधानमन्त्रीको भेषमा आएका केपी ओलीलाई राम्ररी हेर्नुभो भने तपाईंले प्रधानमन्त्री कतै देख्नुहुनेछैन। प्रष्ट केपी ओली नै देख्नुहुने छ। 

विदेशमा रहेका नेपालीलाई चार गुणा बढी रकम लिएर सःशुल्क क्वारेन्टाइनमा राखेर ‘उद्धार’ को नाम दिने हिम्मत कुनै देशको प्रधानमन्त्रीले गर्नसक्छ? सम्भव छैन। तर, केपी ओलीले गर्न सक्छन्। एमसिसी मैलेबाहेक कसैले बुझेकै छैन भनेर प्रधानमन्त्रीले भन्न सक्छन्? सक्दैनन्। तर, केपी ओलीले सक्छन्। हावाबाट बिजुली निकाल्ने, घरघरमा पाइपबाट ग्यास पु¥याउने, सपनामा रेल कुदाउने जस्ता हावा गफ दिन प्रधानमन्त्रीले सक्छन्? सक्दैनन्। तर, केपी ओलीले सक्छन्। 

कोरोनाले संसार नै अक्रान्त भएका बेला र मुलुकमा अहिले कोरोनाको प्रभाव गुणात्मक भइरहँदा हाच्छ्युँ गरेर कोरोना भगाउनी भन्दै जग हँसाउनी चतुर केपी ओलीलाई तुरुन्तै त्यहाँबाट हटाइ प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले यी सबै प्रश्नको जवाफ दिनुपर्दछ। आउनुस् सबै मिली जोडले कराऔं– प्रधानमन्त्रीजी बंकरबाट बाहिर निस्किनुस्! 

‘इनफ इज इनफ!’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने प्रयास गरे। हावा पानी र माटो सुहाउँदो, आधारभूत प्रजातन्त्र, पंचायती

देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी खुसी हुन्छन्?

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको थिएँ। आज दुई वटा संविधानसभाबाट, त्यसमा पनि आफैं सक्रिय भएर

सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि होलान्) को संलग्नतामा आयोगहरु बन्ने र भूमाफियाको सेटिङअनुरुप पार्टीका कार्यकर्तालाई

सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन, साम्राज्यवादी हस्तक्षेप पनि आउने वास्तविकतालाई बोध यतिबेला नगर्ने हो भने