कूटनीतिक दुर्घटनामा ओली


आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि

Amrit Dahal
अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको


प्रधानमन्त्रीका रूपमा नेपाली राजनीतिक इतिहासमा कसैले बोलेको सबैभन्दा खरो–खतरनाक अभिव्यक्ति अस्तिका दिन सुन्न पाइयो। केपी शर्मा ओलीको भनाइको सार यत्ति थियो- भारत उनलाई हटाउन लागिपरेको छ, पार्टीकै नेताहरू त्यसमा मिसिएका छन्। 

गाउँघरतिर एउटा भनाइ छ, टुप्पीमाथि रौं हुन्न। 

यो उखानलाई राज्यसत्ताको आलोकमा बुझौं। प्रधानमन्त्रीभन्दा शक्तिशाली र आधिकारिक कोही हुन्न। उनले बोलेपछि सकियो अर्थात् त्यो विषय वारपार भयो। कार्यपालिकाको सर्वशक्तिमान प्रधानमन्त्री हुने संसदीय व्यवस्था अनुशरण गर्दै आएका हामीले प्रधानमन्त्रीले कुनै विषय-प्रसंगमा कस्सिएर बोल्नुलाई ‘प्वाइन्ट अफ नो रिटर्न’ का रूपमा बुझ्नुपर्ने हुन्छ। 

प्रधानमन्त्री ओली जति शक्तिशाली भए, जति भाग्यमानी भए, जति ‘राष्ट्रवादी’ भए, त्यति नै नाकामयाब, त्यति नै गफाडी र सबैभन्दा बढी ‘सशंकित’ भएको बुझ्न अब कुनै थप दसी जुटाउनुपर्ने आवश्यकता देखिन्न। 

प्रधानमन्त्री ओली जति शक्तिशाली भए, जति भाग्यमानी भए, जति ‘राष्ट्रवादी’ भए, त्यति नै नाकामयाब, त्यति नै गफाडी र सबैभन्दा बढी ‘सशंकित’ भएको बुझ्न अब कुनै थप दसी जुटाउनुपर्ने आवश्यकता देखिन्न। 

अहिले चीन र भारत लाइन अफ कन्ट्रोलको सेरोफेरोमा भिड्दैछन्। गल्वान उपत्यकाको स्वामित्वलाई लिएर दुई देशबीचको सम्बन्धमा झन्डै आधा शतकयताको सबैभन्दा ठूलो संकट आइलागेको छ। गोलाबारुद प्रयोगबिनैको झडपमा दर्जनौं भारतीय र चिनियाँ सेनाको हताहती भएको छ। यो सैन्य शत्रुताको उत्कर्ष हो र यसलाई व्यापक आम जनधनको नोक्सानीको तहमा नजान एकै विषयले काम गरेको छ- द्विपक्षीय व्यापार।

त्यही भएर मुक्कामुक्की र त्यस सेरोफेराका निःसर्त उद्देश्यहरू जति चम्किरहे पनि न नरेन्द्र मोदीले सी चिनफिङको सत्तालाई न त चिनफिङले मोदीको सत्तालाई ललकार्ने काम गरेका छन्। चीन र भारतले कूटनीतिक संयमता देखाइरहेको विषय दुवै देशका नेपालजस्ता सबै छिमेक मुलुकका लागि बोधगम्य छ। 

नेपाल-भारत सम्बन्धलाई चीन-भारत र भारत-पाकिस्तान सम्बन्धको कसीमा हेर्नु नै गल्ती हुन्छ। नेपाल–भारत सम्बन्धका आफ्नै आयाम, आफ्नै समस्या, प्रवृत्ति छन्। यसमा कति प्राकृतिक पक्ष छन्, जसका कारण समस्याहरू सल्टिएर जान लामो समयको प्रतिबद्ध अभ्यास आवश्यक पर्छ। 

यो तथ्यको आलोकमा केपी ओलीलाई नै हेरौं। 

कुनै बेला थियो, ओली मुलुकको एकदमै अलमस्त नेता थिए। उनले पहिलो प्रधानमन्त्रीकाल अघिसम्म सायदै भारतसँगको विषयमा आलोचनात्मक चेत प्रकट गरे। उनले बरु भारतसँग आफ्नो राजनीतिक वृत्तिमा लाभ लिएका घटनाहरू प्रष्ट छन्। उनको अगुवाइमा तत्कालीन एमालेले बहुविवादास्पद महाकाली सन्धिमा समर्थन गर्यो, जसका कारण पार्टी नै विभाजित भयो।

यतिबेला त्यही सन्धिमा ओली नैतिक रूपले फसेका छन्। सन्धीले काली नदी द्विपक्षीय सीमा हो भन्ने सत्यलाई विकृत तुल्याउन खोजेको छ। ओलीले यसप्रति कुनै क्षमायाचना गरेका छैनन्। मात्रै नयाँ नक्सा प्रकाशनको एकलौटी जस लिन खोजेर राजनीतिक भविष्य सुरक्षित गर्न खोजेका छन्। 

नेपालले नयाँ संविधान जारी गरेपछिको अवस्थामा नयाँ दिल्लीको ओलीसँग मोहभंग भएको एवं त्यसले लगातार नेपाल–भारत सम्बन्धको फर्म्याट खल्बल्याएको देख्न सकिन्छ।

नेपालले नयाँ संविधान जारी गरेपछिको अवस्थामा नयाँ दिल्लीको ओलीसँग मोहभंग भएको एवं त्यसले लगातार नेपाल–भारत सम्बन्धको फर्म्याट खल्बल्याएको देख्न सकिन्छ।

खास गरी भारतकै संरक्षणमा १० वर्षे सशस्त्र युद्ध भई विशिष्ट भूराजनीतिक उतारचढावबीच राजतन्त्र हटे पछाडि नयाँ दिल्लीले ओलीको अतिक्रम अनुमान गरेको थिएन। त्यसकै तोडले महाभूकम्पलगत्तैको जर्जर दुःखमा समेत झन्डै आधा वर्ष अमानवीय नाकाबन्दी लगाउँदै गर्दा पशुपतिनाथका सन्तानलाई पीडा दिनुहुन्न भन्ने हेक्कासमेत राखेन। 

नाकाबन्दीयता नेपालमा आफ्नो एजेण्डा कार्यान्वयन गर्ने नयाँ दिल्लीको सामथ्र्य र आत्मबल शिथिल हुँदै गएको हो। र, पछिल्ला महिनाको घटनाक्रमले त्यो शिथिलता ‘क्रोनिक विकनेस’ मा परिणत भएको देखाउँछ। काठमाडौंलाई पहिलो अर्डरको प्रभाव क्षेत्र बनाउँदै आएका नयाँ दिल्ली सुरक्षा मेसिनरीको यतिबेलाको सकस पहिले सायदै थियो। चीनको बढ्दो प्रभावलाई प्रधान चुनौती देखाउने भारतीय मेसिनरीलाई अहिले नेपाली राजनीतिभित्रकै अनिश्चितता (अनप्रेडिक्टेविलिटी) सबैभन्दा बढी घाँडो भएको छ। 

भारतले जति गल्ती गरे पनि, नेपालले आजसम्म जे जस्तो अवस्थाबाट गुज्रनुपरे पनि, नेपाल–भारत सम्बन्धलाई एउटा तहको कूटनीतिक मैत्रीमा कायम राख्नुको विकल्प छैन। यसलाई वाध्यताका रूपमा मात्र बुझेर मन कुँडाउनु पर्दैन। नेपाल र भारत एकापसका लागि यति धेरै अन्तरसम्बन्ध छन् कि कालान्तरमा नेपाललाई सहयोग नगरिकन भारत स्थिर, सुरक्षित र उन्नतिशील रहन सक्दैन।

भारतबाट बेसाएर नखाए बाँच्न नसक्ने भन्ने एक किसिमको परजीविय शब्द–ढोंगलाई केही पक्षले निकै उछाल्न खोज्छन्। तर अहिलेसम्म विशद विमर्श हुन नसकेको पक्ष के पनि हो भने भारतले नेपालबाट सहजै पाइरहेको अथाह स्रोत र व्यापार ठीक त्यति नै परिमाणमा अन्य मुलुकबाट पाउन किंचित सजिलो छैन। आत्मप्रशंसाले ग्रसित भएर नेपाल–भारत सम्बन्धलाई हेर्दा यो तथ्य गोचर हुँदैन।

वास्तवमा यसकै आधारमा नेपाल–भारत प्राकृतिक सम्बन्धभित्रका कटानहरूलाई मर्मत गर्ने प्रसस्त बल प्राप्त हुन्छ। लिम्पियाधुरा फिर्ता गर्ने मामिलासमेत यसमै समेट्न सकिन्छ। 

एउटाले अर्कालाई ध्वस्त पार्न खोजेको अलंकारले नै भारत र पाकिस्तानको राजनीति चलेको छ। अब  भारत आफ्नो पदीय शत्रु हो भनेर देखाएर मात्र ओलीको सत्तारोटी चल्ने हो त?

ओलीका पछिल्लो अभिव्यक्तिसँग जोडेर यो विवेचना गर्दैगर्दा एउटा प्रश्न उठ्छ- ओलीले बोलेको कुरा सर्वथा सत्य नै भए पनि त्यो बोल्नु हुन्थ्यो त? प्रधानमन्त्रीजस्तो मान्छेले! के नेपाल-भारत सम्बन्ध भारत-पाकिस्तान सम्बन्धको हैसियतमा पुगिसकेको हो त?  एउटाले अर्कालाई ध्वस्त पार्न खोजेको अलंकारले नै भारत र पाकिस्तानको राजनीति चलेको छ। अब  भारत आफ्नो पदीय शत्रु हो भनेर देखाएर मात्र ओलीको सत्तारोटी चल्ने हो त?

नेपालका प्रधानमन्त्रीले पनि भारतीय समकक्षीले राम्रोसँग बुझ्ने गरी गहकिला चुनौतीपूर्ण सन्देश दिन नसक्ने भन्ने छैन, सभ्य कूटनीतिक भाष्यबाट। भारतले एकलौटी ढंगले लिपुलेकबाट बाटो बनाएको स्थितिमा ओलीले मोदीलाई पशुपतिनाथ वा विश्वनाथ कहाँ बसेर सल्लाह गर्ने हो गरौं भन्नसक्थे। मोदीले हिन्दूत्वको अलंकारबाट मुलुक चलाएका छन्, त्यसकै जगमा अहंकारसमेत देखाउँछन्।

हामी त हिन्दू सभ्यताकै शीरमा छौं, तर सहिष्णुता र उदारता हाम्रो राष्ट्रिय स्वभाव हो। मोदीले बुझ्ने भाष्यको कमी हामीसँग हुनु नपर्ने हो। तिमी सन्कियाैं, म बाउँठिएँ भनेजस्तो रबैयामा हाम्रा देशका नेता जान मिल्दैन । कुनै पनि देशका नेतालाई समकक्षी मित्रसरह व्यवहार गरी आत्मबलबाटै समदर्शी तहमा ल्याउनसक्ने ल्याकत हाम्रा नेतासँग हुनुपर्छ। 

ओलीले त अब ‘मेक अर ब्रेक’ को अवस्थामा द्विपक्षीय सम्बन्धलाई धकेलेको प्रतीत हुँदै छ। कतिले यसलाई साहस भनेर चित्रण गर्न खोज्लान्। वास्तवमा यो उनीभित्र घोर बन्दै गएको निराशामात्र हो। नितान्त व्यक्तिगत सोचलाई कूटनीतिक सम्बन्धको कसीमा छताछुुल्ल पार्ने हदमा उनी पुगिसकेको देखाउने योभन्दा अर्को दृष्टान्त के हुनसक्ला र? 

पछिल्लो समय सबैभन्दा ध्वंसात्मक चरित्र देखाइरहेको विश्व नेता मानिने डोनाल्ड ट्रम्पले समेत यो हदको टिप्पणी गरेका छैनन्। जबकि अमेरिकासँग खुलेयाम शत्रुता राख्ने मुुुलुकहरू पनि छन नि।

ट्रम्प त नो म्यान्स ल्यान्डसम्म पुगेर किम जोङ उनसँग भेट्न भ्याउँछन्। यो कूटनीतिक अभ्यासको कुरा हो। भियना कन्भेन्सनको क्षेत्राधिकारभित्र रहेर मुलुकहरूले अति तिक्तताबीच समेत सुलह खोज्न यत्न गर्छन्। तर ओलीले यसलाई न्यूनतम हिसाबले समेत ख्याल नगर्नु नेपाली कूटनीति इतिहासकै ठूलो दुर्घटना हो।

अब सोचौं, ओलीले मोदीलाई भेट्दा कस्तो मुख लगाउने? रातो? 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार र सिद्धान्तको बहस हुन्छ, न अजेन्डामाथि छलफल हुन्छ। बरु, नेतृत्वपंक्ति

‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि अझ 'स्पाईक प्रोटिन' समेतमा हुँदा वैज्ञानिकहरुले विगतमा देखिएका 'भेरियन्ट अफ

अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको जस्तो प्रगतिशील सोच भएको, २०४८ सालको जस्तो लोकप्रिय मत भएको

सर्वोच्चलाई स्यानिटाइज गरौं

लिखित कानूनले तत्काल अथ्र्याउन नसकेका र न्यायालय स्वयम् परिवन्दमा परेका विषयलाई सल्टाउने काम कार्यपालिकाकै हो। प्रधानमन्त्री वेवकुफ हुनु भनेकै जनता