देउवाजी, अब चाहिँ सच्चिनोस्


आयाेमेल संवाददाता
कांग्रेस यात्राका ‘एक्ला नायक’ रामचन्द्र पौडेल

'म त्यो मान्छे हो, जसले अनेक आँधीहुरी र बतास आउँदा

आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि


सन् १९९७ मा राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत तत्कालीन युगोस्लाभियाको वोस्निया हर्जगोभिनामा खटिने मौका जुर्‍यो। एउटा तरुण इन्सपेक्टरका लागि द्वन्द्वग्रस्त युरोपेली मुलुकमा शान्ति मिसन जानु ठूलो उत्साहको अनुभव बन्ने नै भयो। राष्ट्रसंघ मुख्यालय न्युयोर्कले नै छनोट गर्दाको गौरवानुभूतिसँगै सीमित नियमित तलवबाहेकको आकर्षक कमाईको अवसरले मेरो युवा मन पक्कै रोमान्चित भइरहेको थियो। घरजम, केटाकेटीको खर्च, भविष्यका लागि केही गर्नुपर्ने दायित्वलगायत व्यवहारिक चुनौतीसँगै आएको बहुउपयोगी मौका–जससँग अन्तर्राष्ट्रिय ‘एक्सपोजर’को मजा पनि जोडिने भयो।

हाम्रो स्टेसन थियो, वोस्नियाको पूर्वी नगर रोगाटिका। जसको सदावहार जनसंख्या हाराहारी ७ हजार मात्रै हो। सुन्दर होचा पहाडहरुको काखमा बसेको रोगाटिका नगरका मानिसहरु गोरा र राम्रा मात्रै होइन, मिजासिला पनि थिए। जातीय द्वन्द्व र गृहयुद्धलाई नेताहरुको भ्रष्टिकरणसँग जोडेर व्याख्या गर्दा उनीहरु सायद हलुंगो महसुस गर्थे।

म सर्वियाली युवा लुधेको घरमा डेरा गरी बस्थें। लुधे यति मिल्ति र मिठा मनका थिए कि घरि–घरि उनी हाम्रै गाउँघरतिरका वुधबहादुरजस्तै प्रतीत हुन्थे। लुधेको सरलताले मलाई उनको राम्रो साथी बनाइसकेको थियो। म उनको देशप्रेमसँग नतमस्तक थिएँ। देश जातीय द्वन्द्वले तहसनहस भइरहँदा एउटै आयश्रोत घरभाडाले परिवार पालिरहेका उनलाई हामी नेपालीको संगत मनोवैज्ञानिक राहत थियो। हामी फुर्सदको समयमा बेला–बेला लोकल ब्राण्डी राखिया (आलुबखडा, बेललगायतका फलबाट बनेको) पिउँदै गफिन्थ्यौं। लुधे कहिले भावुक, कहिले आक्रोशित हुँदै भन्न थालिहाल्थे–नेताहरु स्वार्थी र भ्रष्ट भएकाले हामी नागरिकले दुःख पाउनुपर्‍यो।

म उनको पीडा शब्दभन्दा भावभंगिमाबाट बढी पढ्नसक्थे। मलाई आफ्नो देश नेपालचाहिँ कम्तिमा त्यस्तो दशामा नफसोस् भन्ने कामनाले अँचेटथ्यो।

०००

अहिले धेरै भइसक्यो हामी आफैैं लुधेकै हविगतमा पुगिसक्यौं। हाम्रो सुन्दर देश नेपाल यति धेरै कुशासनको चपेटामा परिसकेको छ कि राजनीति नै सबैभन्दा कलुषित र दोषी मामिला हो यहाँ। भ्रष्टाचार, गुटगत भागवण्डा, नाता–कृपावाद र लम्पसारवाद यति विस्तारित एवम् साँस्कृतिक रुपमै स्थापित भइसकेको छ कि हरेक नयाँ पुस्ता यही अँध्यारो तस्बिरका कारण आफ्नो मातृभूमिलाई पिठ फर्काएर विदेशिन वाध्य हुने अवस्था छ। मुलृुकमा धेरै तन्त्रको आउजाउ भयो, तर जनताले श्रद्धापूर्वक पुकार गर्ने नेताहरु एकाध मात्र भए। बाँकी प्रायः नामलाई दुर्नाम भन्दा फरक पर्नेछैन।

नेपाली जनताले १७ हजार मानिसको ज्यान लिने सशस्त्र द्वन्द्वसमेत खेपे, त्यसका ठेकेदारहरुलाई पनि शान्तिप्रक्रियामा स्वीकारे। लोकतान्त्रिक भनाउँदाहरुलाई लगातार साथ दिइरहेकै छन्। चुनावमा नेपालीहरुको उत्साह संसारमै प्रशंसनीय छ। कटुतम अनुभवहरुलाई चटक्कै भुलेर हाँस्नसक्ने, हरेक अवसरमा आस दख्ने अचम्मको मनोविज्ञान छ। यस्तोमा पनि नेपाली राजनीतिले असल नेताचाहिँ जन्माउन सकेको छैन। हामीले हालैमात्र खड्गप्रसाद ओलीको अलोकतान्त्रिक, तानाशाही शासनबाट छुटकारा पाएका छौं। ओलीको शासनकालमा नेपाल एउटा माफियातन्त्रको गहिरो दलदलमा फस्न पुग्यो। जनताले झण्डै दुई तिहाइको जनादेश दिए पनि ओलीले आफ्नो गुटको रक्षामा मात्र मुलुकको साधनस्रोत खर्चे। आखिर उनको दलभित्रैको झगडाले सरकार गुम्यो, अनि सरकार जोगाउने यत्नमा उनले संसदीय लोकतन्त्रको घाँटी निचोर्ने दुस्साहस पटक–पटक गरे।

ओलीको ठाउँमा अहिले शेरबहादुर देउवा प्रधानमन्त्रीको पदमा आसिन छन्, सम्मानित सर्वोच्च अदातलको आदेशबाट। देउवा पाचौं पटक प्रधानमन्त्री बन्न पुगेका हुन्, जनताले चुनावमा नपत्याउँदा नपत्याउँदै, अर्थात् ‘बाइ डिफल्ट’। इतिहास हेर्दा सत्ता प्राप्तिका लागि जस्तोसुकै मूल्य चुकाउनसक्ने नेताका रुपमा उनको छवि उत्रन्छ। उनी काण्डैकाण्डका नेता हुन् । उनी सत्तामा हुँदा सबैभन्दा बढी आत्मविश्वास तस्कर, विचौलिया र अपराधीकै बढेको देखिनु सायद संयोगमात्र होइन।

देउवाका पटक–पटकका प्रधानमन्त्रीकालमा देशका विभिन्न तप्काका स्वच्छ र इमान्दार व्यक्तिहरु पछाडि पारिएका छन्, पन्छाइएका छन्। प्रहरी, कर्मचारी, उद्योगी, पेशाकर्मीदेखि स्वयम् उनकै पार्टीका नेता कार्यकर्तासमेत पिल्सित छन्। उनको गुट, किचेन क्याविनेटमा रहेका रवाफदारहरु, श्रीमती, सालालगायतलाई चाकडी, चाप्लुसी र राजखुशीको डोज पुर्‍याउनसक्नेहरुको रजगज हुन्छ। तिनले संवैधानिक निकायमा समेत नियुक्ति पाउँछन्। अर्थात् देउवा शासनसँगै स्वघोषित राजा–रानी साहेवहरुको जमात खडा हुन्छ र तिनीहरुबाट फाइदा लिन आतुर हुनेहरुको लस्कर पनि लम्बिन थाल्छ।

म नेपाल प्रहरीमा कार्यरत् हुँदा तत्कालीन प्रम देउवाले एकपटक मलाई बोलाए–प्रहरीको ३० वर्षे कार्यकालसम्बन्धमा राय लिन। बोलाएकै समयमा म उनको निवास बूढानीलकण्ठ पुगें। म उनीसँग भेटका लागि ५ मिनेट कुर्दा त्यहाँ करीब २ सयभन्दा बढी दर्शनाभिलाषीहरुको हुल बनिसकेको थियो। त्यो हुलमा म स्वयम्ले विभिन्न मुद्दामा कारबाही गरिसकेका गुण्डा, विचौलियाहरु प्रशस्तै थिए। मलाई कुरिरहन छटपटी भयो र तुरुन्त भेटघाटको व्यवस्था गर्न दबाब दिएँ। मलाई बोलावट भइहाल्यो। देउवासँग मैले प्रहरी संगठनको हितका विषयमा आफ्नो व्रम्हले देखेका कुराहरु फटाफट भनें। उनले मलाई ठीक ठीक मात्र भने। मैले भनेका विषयहरु एक साताभित्र कार्यान्वयन गर्ने आश्वासन दिए। मलाई छक्क लाग्यो, देउवाले कति चाँडै कुरा बुझे भनेर। तर, त्यो मेरो भ्रममात्र रहेछ। आजसम्म तीमध्ये कुनै कुरा कार्यान्वयन भएका छैनन, इमान्दार प्रहरीहरु अझै पनि पीडितै भएर कर्तव्यमा खटिरहेका छन्।

छोटो कुराकानीका भरमा देउवाबाट त्यत्रो अपेक्षा गर्नु मेरो मुर्ख्याईं थियो सायद। आखिर देशको प्रधानमन्त्री त हो नि! एउटा प्रधानमन्त्रीको मतिबुद्धि एक मिनेटमात्रै पनि सही ढंगले चल्यो भने देश र जनताको अहम् भलो हुनसक्छ। तर प्रधानमन्त्री पनि व्यक्ति हो, उ कस्तो धारणाबाट अगाडि बढ्छ भन्ने हेक्का राख्नु जरुरी हुन्छ। देउवा तिनै हुन्, जसले गृहमन्त्री हुँदा नेपाल प्रहरीमा ‘कु’ नै गरेका हुन्। जसको दुष्असर कालान्तरसम्म परिरह्यो। प्रहरीमा सक्षम अधिकृत प्रोत्साहित नहुने, मुलाहिजा र स्वार्थबाट मात्र अगाडि बढाउने सँस्कृतिको जगमा देउवाकै तत्कालीन निर्णयहरुले हात्तिपाइलेको काम गरेका छन्।

पाचौं पटकको प्रधानमन्त्री देउवालाई मेरो विन्ति छ– अब त्यस्तो किन्चित नगर्नोस्, सच्चिनोस।

देउवाले नेपालमा गुणप्रधान सँस्कृतिको विकास गर्ने मामलामा ठूलै केही गर्लान् भन्ने अपेक्षा त कठीनै छ। तर कम्तिमा निरपराधहरुले दुःख पाउने अवस्था नरहोस् भन्ने कामनाचाहिँ गर्न सकिन्छ। अपराधी र तस्करहरुको वोलबाला घटाउने यत्नका लागि चाहिँ याचना गर्न सकिन्छ। स्वास्थ्य, शिक्षाजस्ता आधारभूत र संगीन क्षेत्रमा हात पोल्ने निर्णयहरु नगर्ने चेष्टा होस् भनेर सम्झाउनसम्म सकिन्छ। सुरुआतका संकेत राम्रा छैनन्, तर नेपाली जनताको चेतनास्तर र ओलीराजको कटु अनुभवको पृष्ठभूमिले देउवालाई बबण्डर गरिरहने सुविधाचाहिँ नदिनुपर्ने हो। हेर्दै जाउँ, के–के हुन्छ।

नभएदेखि, रोगाटिकाबाट फर्केको २४ वर्षपछि सिंहदरबार, वालुवाटार र खुलामन्चको फन्को मार्दै भन्नुपर्ने हुन्छ– ईस्तो ईस्तो।

पृष्ठभूमि तस्बिरः बोस्निया हर्जगोभिनाको रोगाटिका सहरको वर्तमान स्वरुप


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस यात्राका ‘एक्ला नायक’ रामचन्द्र पौडेल

'म त्यो मान्छे हो, जसले अनेक आँधीहुरी र बतास आउँदा पनि लोकतन्त्रको दीयो निभ्न दिएको छैन। कांग्रेस संकटमा पर्दा मेरो

फाइल तस्बिर।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : वरिष्ठ नेता पौडेलद्वारा बहिष्कार

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको अन्तिम बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल अनुपस्थित भएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको अन्तिम

लमजुङमा विद्यार्थी बोकेको जिप दुर्घटना, तीनजनाको मृत्यु

गणेश माध्यमिक विद्यालय सिमपानीका शिक्षक र विद्यार्थी बोकेर गएको जिप सडकबाट डेढ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय लमजुङले

नुवाकोटमा स्टार अस्पतालको ५० बेडको ‘स्टार नुवाकोट’ सञ्चालनमा

ललितपुर सानेपास्थित स्टार अस्पतालले नुवाकोटमा ‘स्टार नुवाकोट अस्पताल’ सञ्चालनमा ल्याएको छ। उपत्यकाबाहिर बसोबास गर्ने नागरिकलाई पनि विशेषज्ञ सेवामा पहुँच विस्तार