नेपाली पर्यटकले ब्युँताउँदैछन् पोखरा


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


पोखरा-

कोरोना कहरले आक्रान्त मुलुकको पर्यटन उद्योग बिस्तारै तंग्रिने क्रम सुरु भएको छ। झन्डै डेढ वर्षदेखि कोरोना महामारीले थलिएको पर्यटन उद्योग अझै केही अवधि नेपाली (स्वदेशी) पर्यटकको भरमा बाँच्नुपर्ने निश्चित छ।

संघीय राजधानी काठमाडौंपछि मुलुककै दोस्रो ठूलो पर्यटन गन्तव्य पोखरा लामो समय सुनसान भएपछि अहिले ब्युँतिन थालेको छ। फेवाताल लेकसाइडदेखि पोखरा उपत्यका वरिपरिका पुराना तथा नयाँ गन्तव्यमा बिस्तारै चहलपहल र रौनक बढ्न थालेको छ।

यस्तो चहलपहलमा विदेशी पर्यटक भने देख्न पाइँदैन। लेकसाइड, विश्व शान्ति स्तुपा, सराङकोट, महेन्द्र, चमेरे, गुप्तेश्वर महादेव गुफा, डेभिस फल, विन्द्यवासिनी मन्दिर, तालबाराही मन्दिर, बेगनास ताल, रुपा तालदेखि नयाँ थपिएका बन्जी जम्प, जिप फ्लायर, महादेवको ठूलो शालिक, टापु रिसोर्टको ‘हात’ र झुलामा झुल्नेहरू सबै नेपाली पर्यटक हुन्।

कास्की जिल्ला प्रशासनले असोज १ बाट सबै क्षेत्र खुला गरेपछि बिस्तारै चहलपहल पनि बढ्दै गएको छ। यसमा स्थानीयको आवागमन त बढ्ने भयो, त्यसमाथि बाहिरबाट आउने नेपाली पर्यटकको आवागमन त विशेष नै हुने पर्यटन तथा होटल व्यवसायीको अनुभव छ।

‘कोरोना महामारीले थिल्थिलो बनेको पर्यटन क्षेत्रमा बिस्तारै चहलपहल बढ्नु कालो बादलमा चाँदीको घेरा भने जस्तै भएको छ, यो असाध्यै सुखद संकेत हो,’ पश्चिमाञ्चल होटल एसोसिएसन पोखराका अध्यक्ष विकल तुलाचनले आयोमेलसँग भने, ‘यो चाँदीको घेरा भनेको हामीलाई माया गर्ने नेपाली पर्यटक हुन्। अहिले नेपाली पर्यटकले जगाएको आसाबाट हामी धेरै नै उत्साही छौं।’

विकल तुलाचन, अध्यक्ष, पश्चिमाञ्चल होटल एसोसिएसन पोखरा

अहिले तत्कालका लागि पोखराको पर्यटन क्षेत्र धान्ने तेस्रो देशका पर्यटकको विकल्प नभए पनि नेपालीको आवागमनले भने पक्कै केही सकारात्मक सन्देश गएको तुलाचनको भनाइ छ।

‘आन्तरिक पर्यटकले नै पोखराको पर्यटन धान्ने त होइन तर पर्यटन उद्योगमा केही आसा भने नेपाली पर्यटकले जगाएकै हुन्,’ फेयरमन्ट होटलका कार्यकारी निर्देशकसमेत रहेका तुलाचन भन्छन्, ‘कोरोना महामारीमा पहिलो लकडाउन सकिएर दोस्रो लकडाउन र त्यो खुलेपछि पोखराको पर्यटनमा नेपालीको भर परिरहेका छौं।’

उनका अनुसार लामो समय गुम्सिएर बसेका नेपाली अहिले बिस्तारै घुम्न जान थालेका छन्। धेरै गतिविधि, संघसंस्थाका बैठक, सम्मेलन, कर्पोरेट मिटिङ पोखरामा गर्ने क्रम बढेको छ।

विगतमा पोखराको पर्यटनमा आन्तरिक पर्यटकले आधाउधी हिस्सा ओगट्थे। तर, अहिले भने त्यो न्यून हिस्सामा ओर्लिएको उनको भनाइ छ।

‘अहिले पोखराको होटल क्षेत्रमा नेपाली पर्यटकको योगदान औसतमा करिब सात प्रतिशतजति रहेको हाम्रो अनुमान छ,’ तुलाचन भन्छन्, ‘विगतमा त २५ प्रतिशतभन्दा माथि नै हुन्थ्यो। सामान्य अवस्थामा त ५० प्रतिशतसम्म हुने गरेको हामीसँग अनुभव छ।’

कोरोना महामारीको घानमा परेको पोखराको पर्यटनमा साना र मध्यम आकारका होटलमात्र नभई ठूला आकारका होटल पनि उत्तिकै मारमा छन्। अधिकांश ठूला होटल विदेशी पाहुनाका भरमा चलेका थिए। तर, कोरोना महामारीले अहिले त्यसमा ‘ब्रेक’ लगाइदिएको छ।

समग्रमा भन्नुपर्दा पोखराको पर्यटन तथा होटल क्षेत्रले कोरोनामा महामारबिाट अर्बौं रुपैयाँबराबरको आम्दानी गुमाएको छ। हजारौं कामदारको रोजगारी संकटमा परेको छ। लेकसाइडमा रहेका होटलमा कार्यरत सयौं कामदार अहिले बेतलबी बिदामा छन् भने धेरैले त पेसा पनि परिवर्तन गरिसकेका छन्।

‘कोरोना महामारीका कारण विदेशी पर्यटक आवागमन शून्य हुन पुग्दा पोखराको पर्यटन उद्योगले अर्बौंबराबरको आम्दानी गुमाइसकेको छ, त्यसमाथि हजारौं कामदार र तिनका आश्रितको रोजीरोटीमो गम्भीर प्रभाव परेको छ,’ चारतारे होटल सांग्रिला भिलेजका रेसिडेन्ट म्यानेजर गुप्ता गिरी भन्छन्, ‘साना र मध्यम आकारका होटललाई अहिले नेपाली पर्यटकले राहत नै दिएका छन्, तर ठूला आकारका होटलको अवस्था भने नाजुक नै छ।’

गुप्ता गिरी, रेसिडेन्ट म्यानेजर, सांग्रिला भिलेज रिसाेर्ट

उनका अनुसार पश्चिमाञ्चल होटल एसोसिएसन पोखरामा हाल ४ सय ५० होटल सदस्य छन्। तीसहित करिब १ हजार होटल सञ्चालनमा छन्।

‘पोखरालाई अब हामी रिब्रान्डिङ गर्दैछौं,’ होटल एसोसिएसनका कार्यसमिति सदस्यसमेत रहेका गिरीले भने, ‘अहिलेको हवाई उडान चाप हेर्दा हामी आन्तरिक पर्यटकबाट आसावादी रहेका छौ।’

विगतमा काठमाडौंबाट मात्र हवाई यात्रु पोखरा आउने गरे पनि अहिले नेपालगन्ज, भैरहवा र भरतपुरबाट पनि सिधा हवाई सम्पर्क रहेका कारण आन्तरिक पर्यटकको चहलपहल बढेको गिरी बताउँछन्।

हाल पोखराका लागि दैनिक डेढ दर्जनसम्म आन्तरिक उडान हुने गरेको छ। कोरोना महामारीले गर्दा ती सबै उडानमा अधिकांश नेपाली यात्रु हुने गरेका छन्। सानो संख्यामा नेपालमै रहेका विदेशी र पदयात्रामा जाने पर्यटक पनि बेलाबेला हुने गर्छन्।

‘नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखराको पर्यटनले तीव्र गति लिने छ,’ गिरी थप्छन्, ‘तर, त्यसबेलासम्मका लागि भने अलि गाह्रो छ, जेनतेन टिक्नुपर्ने अवस्था छ।’

लेकसाइडस्थित होटल क्राउन हिमालयाजका प्रबन्ध निर्देशक आग्रह अर्याल नेपाली पर्यटकले केही राहत दिए पनि टिक्न गाह्रो भइरहेको अनुभव सुनाउँछन्।

‘लगभग डेढ महिना जति भयो पोखराको पर्यटन रिभाइभ भएको,’ अर्याल भन्छन्, ‘कोरोना महामारीले उकुसमुकुस भएर बसेका नेपालीलाई अहिले रिफ्रेसमेन्ट चाहिएको छ र यसका लागि पोखरा सबैभन्दा उपयुक्त पर्यटन गन्तव्य हो। त्यसकारण अहिले पोखरालाई नेपाली पर्यटकले ब्युँताइरहेका छन्।’

आग्रह अर्याल, प्रबन्ध निर्देशक, हाेटल क्राउन हिमालयाज

निजी वायुसेवा कम्पनी बुद्ध एयरको होलिडे प्याकेजका कारण अहिले पोखरा घुम्न आउने आन्तरिक पर्यटकको चाप दिनहुँ बढिरहेको उनको अनुभव छ।

पर्यटक आवागमन र पर्यटन प्रवर्द्धनमामा होटल एसोसिएसनबाट राम्रो सहयोग भइरहेको उनको भनाइ छ। अब पोखरामा पर्यटकको बसाइ दर बढाउन नयाँ पर्यटन गन्तव्यहरु पुम्दीकोटको महादेव मूर्ति, फेवाताल पामेबाट सराङकोटसम्मको केबुलकार, नयाँ अन्तर्राष्ट्रिय विमानस्थल, एसियाकै लामो कुश्मा पुल (पर्वत जिल्ला) देखि बन्जी जम्प, जिप फ्लायरदेखि बेगनास ताल प्रवद्र्धन गर्नुपर्ने अर्याल सुझाव दिन्छन्।

‘अब पोखराको पर्यटन लेकसाइडमा मात्र सीमित हुनुहुँदैन,’ अर्याल थप्छन्, ‘एउटा भेग वा एक क्षेत्रको मात्र फाइदा हेर्नु हुँदैन समग्र पोखराको फाइदा हेर्नुपर्छ।’

विदेशी पर्यटक नआइ पोखराको पर्यटन रिभाइभ हुन असाध्यै गाह्रो रहेको उनको अनुभव छ। ‘नेपाली पर्यटकले त अलि–अलि थामेका छन्,’ उनी भन्छन्, ‘तालिम, सम्मेलन, गोष्ठी वा कर्पोरेट मिटिङका कारण नेपालीको आवागमन बढिरहेको अवस्था छ।’

लेकसाइडमै रहेको होटल एसियाका प्रमुख कार्यकारी अधिकृत धर्मराज पन्थी पछिल्लो समययता नेपाली पर्यटकले साह्रै राम्रो आश जगाएको बताउँछन्।

‘कोरोना महामारीको गम्भीर प्रभावमा परेको पर्यटन उद्योगका लागि नेपाली पर्यटक एउटा ‘होप’ हुन्,’ पन्थी भन्छन्, ‘झन् त्यसमाथि पोखराजस्तो अद्वितीय पर्यटन गन्तव्यका लागि त नेपाली महत्वपूर्ण हुने नै भए।’

धर्मराज पन्थी, प्रमुख कार्यकारी अधिकृत, होटल एसिया

विदेशी पर्यटकलाई क्वारेन्टिन बन्द गर्नुपर्ने, विमानस्थलमै पिसिआर वा एन्टिजेन परीक्षणको व्यवस्था गर्नुपर्ने र भारतीय सीमा खुला गर्न सके ठूलो परिमाणमा विदेशी पर्यटक नेपाल आउन सक्ने पन्थीको भनाइ छ।

‘आन्तरिक पर्यटक दसैं र तिहारमा अझै बढ्नेछन्। अर्को वर्ष २०२२ सुरुबाट चाहिँ विदेशी पर्यटक पनि बढ्ने आसा गरेका छौं,’ ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिम क्षेत्रीय एसोसिएसन पोखराका वरिष्ठ उपाध्यक्षसमेत रहेका पन्थी भन्छन्, ‘पोखराको मात्रै नभई नेपालकै पर्यटन उद्योग पुरानै लयमा फर्किन सन् २०२५ सम्म त हामीले कुर्नैपर्छ।’


पश्चिमाञ्चल होटल एसोसिएसनका अध्यक्ष तुलाचनका अनुसार कोरोना महामारीअघि सामान्य अवस्थामा पोखरामा घुम्नका लागि वार्षिक ४ लाखहाराहारी विदेशी पर्यटक आउँथे। तर, जब कोरोना महामारी फैलियो तब पर्यटन उद्योग लगभग ठप्प नै हुन पुग्यो। अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा कसरी पर्यटन प्रवद्र्धन गर्ने भन्ने विषयमा व्यवसायीदेखि सरोकारवाला सबैले एकपटक ध्यान दिनैपर्ने हुन्छ।

‘नेपालको पर्यटनलाई अब विशेष प्रवद्र्धन गर्नुपर्ने हुन्छ। कोरोनालाई नै लक्ष्य गरेर काम गर्नुपर्छ,’ तुलाचन भन्छन्, ‘लकडाउन खुल्यो भन्दैमा एकैचोटि हुल गर्ने अनि भोलि गएर फेरि बन्द गर्ने स्थिति आउन दिनुहुँदैन। हामी अहिले तत्काल संख्यात्मक हिसाबमा जानुहुँदैन बरु सुरक्षित छ भन्ने सन्देश जानुपर्छ। अलि सुरक्षित तरिकाले गन्तव्य चलाउनुपर्छ, त्यसो भयो भने संसारभरि सकारात्मक सन्देश प्रवाह हुन्छ। सबै मिलेर एकीकृत प्याकेज चलाउनुपर्छ।’

तुलाचनको केन्द्र सरकारसँग एउटा गुनासो छ– बिदा पर्यटनको कार्यविधि दुई वर्षदेखि किन थन्क्याएर राखेको?

‘यो कार्यविधि कार्यान्वयनमा ल्याइदिएको भए अहिले पोखरामात्र नभई मुलुकका धेरै गन्तव्यमा आन्तरिक पर्यटकको चहलपहल बढेको हुन्थ्यो,’ उनी भन्छन्, ‘यसलाई कार्यान्वयन गर्न अब धेरै ढिला गर्नुहुँदैन।’

पोखरा पर्यटनमा भ्याक्सिन अभाव

पोखराको पर्यटन उद्योगले कोरोना भाइरसविरुद्धको भ्याक्सिन अभाव झेलेको लामो समय भइसक्यो। स्थानीयदेखि प्रदेश सरकार हुँदै केन्द्र सरकारसम्म गुहार्दा पनि पर्यटन क्षेत्रले पर्याप्त परिमाणमा भ्याक्सिन पाउन सकेको छैन।

‘समग्रमा भन्नुपर्दा पर्यटन क्षेत्रका औसत २५ प्रतिशतजतिले कोरोनाविरुद्धको भ्याक्सिन लगाउन पाएका छन्,’ पश्चिमाञ्चल होटल एसोसिएसनका अध्यक्ष तुलाचन भन्छन्, ‘प्रदेश र केन्द्र सरकारले हामीलाई प्राथमिकतामा नराखेको हो भन्ने हाम्रो बुझाइ छ।’

उनका अनुसार पर्यटनसम्बद्ध १६ संस्थाको पहलमा सरकारले २ हजार ५ सय डोज भ्याक्सिन उपलब्ध गराएको थियो। त्यसपछि फेरि हारगुहार गरेर थप ९ सय डोज प्राप्त भएको थियो।

होटल एसोसिएसनका कार्यसमिति सदस्य तथा सांग्रिला भिलेजका रेसिडेन्ट म्यानेजर गिरीले एसोसिएसन, पोखरा पर्यटन परिषदसहित पर्यटन क्षेत्रसम्बद्ध १६ संस्थाबाट गण्डकी प्रदेश सरकारलाई ध्यानाकर्षण गरी काठमाडौं पुगेर आग्रह गरेपछि बल्ल–बल्ल २ हजार ५ सय डोज भ्याक्सिन पोखरा पर्यटन क्षेत्रका लागि दिइएको थियो।

‘पोखरा पर्यटन क्षेत्रको पहिलो प्राथमिकता भ्याक्सिन हो। यस क्षेत्रका सबैले पूर्णडोज भ्याक्सिन पाए भने पर्यटन प्रवद्धन गर्न धेरै नै सहज हुनेछ,’ गिरी भन्छन्, ‘नेपालको पर्यटनको राजधानी पोखरा भनिन्छ तर भ्याक्सिनमा हामीमाथि भएको भेदभाव देख्दा केन्द्र सरकारसँग हाम्रो धेरै नै गुनासो छ।’

होटल क्राउन हिमालयका प्रबन्ध निर्देशक अर्याल पनि भ्याक्सिनमा बेवास्ता गर्ने केन्द्र सरकारप्रति गुनासो रहेको बताउँछन्।

‘सरकारले पोखरा पर्यटन क्षेत्रलाई पनि पर्याप्त मात्रामा भ्याक्सिन उपलब्ध गराइदिनुपर्छ,’ उनी भन्छन्, ‘पर्यटन क्षेत्रका कामदारी–कर्मचारी र व्यवस्थापनका व्यक्ति सुरक्षित नभएसम्म अब पर्यटक ल्याउन गाह्रो हुने हाम्रो अनुमान छ।’

होटल एसियाका प्रमुख कार्यकारी अधिकृत पन्थीको भनाइमा पर्यटन क्षेत्रलाई पर्याप्त परिमाणमा भ्याक्सिन व्यवस्था गर्नका लागि गण्डकी प्रदेशको पहुँच केन्द्र सरकारसम्म नपुगेको हो।

उनका अनुसार पर्यटन क्षेत्रका ‘फ्रन्टलाइनर’ लाई सबैभन्दा पहिला भ्याक्सिनको व्यवस्था हुनुपर्छ। त्यसपछि ट्याक्सी चालक, डुंगाका कामदार, होटल, पदयात्रा, ट्राभललगायत सम्बद्ध कामदारलाई भ्याक्सिन आवश्यक छ।

अन्नपूर्ण, मनास्लुलगायत पदयात्रा मार्गमा रहेका फ्रन्टलाइनरलाई पनि भ्याक्सिन चाहिएको उनी बताउँछन्। लगभग ५ हजारजनालाई तत्काल भ्याक्सििन चाहिएको उनको भनाइ छ।

‘पदयात्रा मार्गका फ्रन्टलाइनरले भ्याक्सिन नपाए पर्यटक पदयात्रामा जान डराउनेछन्,’ पन्थीले भने, ‘पोखराको पर्यटन क्षेत्रलाई कोरोनाविरुद्धको भ्याक्सिन वितरणमा संघीय सरकारले भेदभाग गरेको प्रष्ट भएको छ।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
फेरि सर्‍यो कांग्रेस महाधिवेशन, कात्तिक २७ देखि तल्लो तहका अधिवेशन

परिवर्तित कार्यतालिकाअनुसार अब केन्द्रीय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म हुने भएको छ। यसअघि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले मंसिर ९

अबदेखि चिकित्सकको लाइसेन्स परीक्षामा सीप परीक्षण हुने, यस्तो छ कार्यविधि

काठमाडाैं – नेपाल मेडिकल काउन्सिलले चिकित्सक लाइसेन्स परीक्षामा अबदेखि लिखित परीक्षापछि प्रयोगात्मक (सीप परीक्षण) परीक्षा समेत लिने भएको छ। काउन्सिलले

न्यायालय विवादबारे पूर्वन्यायाधीश भन्छन्- दलहरुले राज्य सञ्चालनमा सुशासन कायम नगर्दाकाे…

काठमाडौं – सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीले अहिले न्यायालयमा देखिएको समस्याको समाधान आपसी समझदारीमा हल गरिनुपर्ने बताएका छन्। आफूले तत्काल

प्रतिनिधिसभाको बैठक भोलि, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – प्रतिनिधिसभाको बैठक भोलि बिहीबार बस्दै छ। संघीय संसद सचिवालयका अनुसार बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ। सचिवालयका