दीर्घ कोभिड : के छन् लक्षण ? कसलाई हुन्छ बढी जोखिम ?


आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि

Amrit Dahal
अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको


काठमाडाैंकी लाक्पा शेर्पा भर्‍याङ उक्लँदा हिजोआज फतक्कै गल्न थालेकी छन्। कति पटक त दुई खुड्किलो उक्लिएपछि थचक्क बसेको सुनाउँछिन् उनी।

कोभिडबाट सङ्क्रमणमुक्त भएको २ महिना बित्यो तर उनमा थकान उस्तै छ। उनी भन्छिन्,’अस्पतालमा बस्दा बरु रिपोर्ट नेगेटिभ आएपछि ठिक हुन्छ भन्ने लाग्थ्यो। तर यो त कहिले पनि ठिक नहुने समस्या रहेछ जस्तो लाग्दै छ।’

डाक्टर शेरबहादुर पुनले शेर्पाजस्ता धेरै बिरामी हेरेका छन्। एक जना बिरामीले उनीसँग भनेका थिए- ‘मेरो अङ्गभङ्ग भएको छैन। हेर्दा ठिक देखिन्छु। खाना खान्छु, हिँड्छु तर भित्रभित्रै मलाई निकै गाह्रो भएको छ। सामान्य जीवन जिउनै सकेको छैन।’

कोही शारीरिक समस्या लिएर आउँछन्। कोही मानसिक रूपमा गलेर। कोभिड-१९ निको भएपछि पनि केही बिरामीको स्वास्थ्यमा निरन्तर वा केहीमा तीनदेखि चार सातापछि समस्या देखिएको छ। यस अवस्थालाई ‘लङ’ अर्थात दीर्घ कोभिड भन्ने गरिएको छ।

दीर्घ कोभिड भनेको के हो ?

‘कोरोना भाइरस (कोभिड-१९) बाट सङ्क्रमणमुक्त भएपछि पनि केही समयसम्म मानिसहरूमा सङ्क्रमणको लक्षण एवं अन्य स्वास्थ्य समस्या देखिन्छ भने त्यो दीर्घ कोभिड हो,’ डाक्टर पुनले भने,’ती समस्या शारीरिक एवं मानसिक दुवै खालका हुन सक्छन्। र, निरन्तर लामो समयसम्म सताउन सक्छ।’

दीर्घ कोभिडबारे अधिकांशलाई थाहा नभएका कारण प्राय मानिस आफ्नो शरीरमा देखिएका र महसुस भएका परिवर्तनसँग डराएको बताउँछन् उनी।

नेपालमा कोरोनाभाइरसको दोस्रो लहर सुरु भएपछि सङ्क्रमण दर ह्वात्तै बढ्यो। त्यससँगै दीर्घ कोभिडको समस्या पनि व्यापक बनेको बताउँछन् त्रिवि शिक्षण अस्पताल महाराजगन्जका छाती रोग विशेषज्ञ डाक्टर नीरज बम।

उनी अस्पतालको कोभिड-१९ व्यवस्थापन समितिका ‘फोकल पर्सन’हुन्।

डाक्टर बमका अनुसार गत जेठको पहिलो र तेस्रो साताबिचमा शिक्षण अस्पतालमा ३ सय ७८ कोरोना सङ्क्रमित उपचारका लागि भर्ना भए।

त्यसताका सङ्क्रमणमुक्त भएर गएका अधिकांश बिरामी हाल आकस्मिक एवं बहिरङ्ग वार्डमा धाइरहेका छन्, लङ कोभिडको लक्षणसहित। ‘केही बिरामी उपचाररत छन्। केही प्रतीक्षारत छन्। हामी बिरामीको स्वास्थ्य स्थिति र आवश्यकता हेरेर सेवा दिइरहेका छौँ’ डाक्टर बमले भने।

के हुन् लक्षण ? कस्ता छन् समस्या ?

मौसम परिवर्तनसँगै कोभिड-१९ सङ्क्रमणमुक्त भएका बिरामीहरूमा ज्वरो आउने, रुघा र खोकी लाग्नेजस्ता समस्या बल्झिएको चिकित्सकहरू बताउँछन्।

अधिकांशले अत्यधिक थकान, शरीर तात्ने, जोर्नी दुख्ने, रिङटा लाग्ने, अरुचि, श्वासप्रश्वासमा कठिनाइ र कपाल झर्ने समस्याबारे बताइरहेका छन्।धेरैले मुटु ढुकढुक हुने, निद्रा नलाग्ने, डर र तनाव बढेको सुनाएका छन्।

दीर्घ कोभिडको जोखिम कसलाई हुन्छ?

कोरोनाभाइरस महामारीकाबीच कोभिड बाहेकका बिरामीको ‘बेहाल’ डाक्टर बमका अनुसार सङ्क्रमण हुँदा आइसियु र भेन्टिलेटरबाट घर फर्किएका केही बिरामीहरूको शरीरमा अक्सिजनको मात्रा पुनः घटेको छ।

श्वास प्रश्वासमा समस्या देखिएर शिक्षण अस्पताल पुगेका बिरामीहरू मध्ये केहीलाई ‘हाइ फ्लो अक्सिजन’को सहायतामा उपचार गराइरहेको बमले बताए।

‘सङ्क्रमण हुँदा निमोनिया देखिएकाहरू फेरि बिरामी भएका छन्। उनीहरूको निमोनियामा फेरि सङ्क्रमण भएको हुनसक्छ’, उनले भने,’यस्ता अवसरवादी सङ्क्रमण विभिन्न ब्याक्टेरिया, भाइरस र फंगसका कारण हुन्छन्। नियमित वर्षा र मौसम परिवर्तनसँगै यो समस्या पीडितहरूको सङ्ख्यामा वृद्धि भएको छ।’

साउन दोस्रो साता यता लङ कोभिडका कारण शिक्षण अस्पतालमा मात्रै ३ जना बिरामीको मृत्यु भइसकेको छ।

सङ्क्रमणमुक्त भएर घर गएका उनीहरूमा पुनः स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि अस्पताल आएका थिए।

सरकारी अस्पतालमा मात्र नभई निजी स्वास्थ्य केन्द्रहरूमा पनि लङ कोभिडका बिरामीहरूको सङ्ख्या बढेको बताउँछिन् पल्मनरी एन्ड क्रिटिकल केयर विज्ञ डा। रक्षा पाण्डे।

सङ्क्रमण हुँदा रगतका नलीहरूमा रगत ढिक्का बनेर जम्नुले केही बिरामीको मुटुमा पनि असर परेको बताइन्। त्यस्तै केही बिरामीहरूको मांसपेशी निकै कमजोर भएको जानकारी दिइन्।

‘फोक्सोको दाग मुटुको समस्याका कारण हो या मांसपेशी कमजोर भएर हो? भन्ने कुरा पहिचान गर्न अति आवश्यक छ। त्यसपछि उपचार र चिकित्सकको परामर्श लिनुपर्छ,’ उनले भनिन्।

अस्पतालबाट सन्चो भएर फर्किएकाहरूमा त समस्या देखिएको छ नै। साथै घरमै एकान्तवासमा बसेका र सङ्क्रमणका कारण गम्भीर बिरामी नभएकाहरूमा पनि दीर्घ कोभिडको लक्षणहरू देखिएको डा। पाण्डेले जानकारी दिइन्।

उनका अनुसार कोरोनाभाइरस सङ्क्रमणमुक्त भएका बिरामीहरूमा मल्टिसिस्टमेटिक इन्फ्लामेटरी सिन्ड्रम (एमएसआइसी) देखिएको छ।

पहिले बालबालिकामा मात्र देखिएको यस रोग हाल वयस्कमा पनि पहिचान भएको उनी बताउँछिन्। ‘यस रोगका लक्षणहरू ढिला देखिन्छन् तर पहिचान हुनुभन्दा अगाडि देखि नै शरीरको विभिन्न अङ्गहरू सुन्निन्छन् र असर पार्छ’, डा. पाण्डेले भनिन्।

उनका अनुसार लङ कोभिड भएका धेरैले कपाल झर्ने समस्याबारे गुनासो गरिरहेका छन्। शरीरमा कडा रोग भएका कारण हर्मोनको सन्तुलन बिग्रिएको र त्यसको परिणाम कपाल झर्नुसँग सम्बन्धित भएको हुन सक्ने उनको तर्क छ।

मानसिक स्वास्थ्यमा प्रभाव

दीर्घ कोभिड भएका कैयौँ मानिसहरूमा मनोसामाजिक समस्या पनि देखिएको शिक्षण अस्पतालका मनोरोग विशेषज्ञ डाक्टर सरोजप्रसाद ओझाले बताए।

उनका अनुसार अस्पतालको ओपीडी वा आकस्मिक कक्षमा आउने बिरामीहरूमा डिप्रेसन (अवसाद), एङ्जाइटी (चिन्ता) र अनिद्राको लक्षणहरू देखिएका छन्।

डिप्रेसनको लक्षण देखिएका बिरामीहरूमा जाँगर र खुसी कम भएको, कुनै विषयमा ध्यान केन्द्रित गर्न नसक्ने, कुराहरू बिर्सने समस्या देखिएको छ।

अधिक पसिना बग्ने, डर र चिन्ता बढ्ने, मुटुको गति बढ्नेजस्ता एङ्जाइटीका लक्षणहरू पनि कोरोना सङ्क्रमणमुक्त भएका बिरामीहरूमा देखिएको छ।

त्यस्तै धेरैमा अनिद्रा र छटपटी पनि देखिएको डा. ओझाले जानकारी दिए। डाक्टरका अनुसार मानसिक स्वास्थ्य अवस्था हरेक व्यक्तिपिच्छे फरक देखिएको छ।

कोरोनाभाइरस महामारीयता ठुलो आर्थिक क्षति व्यहोरेका, आफ्नो आफन्त वा साथीभाइ गुमाएका, बेरोजगार भएकाहरूलाई मानसिक रूपमा धेरै गाह्रो भएको देखिएको छ।

सङ्क्रमित वा सङ्क्रमणको त्रास भएकाहरुमा विभिन्न मानसिक विचलनको समस्या थपिएको छ।

‘जटिल परिस्थितिमा शरीरले देखाएको प्रतिक्रिया हुन् यी समस्या। त्यसैले आत्तिनु पर्दैनू, डा. ओझाले भने,’अवस्था प्रतिकुल रहेसम्म यस्ता समस्याहरू देखिन सक्छन्। त्यतिन्जेल हामीले स्वस्थ जीवनशैली अपनाउनुमा जोड दिन आवश्यक छ।’

उनी चिकित्सकसँगको नियमित परामर्श, स्वस्थ खाना, व्याममाको सुझाव दिन्छन्।

उनी भन्छन्,’अवस्था अनुसार कसैलाई परामर्शसँगै औषधि सेवनको पनि आवश्यकता पर्छ। केहीलाई परामर्श र स्वस्थ जीवनशैलीले नै यस समस्याबाट बाहिर निकाल्छ।’

के छ त उपचार प्रकिया ?

नेपालमा हालसम्म ‘दीर्घ कोभिड’ गम्भीर समस्याको रूपमा पहिचान भएको छैन।

जसका कारण यसबारे आम मानिस अनविज्ञ रहेको र यसको उपचारका लागि कुनै प्रक्रियागत कदम नचालिएको बताउँछन् सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन।

त्यसैकारण बिरामीहरूमा उपचारका लागि कहाँ जाने भन्ने अन्यौल रहेको उनले बताए।

कोभिड-१९ देशभर फैलिएका कारण सरकारी अस्पताल र काठमाण्डूबाहिर अधिकांश अस्पतालमा दीर्घ कोभिडको उपचारका लगि उपचार प्रक्रिया तय गर्न आवश्यक भएको उनले बताए।

उनले भने,’हामीलाई एउटा निर्देशिकाको आवश्यकता छ जसले सङ्क्रमणमुक्त भएपछि समस्या देखिए कहाँ जाने, कसले परामर्श र उपचार दिन्छ भन्नेबारे प्रस्ट पार्नेछ। र, आवश्यक उपचारपछि बिरामीहरू काममा वा सामान्य दैनिकीमा फर्कन सक्छन्।’

दैनिक सङ्क्रमितहरूको सङ्ख्या बढिरहेको अवस्थामा लङ कोभिड चुनौतीका रूपमा देखिन सक्ने उनको अनुमान छ।

‘अस्पतालहरूमा पोस्टरलङ कोभिड हो या होइन भन्ने पहिचान गर्न युनिट खडा गरी बिरामीको परीक्षण गर्नुपर्छ। त्यहाँबाट समस्या अनुरूप चिकित्सक वा विभागमा रेफर गर्न सकिन्छू, पुन भन्छन्,’अब योजना मात्र होइन बिरामीलाई दीर्घकालीन असर नपरोस् भन्ने हेतुले पनि लङ कोभिडका लागि उपचार प्रोटोकलको खाका बनाइनु पर्छ।’

सङ्क्रमणबाट मात्र मुक्त नभई अन्य स्वास्थ्य समस्याको पहिचान र उपचार अत्यावश्यक रहेको उनको धारणा छ।

कहिलेसम्म रहन्छ दीर्घ कोभिड ?

यो अनुसन्धानको पाटो भएको बताउँछन् डा. पुन। उनी भन्छन्, ‘पहिलो लहरमा सङ्क्रमणमुक्त भएकाहरूले अहिलेसम्म पनि विभिन्न समस्याहरू कायम रहेको सुनाउँछन्, अहिले नै यति समयसम्म रहन्छ भन्ने अवस्था छैन।’

‘अन्तर्राष्ट्रिय अध्ययनहरूले दीर्घ कोभिड सङ्क्रमणमुक्त भएको तीनदेखि छ महिनासम्म रहने देखाएको छ। यसको उचित व्यवस्थापनका लागि हामीकहाँ पनि अध्ययन आवश्यक छ,’ डा. पुनले भने।

डा. रक्षा पाण्डे छाती दुख्ने, खोकी लाग्ने, घ्यारघ्यार हुनेजस्ता समस्याहरू निमोनियाको दाग कति समय रहन्छ भन्नेमा निर्भर हुने बताउँछिन्।

त्यस्तै अन्य शारीरिक तथा मनोसामाजिक समस्याहरू कम गर्न चिकित्सकसँग नियमित परामर्शमा बस्ने, फलो-अपमा आउन बन्द नगर्ने, नियमित व्यायाम र सन्तुलित भोजन गर्ने हो भने असर अवधि कम गर्न सकिने सुझाव डा. पाण्डेको छ।

बीबीसी/नेपालीबाट


प्रतिक्रिया दिनुहोस्
थप समाचार
मीन विश्वकर्माद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले आसन्न महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर सहमहामन्त्री

कांग्रेसका ब्यानरले ढपक्कै ढाक्यो भृकुटीमण्डप (तस्बिरसहित)

नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबार उद्घाटन हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजे महाधिवेशन उद्घाटन हुन लागेको हो। उद्घाटनका लागि

कांग्रेस महाधिवेशन : शेखरले मागे पौडेलको साथ

नेपाली कांग्रेसको संस्थापइतरबाट सभापतिका आकांक्षी शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सहयोग मागेका छन्। बिहीबार पौडेल निवास पुगेर कोइरालाले उनीसँग

सभापतिको दौडबाट कुनै पनि हालतमा पछि हट्दिनँ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू सभापतिको दौडबाट कुनै पनि हालतमा पछि नहट्ने बताएका छन्। काठमाडौंको बानेश्वरमा नेता कृष्णप्रसाद भट्टराईको