नेपाली जडिबुटीमा रामदेवका आँखा- प्रचण्डले बाटो खुलाए, उपेन्द्र महतोले नेपाल ल्याए, देउवाले सजिलो बनाइदिए


आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि

Amrit Dahal
अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको


काठमाडाैं

भारतको हरिद्वारस्थित आफ्नो आश्रम डुलाएर तत्कालीन नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्वागत गर्न आयोजित एउटा समारोहमा बाबा रामदेवले भनेका थिए– अब नेपालमा पनि पतञ्जलीको विस्तार हुनेछ। र, भारतबाहिर यो सबैभन्दा ठूलो पतञ्जली उद्योग हुनेछ।

त्यसको करिब एक महिनापछि उनी नेपाल आए र राष्ट्रपति विद्या भन्डारीबाट बाराको प्रसौनीमा रहेको आफ्नो उद्योगको उद्घाटन गरे। प्रचण्ड प्रधानमन्त्री भएर २०७३ असोजमा भारत भ्रमण जानुअघि नै पतञ्जलीले नेपालमा उद्योग स्थापना थालिसकेको थियो।

हरिद्वारमा बाबा रामदेवको ‘मेजमानी’पछि प्रचण्डले भनेका थिए– धेरैजसो जडिबुटीहरू त नेपालबाटै आउँदो रहेछ। अब पतञ्जलीले उतै (नेपालमा) उद्योग खोलेपछि त्यसको झन् राम्रो सदुपयोग हुनेरहेछ।

रामदेवलाई नेपालमा लगानी गर्न उक्साउँदै उनले भनेका थिए – नेपालमा पतञ्जलीलाई उद्योगका लागि चाहिने सबै व्यवस्था हामीले गर्छौं। रामदेवको मुख्यालय हरिद्वारको विशाल फुड एण्ड हर्बल पार्क देखेर प्रचण्ड दंग थिए। रामदेवले नेपालमा पनि त्यस्तै पार्क खोल्ने इच्छा प्रचण्डसँग देखाएका थिए।

उपेन्द्र महतोको साथ

एउटा औपचारिक कार्यक्रममा त्यो बेला प्रचण्डलाई भनेपनि त्यसको तयारी पहिलादेखि नै नेपालमा गरिसकेका थिए रामदेवले।

उद्योग खोल्नका लागि नेपालमा उनका व्यावसायिक साझेदार भए उपेन्द्र महतो।
उच्च शिक्षा पढ्नका लागि रूस छिरेका महतो सिरहा जिल्लाका हुन्। पढ्न गएका उनले त्यहीँ व्यापार सुरू गरेर अहिले नेपालका धनाढ्यमध्येका एक हुन्। गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष भएका उनले विश्वका धेरै ठाउँमा आफ्नो व्यापार विस्तार गरिसकेका छन्।

नेपालमै पनि विभिन्व व्यवसायमा हात हालेका उनले टेलिकम कम्पनी एनसेलमा पनि सुरूवाती चरणमा लगानी गरेका थिए। पछि उनले आफ्नो अर्बौंको शेयर बिक्री गरेपछि त्यसको कर विवादमा पनि उनी मुछिएका थिए।

आफ्नै क्षेत्रमा खुल्न थालेको रामदेवको पतञ्जली उद्योगमा पनि उनी शेयरधनी भए। तर, उनले आफ्नो नाममा नभइ आफ्नी श्रीमती समताप्रसाद महतोको नामा शेयर राखेका थिए।

बाराको प्रसौनीमा लामो समयदेखि बन्द रहेको ‘अन्नपूर्ण टेक्स्टटायल’ कम्पनीको जमिन किन्न पनि उपेन्द्रले नै पहल गरेका थिए। त्यो उद्योगसँग रहेको करिब नौ बिघा जमिन खरिद गरेर ‘पतञ्जली आयुर्वेद प्रालि नेपाल’ नामको उद्योग खोलिएको थियो। पछि उद्योगले नजिकै रहेको थप १८ बिघा जमिन भाडामा लिएर घ्यूकुमारीको खेती पनि गर्‍यो।

रामदेवले सुरूमा आफ्ना प्रतिनिधिका रूपमा आरके शर्मालाई कम्पनीको अध्यक्ष बनाएका थिए। अनि सीताशरण कण्ठ कम्पनीका व्यवस्थापक थिए।

केही समयपछि पतञ्जली आयुर्वेद लिमिटेड र नेपालस्थित ‘पतञ्जली आयुर्वेद प्रालि नेपाल’बीच खटपट भयो। ‘पतञ्जली आयुर्वेद प्रालि नेपाल’को बोर्ड लेखिएपनि कम्पनी भने ‘नेपाल ग्रामो उद्योग’ उपेन्द्रकी श्रीमतीकै नाममा दर्ता थियो।

स्रोतका अनुसार त्यो बेला रामदेवले आफ्नो कम्पनीको पतञ्जली आयुर्वेद लिमिटेडको नाममा ९० प्रतिशत शेयर हुनुपर्ने र बाँकी १० प्रतिशतमात्रै नेपाली व्यवसायीलाई दिन सकिने बताएपछि महतोसँग खटपट परेको थियो।

एकातिर लगानीकर्ताहरूबीचको खटपट अनि अर्कोतिर मजदुरहरूको विद्रोह पनि सुरू भइसकेको थियो। पतञ्जलीमार्फत त्यो कम्पनीमा खटाइएका व्यवस्थापकहरूले नेपालको श्रम कानुन नमान्ने र मजदुरमाथि दमन गर्न थालेपछि उनीहरूले त्यसको विरोध पनि गरेका थिए।

शेयर बाँडफाँडमा विवाद भएपछि केही समय रामदेवले भारतबाट पतञ्जलीका सामानहरू पनि पठाउन रोके। सुरूमा यहाँको कम्पनीले पूर्णरूपमा उत्पादन गर्न सकिरहेको थिएन र भारतबाटै सामानहरू ल्याएर यहाँ प्याकिङमात्रै गरिन्थ्यो। विवादपछि त्यो सामान पठाउन पनि रामदेवले रोक लगाए। केही समय कम्पनीले पहिला नै उत्पादन गरेका समानहरू बजारमा बेच्यो। पछि रामदेवले पतञ्जलीको ब्रान्ड पनि फिर्ता लैजाने धम्की दिए।

त्यसपछि उपेन्द्रले कम्पनीबाट आफ्नो शेयर फिर्ता गरे। र अहिले कम्पनीमा रामदेवको एकल स्वामित्व छ। त्यो बीचमा उपेन्द्रसँग खटपट परेपछि रामदेवले त्यो उद्योगमा आफ्नो कुनै पनि लगानी नरहेको दाबी गर्दै विज्ञप्तिसमेत निकालेका थिए। उनले त्यहाँ उपेन्द्र र उनकी श्रीमतीको मात्रै लगानी रहेको भन्दै आफूलाई नमुछ्न पनि आग्रह गरेका थिए।

तर, त्यसअघि उद्घाटनका क्रममा नेपाल आएका रामदेवले एउटा पत्रकार सम्मेलनमा अहिले उद्योगमा करिब डेढ अर्ब लगानी भइसकेको र अझै लगानी बनाएर कम्तीमा दश हजार परिवारका एक लाखभन्दा धेरैलाई प्रत्यक्ष अप्रत्यक्ष रोजगारी दिने घोषणा गरेका थिए। त्यो कुरा उनले हरिद्वारमा आफ्नै आश्रम पुगेका प्रचण्डलाई पनि सुनाएका थिए।

वार्षिक करिब ३० हजार करोडको व्यापार गर्ने रामदेवको पतञ्जली भारतमा सबैभन्दा छिटो ‘साम्राज्य’ फैलाएको व्यावसायिक कम्पनी मानिन्छ।

भारतीय अर्थतन्त्रको एउटा प्रमुख हिस्सा बनिसकेको पतञ्जली ‘साम्राज्य’का सारथी हुन्, आचार्य बालकृष्ण। ‘योगाशन’ सिकाएर विश्वभरि करोडौं ‘अनुयायी’ बटुलेका रामदेवले सन् २००६मा पतञ्जली ब्रान्डमा आफ्नो व्यापार सुरू गरेका हुन्।

आयुर्वेद औषधि, श्रृङ्गारका सामानदेखि मञ्जन र ब्रससम्म पनि पतञ्जलीले उत्पादन गर्छ। खाने तेलदेखि, चामल र पीठोसम्म उत्पादन गर्ने पतञ्जलीको साम्राज्य नेपाल र भारतीयलगायत विश्वका धेरै भान्सासम्म फैलिएको छ।

यो सबैका ‘मास्टर डिजाइनर’ भने नेपाली मूलका आचार्य बालकृष्ण हुन्। यो एउटा संयोग हुनसक्ला तर भारतपछि पतञ्जलीको एउटा मुख्य बजार भनेको नेपाल नै हो।

राजनीतिक शक्ति

रामदेवका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ‘राष्ट्र ऋषी’ हुन्। केहीदिन अघि हरिद्वार पुगेका भारतीय प्रधानमन्त्री मोदीलाई सम्मान गर्दै रामदेवले भनेका थिए– ‘जबसम्म मोदी प्रधानमन्त्री रहने छन्, हाम्रो देश कहिल्यै पनि असफल हुने छैन।

उनले अर्को पनि एउटा कुरा भनेका थिए– त्यहाँ सत्ता परिवर्तन थियो, यहाँ व्यवस्था परिवर्तन छ। अर्थात् मोदीभन्दा अघि भारतमा ‘सत्ता’मात्रै परिवर्तन हुन्थ्यो। तर जब मोदी प्रधानमन्त्री भए अनि ‘व्यवस्था’ परिवर्तनको युग सुरू भयो।

यो राजनीतिक भाषणमा रामदेवले सन् २०११को कांग्रेस सरकारलाई श्रापिरहेका थिए।

भारतमा त्यो बेला कांग्रेस आइको गठबन्धन सरकार थियो। त्यो सरकारले रामदेव र आचार्य बालकृष्णको नाम जोडिएका सबै ट्रष्टहरूमा अनुसन्धान सुरू गर्‍यो। उनीहरूले आर्जन गरेको सम्पत्तिलाई ‘अवैध स्रोत’बाट आएको भन्दै त्यो सरकारले सारा खातापाताहरू नियन्त्रणमा लिएको थियो।

त्यसको विरोधमा देशविदेशबाट आफ्ना अनुयायीहरू बोलाएर रामदेवले दिल्लीको रामलिला मैदानमा भयंकर ‘लिला’ नै देखाए। सरकारले ‘कुदृष्टि’ लगाएको भन्दै उनले रामलीला मैदानमै हजारौं अनुयायीहरूको साथमा अनशन बसे। प्रहरीले हस्तक्षेप गर्‍यो र उनी ‘हरिद्वार’ नफर्किने भन्दै देशभरि घुमे।

त्यो बेला रामदेवले ‘कांग्रेस सरकार ढालेरमात्रै’ हरिद्वार फर्किने कसम पनि खाए। र, सन् २०१४मा भारतभरि ‘कमल’ फुल्यो। भारतीय जनता पार्टीले २८२ भन्दा धेरै सिट जित्यो। नरेन्द्र मोदी प्रधानमन्त्री भए। त्यसपछि पूर्ववर्ती सरकारले रामदेवहरूमाथि चलाएका सबै मुद्दाहरू एकाएक बन्द भए।

र, त्यसपछि रामदेवको पतञ्जलीको साम्राज्य झन् यति फैलियो कि, २०१६ सम्म आइपुग्दा उसले भारतमा ६० हजार करोडको व्यापार लक्ष्य पछ्याउन थाल्यो।

रामदेवकै अनुसार उनले पतञ्जलीको प्रवर्द्धनका लागि वार्षिक २ सय करोड रूपैयाँ खर्च गर्छन्। त्यो पैसा भारतीय टेलिभीजनहरूमा विज्ञापनका लागि खर्च हुन्छ। अहिले पनि मोदी सरकारप्रति जसरी दुई धारमा भारतीय सञ्चारमाध्यम बाँडिएका छन्, रामदेवको साम्राज्यमा पनि मिडिया उही दुई धारमा छन्।

त्यो बेला जसरी रामदेव कांग्रेसको सरकार ढाल्न लागे त्यसपछि उनी मोदीसँग अझ धेरै नजिकिए। र, आगामी २०२४मा फेरि पनि मोदीलाई नै उनले अघि सरिरहेका छन्।

‘हामीले जे गरिरहेका छौं। मैले जे गरिरहेको छु त्यो पनि राजनीति नै हो। फरक यत्ति हो कि, कसैले राजनीति गरेर सत्ता चलाउँछन्। हामी मानव सेवा गर्छौं’ रामदेवले हरेक अन्तर्वार्तामा भन्ने गरेका छन्-‘हाम्रो देशमा अरू पनि जोगी नभएका होइनन्। तर, उनीहरूले आफ्नो परिवार त्याग्ने र आफैलाई दु:खी बनाउनेबाहेक अरू के गरेरु रामदेव आउनुभन्दा अघि पनि योग नभएको होइन, आयुर्वेद नभएको होइन। तर मैले मानव जीवनलाई, मानव शरीरलाई अझ सजिलो तरिकाले ‘योगी’ बनारहेको छु।’

नेपालमा रामदेव नजर- जमिन र जडिबुटी

शुक्रबार रामदेवको पतञ्जली पीठले नेपालबाटै चलाउने भनिएका दुई टेलीभिजन च्यानलको उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले पतञ्जलीलाई नेपालमा आवश्यक पर्ने जमिन नेपाल सरकारले उपलब्ध गराउने घोषणा गरे।

यद्यपि उनले चलाउने भनिएका ‘पतञ्जली नेपाल’ र ‘आस्था नेपाल’ टेलिभीजन च्यानलको दर्ता-अनुमति नभएको भन्दै त्यसको विरोध भइरहेको छ। र, सँगै प्रधानमन्त्रीले जग्गा दिने भनेर गरेको घोषणा पनि आलोचित भइरहेको छ।

‘नेपालमै उहाँले आयुर्वेद औषधि उत्पादन गर्न चाहनुहुन्छ र उहाँलाई नेपाल सरकारका तर्फबाट पूराका पूरा सहयोग हुनेछ’ प्रधानमन्त्री देउवाले भनेका थिए ‘प्लान्टहरू लगाउने सबै कुरामा सहयोग हुनेछ। जग्गा जमिन उपलब्ध गराउने कुरामा उहाँलाई केही बाधा भएको छ भन्ने थाहा भएको छ। त्यो जग्गा नेपाल सरकारले उपलब्ध गराउनेछ।’

रामदेवको पुरानै कोसिस हो। सुरूमै उनले नेपाल सरकारसँग जमिन माग गरेका थिए। मेडिकल कलेज चलाउने अनि त्यहाँ संस्कृत गुरूकूल र आयुर्वेदन अनुसन्धान केन्द्र र जडिबुटी खेती पनि गर्ने भनेर उनले नेपाल सरकारलाई योजना बुझाएका थिए।

त्यसका लागि उनले नेपाल संस्कृत विश्वविद्यालयको जग्गामा आँखा लगाए। दाङको बेलझुन्डीमा मुख्यालय रहेको नेपाल संस्कृत विश्वविद्यालयसँग हज्जारौं विघा जमिन छ। युद्धकालमा माओवादीले ‘कब्जा’ गरेको त्यो जमिन अहिले पनि विश्वविद्यालयले स्याहार्न सकिरहेको छैन। धेरैजसो जमिन अहिले पनि ‘सुकुम्बासी’हरूको कब्जामा छ अनि कति त्यत्तिकै वेवारिसे छ।

त्यो जमिन माग्ने बेलामा माओवादी अध्यक्ष प्रचण्ड नै अध्यक्ष थिए। तर त्यो बेला स्थानीय दातहरूले त्यसको विरोध गरे। कर्मचारीहरूले विरोध गरे।

२०४३ सालमा स्थापना भएको संस्कृत विश्वविद्यालयका लागि दाङकै स्थानीयले सयौं विघा जमिन दानमा दिएका थिए।

सबैको विरोधपछि रामदेवका सबै फाइलहरू सिधै प्रचण्ड आफैले मागे। र, त्यो काम त्यत्तिकै रोकियो। केही समयपछि सरकार पनि ढल्यो।

त्यसपछि रामदेवले काभ्रेको धुलिखेलमा करिब ३९५ बिघा जमिनमा मेडिकल कलेजको निर्माण सुरू गरे। यद्यपि काभ्रेको त्यो जमिन उनलाई पहिला नै एकजना व्यवसायीले ‘दान’ गरिसकेका थिए। त्यो जमिनमा पहिला एकजना व्यवसायी राधेश्याम सर्राफको होटेल थियो।

माओवादी युद्धका बेला बन्द भएको त्यो होटेलका सबै संचरना र जमिनसमेत पछि उनले पतञ्जलीलाई ‘दान’ गरेको बताइएको थियो। तर स्थानीयका अनुसार पछि रामदेवले त्यो जमिन किनेका थिए। अहिले त्यही जमिनमा उनको आयुर्वेद मेडिकल कलेज छ।

तर पनि जमिन अपुग भएको भन्दै उनले नेपाल सरकारसँग थप जमिन माग गरेका थिए। जब कि संस्कृत विश्वविद्यालयको आफ्नै आयुर्वेद अनुसन्धान विभाग छ। आयुर्वेद मेडिकल कलेज पनि छ।

यतिमात्रै होइन, शुक्रबार काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्रीलगायत सत्ता गठबन्धनका सबै दलका नेताहरूले नेपालमा थप लगानी गर्न रामदेवलाई निकै जोडबल गरे।

नेपालका जडिबुटीको सदुपयोग गर्न र उद्योगमार्फत नेपाललाई थप आर्थिक योगदान दिन पनि उनीहरूले आग्रह गरे।

वनस्पती विभागका अनुसार नेपालमा करिब ५८८४ प्रजातिका फूल फुल्ने र फूल नफुल्ने गरी जम्मा १००९१ प्रजातिका जडिबुटीहरू सूचीकृत छन्। यी मध्ये करिव ७०० जति प्रजातिहरुको औषधीय गुण भएका जडिबुटी छन्।

औषधीय महत्व रहेको भनिएका २३८ किसिमका जडिबुटीहरुको रासायनिक परीक्षण समेत भैसकेको छ। अहिले पनि नेपालबाट बार्षिक तीन अर्बजतिको जडिबुटी बाहिर निर्यात हुन्छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
फाइल तस्बिर।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : वरिष्ठ नेता पौडेलद्वारा बहिष्कार

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको अन्तिम बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल अनुपस्थित भएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको अन्तिम

लमजुङमा विद्यार्थी बोकेको जिप दुर्घटना, तीनजनाको मृत्यु

गणेश माध्यमिक विद्यालय सिमपानीका शिक्षक र विद्यार्थी बोकेर गएको जिप सडकबाट डेढ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय लमजुङले

नुवाकोटमा स्टार अस्पतालको ५० बेडको ‘स्टार नुवाकोट’ सञ्चालनमा

ललितपुर सानेपास्थित स्टार अस्पतालले नुवाकोटमा ‘स्टार नुवाकोट अस्पताल’ सञ्चालनमा ल्याएको छ। उपत्यकाबाहिर बसोबास गर्ने नागरिकलाई पनि विशेषज्ञ सेवामा पहुँच विस्तार

फाइल तस्बिर।
महाधिवेशनपछि देउवा निवर्तमान सभापति : मीनेन्द्र रिजाल

नेपाली कांग्रेसका नेता एवं रक्षामन्त्री मीनेन्द्र रिजालले १४ औं महाधिवेशनपछि शेरबहादुर देउवा निवर्तमान सभापति बन्ने बताएका छन्। वर्तमान कार्यसमितिको अन्तिम