केपी ओलीको झाँगिदो तानाशाहीतन्त्र छिनछिनको क्रोध, छुद्रता र असहिष्णुताबाट प्रस्फुटित हुँदैछ। कुतर्क र अपव्याख्याको जबर्जस्तीमा गरिएको संसद विघटनको पृष्ठभूमिमा उनका क्रियाकलाप हास्यापद त थिए नै, त्यसमाथि पछिल्ला दिनको व्यवहार हेर्दा चाहिँ उनको मानसिकता नै असामान्य बनिसकेको भान हुन्छ। मुलुकको कार्यकारी प्रमुख यस्तो मनोवस्थामा लामो समय रहँदा जनताले भोग्ने परिणति अकल्पनीय हुनसक्छ। हेर्दा तानाशाहीतन्त्र मात्र, तर भोग्दा कहालिलाग्दो बर्बर व्यवस्था। नेपाल यस्तै घोर नियतिमा अल्झेको छ, यो बखत।
...
केही दिनअघि एउटा युट्युब भिडियो हेर्दै थिएँ, ओलीका बयोवृद्ध पिता आफ्नो दिनचर्या बयान गर्दै थिए। उनी गाउँमा बसेर गाउँले, चिनारु वा जो कोही बिसञ्चो भएर आउँदा आफूले जानेको ओखतीमुलो भन्दिनेमा आनन्द मान्ने रहेछन्। बडो मिठो मिजासका बाबै आफ्ना पुत्र–प्रधानमन्त्रीको बाल्यकाल र स्वभावबारे पनि अतिवात्सल्यपूर्ण बखान गर्दै थिए। उनको किस्सा मोहक थियो– सर्पले बेरिसकेको अवस्थाबाट बालक खड्गप्रसाद बचे, त्यसकै आधारमा ज्योतिषिले राजयोगको लख काट्यो।
बा–ओलीको त्यो राजयोग–विश्वासकै निरन्तरतामा आज तिनै खड्गप्रसाद आफ्नै जोडबलमा जारी गरेको संविधानलाई बागमतीमा बगाएर दीर्घसत्ताको याचनासहित पशुपतिनाथ पुगेका छन्। त्यसका लागि ग्रहदशा बिचार्ने बा–ओलीलाई खड्गप्रसादले सोधे सोधेनन्, कुनै विज्ञप्तिमा उल्लेख छैन। तर, लोकलाजको सर्पले सर्वाङ्ग बाँधिसक्दा पनि पुत्र–प्रधानमन्त्री ढिम्केका छैनन्। बरु, त्यतिमै हात झड्कालेर दुनियाँलाई सोध्दैछन्– ‘मजस्तो चार मिर्गाैला भएको प्रधानमन्त्री संसारमै कहीँ छ?’
युट्युबको त्यो भिडियो हेर्दा दुई चिज मनमा आयो–
क) बयोवृद्ध बाबुले आफ्नो वृद्ध र बिरामी पुत्रको चिरायु एवं प्रगतिका लागि गरेको चिन्ता
ख) त्यस्तो जाती बाबुलाई वृद्धावस्थामा समेत आफ्नो सामुन्ने राख्ने भाग्य भएका प्रधानमन्त्रीको वहुपक्षीय विश्रृंखलता।
नेपाली पारिवारिक परम्पराको चर्चा हुँदा एउटा प्रसंग निस्किरहन्छ। एउटा पुरुषले ४० वर्ष पुगेपछि उसको मुखमा ‘मेरो बा’ झुन्डिन थाल्छ रे। ठेट्नो उमेरमा ‘मेरो बाउ कुरै बुझ्दैनन्’ भनेर फुटानी लाउने त्यही मान्छे चार दशक पुगेपछि जीवनका अनेक भोगाइ र हण्डरले ‘बालाई एकचोटि सोध्न पाए हुन्थ्यो’ भन्ने ‘रिफेल्क्स’ मा गइरहन्छ रे।
मलाई त्यति हेक्का छैन– केपी ओलीले कुनै सार्वजनिक अभिव्यक्तिमा आफ्ना पिताका बारे सायदै कुनै गौरवशाली प्रसंग उल्लेख गरेका छन् वा छैनन्। खैर, त्यो उनको व्यक्तिगत विषय हो, नगहिरिउँ। तर, उनले केही दिनअघि वयोवृद्ध (९५ वर्षीय) कानुन व्यवसायी कृष्णप्रसाद भण्डारीमाथि सार्वजनिकरूपमै गरेको अपमानले चाहिँ वयोवृद्धहरूप्रतिको उनको चिन्तनलाई नचाहँदा नचाहँदै पनि प्रशस्तै प्रष्टयाउँछ।
जो वयस्क पुरुष ज्येष्ठ नागरिकप्रति सामान्य आदरभाव प्रकट गर्न सक्दैन, उसले कुनै पनि वर्ग, उमेर र समुदायप्रति सद्भाव–स्नेह नराख्ने दुष्टता पालेको बुझ्न सकिन्छ। केपी ओलीका हकमा उनको प्रेम माफिया, लुच्चा, छुच्चा र चाकडीबाजप्रति मात्रै रहेको श्रृंखलाबद्ध घटनाक्रमले प्रष्ट पार्छन्। तर अचम्म नमान्नोस्, वरिष्ठ अधिवक्ता भण्डारीमाथिको अपमानबाट पाइरहेको आलोचनालाई तह लगाउन भनेर ओली केही दिनभित्रै पशुपतिको धर्मशाला गएर फलफूल बाँड्न सक्छन्। मान्छे काट्ने, मान्छे काट्नेहरूसँग सहकार्य गर्नेले बिनापश्चाताप मन्दिर गएर भगवानसँग ‘नेगोसिएसन’ गर्ने दुष्चेष्टा गर्नसक्छ भने अर्थोक जे पनि गर्नसक्छ।
...
भौतिक–अभौतिक दुरी वा प्रभावमा रहेका कुनै पनि अप्रिय विषयले रन्थनिइहाल्ने मनोदशामा रहेका प्रधानमन्त्रीसँग मुलुकको एउटा ठूलो जमात सती जान लागेजस्तो देख्न सकिन्छ अहिले।
यो सामान्य कुरा हो। संसारमा जहाँ पनि धेरथोर यो प्रवृत्ति छ। डोनाल्ड ट्रम्पको आकर्षणमा परेर अमेरिकी संसदभित्र धावा बोल्ने मानिसहरू उही सर्वशक्तिमान र सबैभन्दा ठूलो प्रजातन्त्र मानिने अमेरिकाका जनता हुन्। यहाँ त ओली–राजबाट पालित–पोषित जमातले अलि–अलि यताउता प्रभाव पार्ने हो भने पनि केही हजार, लाख मानिस भनेका बेला जम्मा गर्नु ठूलो विषय रहेन। माघ २३ गते मान्छे बटुलेर प्रचण्ड–माधवलाई जवाफ दिन्छु भन्दै तुष्टि लिएका ओलीको एक इशारामा आजको दिन करोडौं, अर्बौं पैसाको खोलो बग्न सक्छ, मानिसहरूले त्यसमै काठमाडौं फन्को लगाएर आनन्द मानिदिन सक्छन्। चरम अभाव, बेथिति र ठेकदारतन्त्रमा कसैले निःशुल्क भ्रमण (अन्य सुविधासहित) को व्यवस्था गरिदिन्छ भने विनोदप्रिय जमातले त्यसलाई नाइँ भन्ने कुरै होइन।
आखिर ती नेता र ठेकेदारले जनताका खास आवश्यकतामा कहिले चाहिँ खर्च गर्ने हुन् र? विकास बजेट जति कागजमा योजना सकेर बाँडचुँड गर्ने, चुनाव र जुलुसमा खर्चन पर्दा खल्तीबाट निकाल्ने– यही त हो ओलीराजले हुर्काएको समृद्धितन्त्र।
अनौठो नमान्ने गरी बसौं, माघ २३ गते केपी ओलीले काठमाडौंमा अथाह भीड ल्याउन सक्छन्। उनको समूहसँग कोरोनाकालीन खरिदबाटै कमाएको मात्रै ५–१० अर्ब छ, त्योभन्दा पहिले गोकुल–च्यानलबाट आर्जेको केही अर्ब छ, सँगसँगै करोड–अर्बका अनेक कारोबारबाट छ्याकन निस्केका कयौं राशी छन्, जसलाई विभिन्न ग्याङले कयौंपल्ट ओल्टाइपल्टाइ गरिसक्यो। साथै, अझै केपी ओलीको प्रतापबाट कति तर मार्न सकिएला भनेर गोजी उज्याएर बसेका व्यापारी–कारोबारी छन्।
यस्तोमा बुझौं, ओलीको एक चुड्कीमा अर्ब झर्छ र १० लाख मानिस काठमाडौंमा जम्मा हुनसक्छन्। जम्मा हुने सोझा नेपालीलाई कसका लागि गएर के नारा लगाउने भन्दा पनि हेरिने भयो रमिता भन्ने विनोदी भावले अग्रसर गराएको हुन्छ। त्यो भीडमा गएर कोरोना सल्क्यो भने? अब कोरोनाको कसलाई मतलब, लागेर औषधि नपाए वा काम नगरे हद भए मर्ने न हो। हिजो १७ हजार पनि त मरेकै हुन्। कुर्वानीको हिसाव खोजे न यस्तो सरोकार हुने हो। आज चार मिर्गौलाधारी प्रधानमन्त्रीले पार्टी प्यालेसमा हजारौंलाई जम्मा गरी पाखुरी सुर्किरहेकै छन् त, अरूले के चिन्ता गर्नु?
...
हिजो वालुवाटारमा नागरिक अभियन्ताहरूको लघु प्रदर्शनमाथि प्रहरीले चिसो पानीको फोहोरा हान्यो। नारायण वाग्लेलगायत चित्तरञ्जन प्राणीहरू निथ्रुक्क भिजे र जनआन्दोलन–३ को उद्घोष गरे। यो सुनेर बालुवाटार निवासका ठेकेदारहरूको हड्डी हाँसेको हुनुपर्छ। पक्कै हाँसिरहेका छन् उनीहरू। किनभने, सत्तालाई अमोघ अस्त्र मानेर यसको लिप्सामा घोटिँदा–घोटिँदा उनीहरू अब माफियाको शक्तिलाई नै अजेय मान्न थालिसके। ‘पावर अफ कमन म्यान’ भुलिसके। पुतलीसडकका अँधेरा कार्यालयमा कालो चिया पिउँदै दिन कटाउनेहरू अहिले जो कसैलाई धम्कीको ‘एके–४७’ हान्ने भइसके। फेरि, पुतलिसडकमै फर्कनुपर्ला भन्ने हेक्का मरिसक्यो।
तर, बालुवाटारमा बुद्धि बाँकी छ भने त्यो हाँसोमा विराम लगाउनु श्रेयष्कर छ।
आन्दोलनको एउटा स्थापित नियम छ। जबर्जस्तीको आन्दोलनले केही लछार्दैन। तत्कालीन माओवादीहरूले ६ दिन राजधानी ठप्प प्रायः तुल्याए। नागरिक नै त्यसविरुद्ध उत्रे र रमेश खरेलका केही थान टियर ग्याँसपछि बस्दाबस्दा गलेका माओवादी कार्यकर्ता घरघर लागे। यतिबेला पनि माधव–प्रचण्ड र ओलीका शक्ति प्रदर्शनले केही तात्विक भिन्नता पार्ने देखिँदैन। तर, निर्दोष आवाज उठाउने जमातमाथि दमन हुन थालेपछि असली आन्दोलनले गति लिन्छ। आन्दोलन भनेको ‘सेन्टिमेन्ट’ हो। बालुवाटारको हिजोको दमनले आमजनताको सेन्टिमेन्टलाई नै नराम्ररी घोचेको छ। तानाशाहीतन्त्रलाई बलियो पार्न उद्यत ओली शान्तिपूर्ण प्रदर्शनलाई पचाउन सक्दैनन् भन्ने सन्देश उच्च आवृत्तिमा फैलेको छ।
ओली युगको पतनको संकेत देखिन थालेको डेढ महिना करिब भयो। अब त्यो लक्षण पाको हुँदैछ। छिट्टै पाप्रा निस्कने अवस्थामा पुग्ने ठोकुवा गर्न सकिन्छ।
र, याे पनि
अब हेर्दै जाऔं ‘केपीयुग’ को पतन
प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७