चारजना पूर्वप्रधान न्यायाधीशहरू अपहेलना मुद्दामा जवाफ लिएर आफैं सर्वोच्च अदालतमा उपस्थित हुने भएका छन्।
सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्माको इजलासले चार पूर्वप्रधानन्यायाधीशहरूलाई लिखित जवाफसहित उपस्थित हुनभनेपछि उनीहरू अदालतमा आफै उपस्थित हुने भएका हुन्।
पूर्वप्रधानन्यायाधशीहरू अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध दर्ता भएको अपहेलना मुद्दामा सर्वोच्च अदालतले सात दिनभित्र आफैं उपस्थित भएर जवाफ दिन विहीबार आदेश दिएको हो।
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले अदालतले दिएको आदेशको सम्मान गर्नुपर्ने बताए। अदालतले आदेश दिएपछि उपस्थित भएर आफ्नो कुरा राख्ने श्रेष्ठले बताएका छन्।
‘अदालतको सम्मान गर्छौं। अदालतले आफ्नो कुरा राख्ने अवसर दिएको छ,’ आयोमेलसँग श्रेष्ठले भने, ‘प्रक्रिया यही हो। त्यहाँ पुगेर आफ्नो कुरा राख्छौं।’
आदेशमा आफै आउन भनेपछि अदालतमा उपस्थित भएर जवाफ दिनु उपयुक्त रहेको उनको भनाइ छ। अपहेलना मुद्दा दर्ता भएपछिको प्रक्रिया यस्तै हुने श्रेष्ठले बताए।
‘नजाँदा अदालतले घिसारेर लाने कुरा भएन, लिखित जवाफ पठाउनपनि मिल्छ,’ उनले भने, ‘तर, अदालतको सम्मान गर्दै आफैं उपस्थित हुनु राम्रो हो।’
पूर्वप्रधानन्यायाधीशहरू शर्मा, रायमाझी, श्रेष्ठ र कार्कीले प्रतिनिधिसभा विघटनविरुद्ध जारी गरेको संयुक्त विज्ञप्तिलाई आधार बनाएर लोचन भट्टराई र धनजित बस्नेतले उनीहरू विरुद्ध अपहेलना निवेदन दर्ता गराएका थिए।
निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश शर्माको इजलासले सात दिनभित्र आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको छ।
र, याे पनि
पूर्वन्यायाधीशहरूको निष्कर्ष : पार्टीको अन्तरिक द्वन्द्व भयो भन्दैमा ससंद विघटन गर्न मिल्दैन
चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलना मुद्दा
प्रकाशित मिति: बिहीबार, माघ १५, २०७७