महानगरीय प्रहरी परिसर काठमाडौंले पछिल्लो तीन महिनामा ठूलो संख्यामा फरार अभियुक्तहरुलाई पक्राउ गरेको छ। मंसिर, पुस र माघ महिनामा ३७४ फरार अभियुक्तलाई पक्राउ गरेको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपपी) अशोक सिंहले जानकारी दिए।
काठमाडौं परिसरमातहत १५ वृत्त छन्, जसमा महानगरीय प्रहरी वृत्त बौद्धले सबैभन्दा धेरै फरार अभियुक्तलाई पक्रेर कानुनी दायरामा ल्याएको छ। एसएसपी सिंहका अनुसार बौद्ध वृत्तले ८५ फरार अभियुक्तलाई पक्रेको छ।
त्यस्तै कीर्तिपुर वृत्तले ६०, बालाजु वृत्तले ४७, कालीमाटीले ४३, थानकोटले २९, बानेश्वरले २७, महाराजगञ्जले २२, स्वयम्भु वृत्तले २०, दरबारमार्ग वृत्तले १२, जनसेवाले ८, काठमाडौं परिसरले ७, सिंहदरबार वृत्तले ६, मालीगाउँ वृत्तले ५ र लैनचौर वृत्तले ३ फरार अभियुक्तलाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त गौशालाले यो अवधिमा एक पनि फरार अभियुक्तलाई समात्न सकेको छैन। पक्राउ पर्नेमा अधिकांश लागुऔषध कारोबारी र ज्यान मुद्दाका फरार अभियुक्तहरु रहेको एसएसपी सिंहले बताए।
पक्राउ परेका अभियुक्तहरुको साथबाट ५ करोढ ४६ लाख ८१ हजार ४०९ रुपैयाँ ७५ पैसा राजस्वसमेत उठेको एसएसपी सिंहले बताए। महानगरीय प्रहरी वृत्त बानेश्वरले सबैभन्दा धेरै १५ लाख ५४ हजार २७ रुपैयाँ ७५ पैसा राजस्व उठाएको छ।
मंसिर ८ गतेदेखि एसएसपी सिंहले काठमाडौं परिसरको कमाण्ड सम्हालेका हुन्। परिसर आएलगत्तै सिंहले विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरुलाई खोजेर कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका थिए। सोही अनुरुप सिंह परिसर आएको तीन महिना नबित्दै फरार ३७४ जना अभियुक्त पक्राउ पर्न सफल भएका हुन्।
पछिल्लो तीन महिना अवधिमा ४५७ वटा मोबाइल र २ हजार ६१० थान मोबाइलको ब्याट्री बरामद भएको परिसरका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले जानकारी दिए। एसपी बस्नेतका अनुसार बरामद मोबाइल र ब्याट्रको अन्दाजी बजार मूल्य ४६ लाख ५० हजार रहेको छ।
त्यस्तै प्रहरीले ८२ हजार ५०० रुपैयाँ बराबरको भन्सार छलीको १६५ वटा मोबाइलको चार्जरसमेत पछिल्लो तीन महिना अवधिमा बरामद गरेको जनाएको छ। ८६ हजार ४ सयको ४८ थान कुर्था सुरुवाल, १ लाख २० हजारको ४०० थान टर्चलाइट, २४ हजारको २४ थान स्पिकरसमेत बरामद भएको बस्नेतले बताए।
तीन महिना अवधिमा अवैध हुण्डी कारोबार गर्ने १४ जनालाई पक्राउ गरेर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको एसपी बस्नतले जानकारी दिए। उनीहरुको साथबाट २ करोड ४२ लाख ७४ हजार रुपैयाँ बरामद भएको एसपी बस्नेतको भनाइ छ।
यस्तै लागुऔषध कारोबारमा संलग्न ४८ जना पक्राउ परेका छन्। लागुऔषध कारोबारीहरुको साथबाट ७ लाख ३५ हजार मूल्य नगद बरामद भएको एसपी बस्नेतले बताए। यसैगरी उनीहरुको साथबाट २ वटा ल्यापटप, ४ वटा क्यामेरा, १२ वटा मोबाइल र ३ वटा मोटरसाइकलसमेत बरामद भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७