लामो समयदेखि ‘हराईरहेकी’ भनिएकी दुबईकी राजकुमारी सेख लतिफा अल मक्तुमलाई आफ्नै परिवारले बन्धक बनाइरहेको खुलासा भएको छ। राजकुमारी लतिफाले आफूलाई बन्धक बनाइराखेको एउटा घरको शाैचालयबाट भिडियो सार्वजनिक गरेकी छिन्। र, त्यो भिडियोमा उनले आफूलाई त्यहाँ बन्धक बनाइराखेको बताएकी छिन्।
उनले त्यो भिडियो आफ्ना साथीहरूलाई पठाएकी छिन्। भिडियोमा उनले भनेकी छिन् ‘अहिले म शौचालयमा छु। यो एकमात्रै त्यस्तो ढोका हो जसलाई म आफैं बन्द गर्नसक्छु। मलाई अहिले एउटा घरमा थुनिएको छ। जो जेलजस्तै छ।’
उनका अनुसार त्यो घरमा उनलाई सबै झ्याल ढोकाहरू बन्द गरेर राखिएको छ। ‘सबै झ्यालहरू बन्द गरिएका छन्। मैले कुनै पनि झ्यालहरू खोल्न सक्दिनँ। पाँचजना प्रहरीहरू घरबाहिर र दुई जना महिला प्रहरी घरभित्रै बसिरहेका छन्’ उनले भनेकी छिन् ‘म घरबाट कतै बाहिर निस्किन पाइरहेकी छैन र बाहिरको हावासँगै सास पनि फेर्न पाइरहेकी छैन।’
बिबिसीले सार्वजनिक गरेकाे करिब एक मिनेटको यो भिडियोमा उनले भनेका कुराहरू :
मलाई थाहा छैन कहिले यहाँबाट बाहिर निकालिन्छु। र, यहाँबाट निकालिएपछि मेरो अवस्था के हुन्छ भन्नेसमेत मलाई थाहा छैन। हरेक दिन मलाई मेरो जीवन सुरक्षाको बारेमा चिन्ताले सताइरहन्छ। यही अवस्था रहीरहे म बाँच्छु या बाँच्दिन त्यो पनि भन्न सक्दिनँ। प्रहरीले मलाई सधै धम्क्याइरहन्छ कि म अब जीवनभरि नै जेलभित्रै कुहिनुपर्नेछ।
र, मैले मेरो जीवनमा फेरि कहिल्यै सूर्यको प्रकाश देख्न पाउने छैन। मेरा सबै कोसिसहरू असफल भइरहेका छन् र म हरेक कुराहरुबाट थाक्दै गइरहेकी छु। यो एउटा सर्कसको जीवन बाँचेजस्तै भएको छ। म यो जेलजस्तो घरभित्र बन्धक बनेर बस्न सक्दिनँ। म यहाँबाट निस्किन चाहन्छु। मलाई थाहा छैन उनीहरूले मेरो बारेमा के योजना बनाइहेका छन्। हो वास्तममा मलाई केही थाहा छैन। हरेक दिन यही कुराले मलाई चिन्तित बनाइरहेको छ। र वास्तवमै म अहिले हरेक कुराबाट थाकिरहेकी छु।
आफूले स्वतन्त्र जीवन बिताउने भन्दै २०१८को मार्च महिनामा उनले आफ्नो देश संयुक्त्त अरब इमिरेट्स छोड्ने योजना बनाएकी थिइन्। उनका बुबा शेख मोहमद बिन रासिद अल मुक्तुम दुबई सहरका शासक तथा युएईका उप प्रमुख हुन्। उनी संसारकै धनीमध्ये एक हुन्। देश छोडेर भाग्दै गर्दा उनी चढेको ढुङ्गा भारतमा फेला परेको थियो। र, उनलाई त्यहीँबाट दुबई फिर्ता गरिएको थियो। त्यसपछि उनी बाहिर कतै देखिएकी छैनन्। देश छोडेर भाग्न लागेको आरोपमा उनलाई दुबई प्रशासनले नियन्त्रणमा लिएको थियो। लामो समयसम्म उनको अवस्था अज्ञात भएपछि विश्वभरका मानवअधिकारकर्मीहरूले उनलाई सार्वजनिक गर्न माग गर्दै आएका थिए।
प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७