बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने अपराधी उनकै सहपाठी पक्राउ परेका छन्।
१७ वर्षीया भागरथीको हत्या अभियोगमा पक्राउ परेका १७ वर्षका भट्ट थरका किशोरले घरायसी रिसिइबीका कारण बलात्कारपछि घाँटी थिचेर हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन्।
स्थानीय सनातम धर्म माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत भागरथीको हत्या सोही विद्यालयको कक्षा ११ मा अध्ययनरत छात्रले गरेको प्रहरीले जनाएको छ।
ती अभियुक्तले प्रहरीलाई बयान दिने क्रममा भनेका छन्, ‘भागरथी र मेरो परिवारबीच पहिलेदेखि घरायसी रिसिइबी थियो। सोही कारण मैले उनको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको हुँ।’
प्रहरी स्रोतकाअनुसार उनले भागरथीको हत्या गर्ने एकल योजनामा आफू पहिल्यैदेखि रहेको उल्लेख गर्दै उचित मौकाको पर्खाइमा बसेकोसमेत भनेका छन्।
मंगलबार राति उनलाई खोचलेक प्रहरी चौकीबाट जिल्ला प्रहरी कार्यालय बैतडी लगिएको प्रहरीले जनाएको छ। भागरथीका छिमेकीसमेत रहेका ती अभियुक्तलाई बुधबार सार्वजनिक गरिँदैछ।
माघ २२ गते साँझ ५ बजे भागरथीको शव लवलेक जंगलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र फेला परेको थियो।
माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी त्यसपछि कहिल्यै घर फर्किनन्। त्यसको भोलिपल्ट माघ २२ गते जंगलमा शव फेला परेसँगै भागरथीको बलात्कारपछि हत्या भएको शंका गरिएको थियो।
शव भेटिएको भोलिपल्ट अर्थात् माघ २३ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट लगिएको तालिमप्राप्त कुकुरले अपराधी गएको बाटो देखाएपनि अपराधीको घरसम्म पुग्न सकेको थिएन।
त्यसपछि घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रहरी प्रमुख नायब महानिरीक्षक (डिआइजी) उत्तमराज सुवेदी माघ २५ गतेदेखि आफैं घनास्थलमा खटिएका थिए। भट्टको बलात्कारपछि हत्या भएको १३ दिनमा अपराधी पत्ता लागेको हो।
भागरथी प्रकरणको अनुसन्धान कञ्चनपुरकी १४ वर्षीया किशोरी निर्मला पन्तको जस्तो बन्ने खतरा थियो। उक्त खतरालाई डिआइजी सुवेदीले टार्दै अनुसन्धानको अग्रपंक्तिमा उभिएका हुन्।
११ दिनदेखि कमाण्डर बनेर सुवेदी गाउँको चौकीमा बस्दै आएका थिए। प्रत्येक समय अनुसन्धान अधिकारीसँग रिपोर्टिङ लिइरहे। सोही अनुरुप भागरथीको हत्यारालाई पक्राउ गर्न सफल भए।
प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७