बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्याको अभियोगमा पक्राउ परेका किशोर उनको न्याय माग्दै हुने प्रर्दशनमा दैनिकजसो सहभागी हुने गरेको खुलेको छ।
भागरथीको न्यायका लागि स्थानीय खोचलेक बजारसहितका ठाउँमा गरिने प्रर्दशनमा ती किशोर सहभागी हुने गरेको प्रहरीले जनाएको छ। तर, प्रदर्शनका क्रममा देखाउने शंकास्पद गतिविधिका कारण प्रहरीले सुरुदेखि नै ति किशोरलाई निगरानीमा राखेर उनको गतिविधि नियालीरहेको थियो।
‘मृतक भागरथीका परिवारलेसमेत ति किशोरमाथि शंका गरेका कारण निगरानी बढाइएको थियो,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘अन्ततः उनैले बलात्कारपछि भागरथीको हत्या गरेको खुल्यो।’
स्थानीय सनातन धर्म माध्यमिक विद्यालयमै १२ कक्षामा अध्ययनरत भागरथीको हत्या अभियोगमा सोही विद्यालयमा ११ कक्षामा अध्ययनरत १७ वर्षका किशोरलाई प्रहरीले पक्राउ गरेको हो।
अभियुक्तले बयानका क्रममा आफूले नै भागरथीको घाँटी थिचेर हत्या गरेको स्वीकार गरिसकेका प्रहरीले जनाएको छ।
भागरथीको हत्या अभियोगमा पक्राउ परेका १७ वर्षका भट्ट थरका किशोरले घरायसी रिसिइबीका कारण बलात्कारपछि घाँटी थिचेर हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन्।
मंगलबार राति उनलाई खोचलेक प्रहरी चौकीबाट जिल्ला प्रहरी कार्यालय बैतडी लगिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय बैतडीले बुधबार दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ।
माघ २२ गते साँझ ५ बजे भागरथीको शव लवलेक जंगलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र फेला परेको थियो।
माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी त्यसपछि कहिल्यै घर फर्किनन्। त्यसको भोलिपल्ट माघ २२ गते जंगलमा शव फेला परेसँगै भागरथीको बलात्कारपछि हत्या भएको शंका गरिएको थियो।
प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७