प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या आरोपमा स्थानीय दिनेश भट्टलाई पक्राउ गरेको छ। प्रहरीले अनुसन्धानकै क्रममा दिनेशलाई मंगलबार पक्राउ गरेको हो। उनलाई अभियुक्तको रुपमा बुधबार बिहान १० बजे सार्वजनिक गर्ने प्रहरीको तयारी छ।
नातामा भागरथी दिनेशकी दिदी हुन्। भागरथी स्थानीय सनातन धर्म माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् भने दिनेश सोही विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिए।
घटनाको दिन डेढघण्टा पहिल्यै कलेज ‘बंक’ गरेर दिनेश भागरथीको हत्या गर्न बाटोमा कुरेर बसेका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानमा माघ २१ गते दिनेश दुईवटा कक्षा छाडेर हत्या गर्नकै लागि बाटोमा कुरेर बसेको देखिएको छ।
दिनेशको विद्यालय छुट्टी दिउँसो ३ बजेर १५ मिनेटमा हुन्थ्यो। भागरथीको २:३० मा। घटना २१ गते दिउँसो २:४० देखि २:४७ बजेको बीचमा भएको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतले जानकारी दिए।
यता दिनेशले भागरथीको घरायसी रिसिइबीको कारण हत्या गरेको स्वीकार गरिसकेका प्रहरीले जनाएको छ।
माघ २१ गते साँझसम्म विद्यालयबाट घर नफर्केपछि भागरथीको खोजी सुरू भएको थियो। त्यसको भोलिपल्ट २२ गते साँझ घर नजिकैको जंगलमा उनी मृत अवस्थामा फेला परेकी थिइन्।
प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७