बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका अभियुक्त दिनेश भट्टले सुरुमा भागरथीलाई सानो भीरबाट लडाइदिएर घाइते बनाएपछि घाँटी थिचेर हत्या गरेको बताएका छन्।
प्रहरीले भागरथीको हत्या अरोपमा छिमेकी १७ वर्षीय दिनेशलाई पक्राउ गरेको हो। पक्राउ परेका दिनेशलाई जिल्ला प्रहरी कार्यालय बैतडीले बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ।
आरोपी दिनेशले सुरुमा भागरथीलाई सानो भीरबाट लडाइदिएको प्रहरीसमक्ष बयान दिएका छन्। ‘बदला लिन सडकबाट धकेलेर घाइते बनाएपछि घाँटी थिचेर मारेको हुँ,’ दिनेशको भनाइ उद्धृत गर्दै अनुसन्धानमा आबद्ध प्रहरीले भने।
दिनेशले भागरथीको हत्या आफैंले गरेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ। घरायसी रिसिइबीकाकारण भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको प्रहरीसमक्ष उनले बयान दिएका छन्।
‘बदला लिन भागरथीको हत्या गरेको बयान आरोपीले दिएका छन्,’ अनुसन्धानमा खटिएका अधिकृतले भने, ‘छिमेकी दुई परिवार बीचमा पुरानो रिसिइबी देखिन्छ।’ यद्यपि पुरानो रिसिइबी के थियो प्रहरीले खुलाएन।
हत्यापछि आफैंले भागरथीको मोबाइलको ब्याट्री झिकेर फालेकोसमेत दिनेशले बताएका छन्। सुरुमा आफूले भागरथीको किताब फालेको र त्यसपछि भागरथीलाई धक्का दिएको दिनेशले प्रहरीसमक्ष भनेका छन्।
स्थानीय सनातम धर्म माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत भागरथीको हत्यामा संलग्न दिनेश सोही विद्यालयको कक्षा ११ मा अध्ययनरत थिए।
माघ २२ गते साँझ ५ बजे भागरथीको शव लवलेक जंगलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र फेला परेको थियो।माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी त्यसपछि कहिल्यै घर फर्किनन्। त्यसको भोलिपल्ट माघ २२ गते जंगलमा शव फेला परेसँगै भागरथीको बलात्कारपछि हत्या भएको शंका गरिएको थियो।
भागरथीका हत्यारा दिनेश नातामा 'भाइ'
आफन्त दिनेश भट्टले यसरी गरेका थिए भागरथीको बलात्कारपछि हत्या
भागरथी हत्याका अभियुक्त - न्याय माग्दै आफैं जान्थे प्रदर्शनमा
'घरायसी रिसिइबीका कारण भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या गरेँ'
प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७