नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्ततः भदौमा हुने भएको छ।
यसअघि तोकिएको मिति अनुसार महाधिवेशनको उद्घाटन हुन दुई दिन बाँकी छँदा ६ महिना सरेको हो।
जेठभित्रै महाधिवेशन सम्पन्न गर्न वरिष्ठ नेता रामचन्द्र पौडेलको अडानकाबीच आगामी भदौको ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव भएको छ।
बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलबीच भएको सहमतिपछि महाधिवेशनको नयाँ मिति प्रस्ताव भएको हो।
नयाँ मिति प्रस्ताव भएसँगै जेठमै महाधिवेशन गर्ने पौडेलको योजना तुहिएको छ।
फागुनमा सम्भव नदेखिएपछि वरिष्ठ नेता पौडेल जेठमै महाधिवेशन गर्नुपर्ने अडान लिँदै आइरहेका छन्। महाधिवेशन लम्बाएर सभापति शेरबहादुर देउवा आफ्नो कार्यकालसमेत बढाउन खोजेको पौडेललाई लागेको थियो।
कोरोना महामारीकै बीच फागुनमै महाधिवेशन गर्न जोड दिँदै आइरहेका पौडेल पछि जेठमा जसरी पनि महाधिवेशन गर्नुपर्ने भन्दै आइरहेका थिए।
तर, बुधबार केन्द्रीय समिति बैठकअघि भदौमा महाधिवेशन गर्ने निर्णयमा देउवाले वरिष्ठ नेता पौडेललाई सहमत गराएका छन्।
बैठक सुरू हुनु अघि दुवै पक्षका नेताबीच पार्टी कार्यालय सानेपामै छलफल भएको थियो।
र, भदौमा महाधिवेशन गर्ने सहमति भएपछि केन्द्रीय समिति बैठकमा प्रस्ताव पेश भएको छ।
दुवै नेताको सहमतिपछि भदौमा महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश भएको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए।
‘सभापतिजी र वरिष्ठ नेताबीच भएको छलफलमा भदौमा महाधिवेशन गर्ने सहमति जुटेको छ,’ आयोमेलसँग महतले भने,‘आज प्रस्ताव पेश भएको छ। भोलि पास हुन्छ।’
पौडेलले जेठका लागि अडान लिइरहेपनि सम्भव नदेखिएकोले अब कहिल्यै नथप्ने गरी भदौको ७ देखि १० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव पेश भएको महतले बताए।
‘उहाँले जेठका लागि अडान लिनु भएको थियो। तर, सम्भव छैन भन्ने उहाँलाई पनि थाहा थियो,’ महतले भने,‘पटक–पटक थप्नुभन्दा अब कहिल्यै नथप्ने गरी महाधिवेशनको मिति प्रस्ताव गरिएको छ।’
प्रतिनिधिसभा विघटनपछि सीर्जित राजनीतिक घटनाक्रमलाई ध्यानमा राखेर महाधिवेशनको मिति तोकिनुपर्ने कांग्रेसभित्रै आवाज उठेको थियो। अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना नभएको अवस्थामा महाधिवेशनलाई थाँती राखेर निर्वाचनतर्फ र पुनःस्थापना भएको अवस्थामा महाधिवेशनतर्फ पार्टी केन्द्रित हुनुपर्ने कांग्रेसका कतिपय नेताहरूले धारणा राख्दै आइरहेका थिए।
तर, वरिष्ठ नेता पौडेल भने प्रतिनिधिसभा विघटनकै बहानामा महाधिवेशन लम्बयाउन नहुने पक्षमा थिए।
पार्टी विधानअनुसार तोकिएको अवधिमा महाधिवेशन गर्न नसकेपछि कांग्रेसले संवैधानिक व्यवस्थाअनुसार ६ महिनाको अवधि उपयोग गरेर महाधिवेशनको नयाँ मिति तोक्ने तयारी गरेको छ।
२०७६ पुस ११ गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकले फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने कार्यतालिका तय गरेको थियो।
कांग्रेसको पार्टी विधानअनुसार चार वर्षमा महाधिवेशन गर्नुपर्ने छ। तोकिएको समयमा महाधिवेशन गराउन नसक्ने असाधारण स्थितिमा मात्र थप एक वर्ष समय बढाउन सकिने कांग्रेसको विधानमा भनिएको छ। कांग्रेसले थपेको एक वर्षको समय फागुन १९ मा सकिँदैछ।
विधानअनुसार तोकिएको मितिमा महाधिवेशन हुन नसकेपछि अब कांग्रेसले संविधानको सहारा लिएको हो। संविधानको धारा २६९ मा राजनीतिक दलको गठन, दर्ता र सञ्चालनसम्बन्धी व्यवस्था गरिएको छ।
धारा २६९ को उपधारा (४) (ख) मा राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एकपटक सो दलको संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्छ भनिएको छ।
सोही उपदफामा ‘तर विशेष परिस्थिति उत्पन्न भएमा, पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा ६ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन,’ भनिएको छ।
प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७