बतासले छिराेलिदिएका केशहरू सम्हाल्दै उनी होटेल एम्बास्डरको नवौं तलामा उक्लिइन्।
अन्तिम माघको चिसो छिचोल्न घामका किरण पौठेजोरी खेल्दैथिए।
सिरसिर बतास खेलिरहेको त्यो खुल्ला छतमा उनीहरू हामीसँग गफिँदै थिए।
त्यो दिन निकै उत्साहित देखिन्थिन्। बस्दाबस्दै उनले सुनाइहालिन्– भोलिको केही घण्टामा त म कलकत्ता पुगिहाल्छु।
कलकत्ता उनको माइती हो।
०००
रश्मी।
उनका कुण्डली हेरेका हरेक ज्योतिषीले भन्थे ‘रश्मी विदेशै जान्छे।' उनका साथीहरू पनि भन्थे– यो त विदेशमै जान्छे। उतै सेटल हुन्छे। सायद बिहे पनि उतै हुन्छ।
र, जीवनको एक दिन यस्तो आइदियो कि उनी भारतको बिहारबाट नेपालको वीरगन्ज आइपुगिन्।
जीवनको यो अर्को अध्याय थियो यो उनको। र, त्यो दिन उनले आफ्ना साथीहरूलाई फोन गरेर भनिन्- ‘देख्यौ त रश्मी विदेश पुगिसकी...।’
मारवाडी समुदायकी एक अग्रणी हुन् रश्मी। भारतीय छोरी। नेपालकी बुहारी। र, यो समुदायबाट पारिवारिक व्यापार व्यवसायलाई धानिरहेकी एक सफल महिला पनि।
भारतकी छोरी, नेपालकी बुहारी

रश्मीको जन्म भारतको बिहारमा भएको हो। करिब ३ वर्षकी थिइन् रश्मी, उनलाई पढ्नका लागि परिवारले दार्जिलिङ पठाए।
दार्जिलिङ नेपाली भाषीको सहर हो। त्यहाँ उनले दश कक्षासम्मै पढिन्। ‘नेपाली कल्चर’को आदत बस्दै थियो। प्लस टु पढ्नका लागि उनी फेरि मसुरी पुगिन्।
विज्ञान विषय पढ्नका लागि उनको कक्षामा जम्मा २२ जना विद्यार्थी थिए। ती मध्ये २१ जना त काठमाडौंकै थिए। २२ औं मा उनी एक्ली भारतीय थिइन्।
त्यो बेलै उनलाई लाग्थ्यो ‘सायद भगवानले नै रश्मीको गन्तव्य तय गरिसकेका छन्- नेपाल।’
त्यसपछि ग्राजुएसनका लागि उनी दिल्ली पुगिन्। पढाई त्यहीँ सकियो।
जिन्दगीको अर्को अध्याय
रश्मीहरू कलकत्ता बसाइँ सरिसकेका थिए। घरमा एकदिन अलि धेरै मानिस थिए।
अनुहारहरू अलि नयाँ नयाँ थिए। त्यो बसाइँमा उनलाई पनि बोलाइयो। उनी त्यहीँ बसिन्।
एकातिर रश्मी र उनका परिवार थिए। अर्कोतिर ती ‘नयाँ’ अनुहारहरू।
कुरा सुरु भए। त्यो समूहमा कसैले अंग्रेजीमा सोध्थे। कसैले नेपाली र हिन्दीमा।
रश्मीले जवाफ दिइरहिन्।
केही दिनपछि रश्मीलाई थाहा भयो उनको बिहे हुँदैछ, नेपालको वीरगन्जमा।
र, त्यसपछिमात्रै रश्मीले चाल पाइन् ती नयाँ अनुहारहरू उनकै ‘बिहे–अन्तर्वार्ता’ पो गर्दैथिए।
नाइँनास्ती केही थिएन। रोजेको र खोजेको आफ्नै परिवारले थियो।
कलकत्ताबाट उनी वीरगन्ज आइन्। नयाँ ठाउँ, नयाँ मानिस। नयाँ घर। नयाँ संसार।
हो, जीवन पूरै नयाँ भइसकेको थियो। संसारै नयाँ भइसकेको थियो। अब उनले जिउनुपर्ने जीवन अर्कै भइसकेको थियो। नाम उही थियो तर थर फेरिएको थियो। अब उनी रश्मी दास भइसकेकी थिइन्।
नेपाली बुझ्न त बुझ्थिन् तर बोल्ने आदत भइसकेको थिएन। उनी धेरै त अंग्रेजी नै बोल्थिन्। अहिले पनि उनको लवज अंग्रेजीवाला नै लाग्छ। बोल्दा शब्दहरू आधाभन्दा धेरै त अंग्रेजी नै घुसिहाल्छ नचाहँदा नचाहँदै पनि।
श्रीमान र ससुराले उनलाई खुब ‘सपोर्ट’ गरे। वीरगन्ज विस्तारै उनको आदत बन्दै गयो। जीवनका २० वर्ष उनले वीरगन्जमै गुजारिन्।
‘सायद सपोर्ट नगरेपछि यो त भागिहाल्छ भनेर पनि हो कि?’ रश्मीलाई लाग्छ, ‘मेरा श्रीमान अनि ससुराले यो वीरगन्जलाई मेरो लागि त बम्बैजस्तै बनाइदिनुभयो।’
०००
प्रभा शारडा, भारतको आसाममा जन्मिइन्। प्रभाको पढाई–लेखाई आसाममै भयो।
पढाई सकिँदै गर्दा बिहेको कुरा चल्यो। आफन्त अनि पारिवारिक सम्बन्ध नेपालतिर अलि बाक्लै थियो।
कुरो पनि नेपालतिरै चलेछ। आफन्तहरूले नै उनको बिहेको कुरा आसामसम्म लगेका थिए।
‘सुरुमा त मेरो बुवाहरू अलिअलि डराउनु भएको थियो’ उनलाई त्यो क्षण ताजै लाग्छ, ‘नेपालका केटाहरू अलि ड्रिङ्क्स बढी गर्छन् नि के होला कस्तो होला भनेर पनि हुनसक्छ।’

अन्तत: नेपालबाट प्रभाको जीवनको अर्को अध्याय सुरु भयो। उनी बिहे गरेर आएको परिवार त सिरहाको लहानमै बस्थे। तर प्रभा त्यहाँ धेरै बसिनन्। व्यापार व्यवसाय काठमाडौंमै थियो।
उनी काठमाडौं नै बस्न थालिन्।
उनको स्कुले जीवनमा नेपालीभाषीहरू पनि थिए। आसाममा नेपाली अलि कम छन्। तर संस्कार लगभग उस्तै उस्तै। नेपाली संस्कारका बारेमा प्रभाले केही त जान्दथिन्। तर पनि उतिसारो आदत त थिएन।
काठमाडौं आएपछि सबैभन्दा धेरै उनले भाषाको समस्या भोगिन्।
गाडी चढ्दा भाषाकै समस्या। तरकारी किन्दा पनि भाषाकै समस्या। अझ अंग्रेजी वा हिन्दी बोल्दा त विदेशी पो रहेछ भनेर हरेक ठाउँमा धेरै पैसा लिन खोज्ने।
उनले नेपाली भाषा सिक्नैपर्ने भो। साथीहरूको सहयोगमा बागबजारको एउटा इन्स्टिच्युटमा उनले एक महिनाजति नेपाली भाषा सिकिन्।
‘अब त तपाइँहरू भन्दा राम्रो नेपाली बोल्नसक्छु’ नेपाली पाराकै हाँसोमा उनले भनिन् ‘अब सबै सहज छ। नेपाल आफ्नै भयो। उस्तै मायाँ र ममता पनि छ।’
०००
मारवाडी ‘छोरी–बुहारी’को ‘सर्कल’
नेपाली अर्थतन्त्रमा योगदानको ठूलो हिस्सा छ, मारवाडी समुदायको।
व्यापार र व्यवसाय त यो समुदायको जीनमै हुन्छ।
नेपालमा मारवाडी समुदायको बसोबास कहिलेदेखि सुरु भयो? त्यसको एतिहासिक मिति त ठ्याक्कै छैन।
तर, इतिहासका विभिन्न कालखण्डमा वि.स. ७०० मै उनीहरू नेपाल भित्रिएको देखिन्छ।
अलि बढी वा पूरै समुदाय नै एकत्रित आएर बस्न थालेको भने राणाहरूको पालादेखि नै हो। नेपालमा पनि व्यापार र व्यवसायका लागि जंगबहादुरकै पालामा राणाहरूले ब्लक ब्लकमा मारवाडी समुदाय भित्र्याएका थिए।
खासगरी यो समुदाय भारतको राजस्थानी मूलका हुन्। अहिले पनि विहेलगायतका कतिपय संस्कारहरू राजस्थानी स्टाइलमै हुन्छन्।
नेपाली मारवाडी समुदायमा अधिकांश बिहेवारी भारततिरै हुन्छ। विस्तारै स्थानीय समुदायमा पनि बढिरहेको छ।
र, रश्मी अनि प्रभाहरू यही मारवाडी समुदायका बुहारीहरू हुन्। भारतीय छोरीहरू, नेपाली बुहारीहरू।
कुनै समय थियो, मारवाडी समुदायका छोरी-बुहारीहरू बाहिर निस्किदैनथे। अरु समुदायजस्तै यहाँ पनि महिलाको परिचय ‘गृहणी’मै सिमित थियो।
तर, विस्तारै रश्मी अनि प्रभाहरूजस्ता भारतीय चेली नेपाली बुहारी बनेर भित्रिन थाले। र, मारवाडी समुदायमा अहिले हरेक छोरा वा जुवाइँहरू जस्तै बुहारी र छोरीहरू पनि व्यापार-व्यवसायमा जमेका छन्। समुदायमा सान र सौकत दुबै छ। यहाँसम्म कि कतिपय परिवार त महिलाले नै हाँकिरहेका छन्।
त्यत्तिले मात्रै पुगेन अब ‘रश्मी-युग’का छोरी बुहारीहरू अब समाजसेवामा पनि लाग्न थालेका छन्।
र, मारवाडीहरू पनि अब घरभान्सामात्रै होइन, व्यापार धान्ने बुहारी रोज्छन्। रश्मी पनि यही ‘व्यापारी पुस्ता’की बुहारी हुन्।
मारवाडी समुदायका व्यवसायीहरूको एउटा संस्था छ ‘राउण्ड टेबल।’ यसमा ४० वर्षसम्मका मारवाडी व्यवसायीहरू आवद्ध हुन्छन्। अन्तराष्ट्रिय स्तरको यो राउण्ड टेवल ‘एलिट क्लब’ भनेर पनि चिनिन्छ।
र, यो राउण्ड टेवलमा आवद्ध भएका मारवाडी पुरुषका श्रीमतीहरू मिलेर अर्को एउटा संस्था बनाए ‘लेडिज सर्कल।’ महिलामात्रै आवद्ध हुने यो सर्कल पनि विश्वव्यापी नै छ। विश्वका विभिन्न देशमा ‘फ्रेन्चाइज’ भइरहेको यो समूह पनि ‘एलिट महिला’हरूको क्लब भनेर चिनिन्छ।
सुरुमा लेडिज सर्कलको नेपाल च्याप्टरमा राउण्ड टेबलमा भएका पुरुषका श्रीमतीहरूमात्रै आवद्ध हुन पाउँथे।
सर्कलसँग रश्मी–साइनोको एउटा मियो पनि यही थियो। उनका श्रीमान मनोज दास राउण्ड टेबलका नेपाल अध्यक्ष पनि हुन्।
लेडिज सर्कलमा रश्मीले २०१६ मा राष्ट्रिय अध्यक्षको जिम्मेवारी सम्हालेकी हुन्। केही गर्ने ठूलो हिम्मत लिएर छिरेकी रश्मीलाई सुरुसुरुमा यो सर्कलको ‘सर्कल’ कता कता साँघुराे लाग्न थाल्यो।
अनि रश्मीले यसको दायरा अलि फराकिलो पार्न खोजिन्। आइडिया फुर्यो, सर्कलमा किन राउण्ड टेबलरका श्रीमतीहरूमात्रै?
त्यो घेरा तोडेर उनले अलि अघि बढ्ने हिम्मत गरिन्। र, अरु पनि महिला त्यो सर्कलभित्र अट्न थाले।
प्रभा शारडा त्यसकैको प्रतिफल हुन्। सर्कलभित्र छिर्नका लागि त्यसपछि ‘प्रभा’हरुका श्रीमानहरू ‘राउण्ड–टेबल’मा बस्न परेन। अहिले काठमाडौं लेडिज सर्कल- १ की अध्यक्ष हुन् प्रभा।
अहिले मारवाडीका ‘छोरी–बुहारी’हरू यही सर्कलमार्फत् समाजसेवामा पनि हात बढाइरहेका छन्। आफैं चन्दा उठाएर उनीहरूले भूकम्प, बाढीपहिरोजस्ता विपत्तिमा सहयोग गर्दै आएका छन्। अनाथ, असहायहरूलाई सहारा दिइरहेका छन्। हिंसामा परेका महिलालाई आश्रय दिएका छन्। सर्कलको अर्को विशेषता के हो भने, समाज सेवाका लागि यसको कुनै निश्चित ‘सर्कल’ छैन।
‘अब चाँडै नै स्यानिटरी प्याड बनाउने मेसिन जडान गर्ने योजनामा छौं’ रश्मीले आगामी योजना सुनाउँदै भनिन् ‘भैरहवामा जडान भइसकेको छ। काठमाडौं र वीरगन्जमा मेसिन जडान भएपछि एकैपटक उद्घाटन गर्ने योजना छ।’
स्यानिटरी मेसिन किन्नका लागि अहिले उनीहरूले विश्वभरका लेडिज सर्कलरहरूसँग सहयोग उठाइरहेका छन्। रश्मीको योजनाअनुसार सर्कलले उत्पादन गरेका ‘प्याड’ निकै सस्तो पनि हुनेछ। यसले नेपालका विकट ठाउँमा बस्ने अनि गरिब महिलाको ‘महिनावारी’ अलि सजिलो हुनेछ।
‘यसका लागि म धेरै उत्साहित छु’ उनले भनिन् ‘सर्कलमा यो मेरो जीवनको सबैभन्दा ठूलो सन्तुष्टि हुनेछ।’
‘रश्मी र प्रभा’हरूको यो ‘ड्रिम प्रोजेक्ट’ले धेरै नेपाली महिलाको सपना पक्कै फेर्नेछ।
समुदायको एउटा पुरातन घेराबाट बाहिर निस्किएका यी मारवाडी ‘छोरी–बुहारी’का कदमले आम नेपाली महिलाका पाइला दरिने विश्वास पनि छ उनीहरूमा।
भिडियो
प्रकाशित मिति: शनिबार, फागुन ८, २०७७