धनुषाबाट अपहरणमा परेका एक बालकलाई प्रहरीले साढे तीन घण्टाभित्र उद्धार गरेको छ। नगराईन नगरपालिका–६ लगमाबाट अपहरणमा परेका रमेश दासका सात वर्षीय छोरा चन्दन दासलाई प्रहरीले जनकपुरबाट उद्धार गरेको हो।
चन्दनको अपहरण गरेर एक करोड फिरौती मागेको आरोपमा प्रहरीले मामा लक्ष्मेश्वर दाससहित तीनजनालाई नियन्त्रणमा लिएको छ।
धनुषाका प्रहरी प्रमुख प्रकाश रानाभाटले अपहरणमा संलग्न रहेको आरोपमा चन्दनका मामा लक्ष्मेश्वर दास, दासका नातामा पर्ने भाइ र घरबेटीलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन्।
यसरी भयो रमेशको उद्धार
शनिबार दिउँसो छिमेकी बच्चाहरूसँग खेल्न चन्दन घरबाट निस्किएका थिए। तीन/चार घण्टासम्म उनी घर नफर्किएपछि परिवारका सदस्यहरूले खोजतलास सुरू गरे।
करिब साढे तीन बजे चन्दनको आमाको मोबाइलको घण्टी बज्यो।
फोन गर्ने मान्छेले चन्दनकी आमालाई ‘चन्दनलाई हामीले अपहरण गरेका छौं। छोरा चाहिए एक करोड फिरौती तयार गरेर बस’ भने।
छोराको अपहरण भएको जानकारी पाउनासाथ बाबु रमेश र आमा अत्तालिए।
कुनै उपाय नलागेपछि दुवै जनाले छोरो अपहरणमा परेको कुरा प्रहरीलाई जानकारी गराए। त्यतिबेला ४ः४५ बजिसकेको थियो।
अपहरणको सूचना आएलगत्तै प्रदेश प्रहरी र जिल्ला प्रहरीको टिम ‘एक्सन’ मा आयो।
‘बालक अपहरण भएको खबर हामीसँग ४ः४५ मा आयो, प्रदेश र जिल्ला प्रहरीको टोली सक्रिय भयो,’ एसपी रानाभाटले आयोमेलसँग भने,‘कल डिटेल र लोकेसन खोतल्ने काम सुरू गर्यौं। अपहरणकारीको फोनको लोकेसन जनकपुरको माछा बजार देखाइरहेको थियो।’
फोन लोकेसनकै आधारमा प्रहरीले चन्दनका मामा लक्ष्मेश्वरलाई डेरा बस्ने घरबाट नियन्त्रणमा लिएको रानाभाटले बताए।
उनका अनुसार प्रहरी लक्ष्मेश्वरको डेरामा पुग्दा चन्दन त्यहाँ रहेका अन्य बच्चाहरूसँग खेलिरहेका थिए।
‘डेराका अन्य बच्चाहरूसँग खेलिरहेको अवस्थामा प्रहरीले चन्दनलाई करिब साढे तीन घण्टापछि उद्धार गर्न सफल भयो,’ उनले भने,‘अपहरणमा संलग्न भएको हुनसक्ने शंकाका आधारमा घरबेटी महिला र लक्ष्मेश्वरको नातामा पर्ने भाइलाई पनि नियन्त्रणमा लिएका छौं।’
लक्ष्मेश्वरले चन्दनका आमासँग एक करोड फिरौती मागेको स्वीकार गरेको रानाभाटले बताए। लक्ष्मेश्वरले आफ्नै भान्जाको अपहरण किन गरे भन्नेबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन्।
प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७