सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र आन्तरिक विवादका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाैतीकाे सामना गरिरहेका बेला सुरक्षा निकायले उनको भ्रमणका क्रममा उच्च सुरक्षा सतर्कता अपनाउन थालेको छ। ओली जहाँ जान्छन् आसपासका घरका छतमा समेत सुरक्षाकर्मी परिचालन हुन्छन्।
चारवटै सुरक्षा निकाय प्रधानमन्त्रीको सुरक्षामा चनाखो रहन्छन्। पहिलो घेरामा नेपाली सेनाले प्रधानमन्त्रीलाई सुरक्षा दिन्छ। त्यसमा पनि अहिले प्रधानमन्त्रीको सुरक्षा साँघुरो घेरामा नेपाली सेनाका सादा पोसाकका अधिकारीसमेत खटाइएका छन्।
सादा पोसाकमा सेनाले प्रधानमन्त्रीलाई सुरक्षा दिने यस्तो अभ्यास विगतमा थिएन। यसअघि प्रधानमन्त्रीका सुरक्षामा यसरी नदेखिने ती अधिकारी पछिल्लो समय ओलीका हकमा भने सार्वजनिक कार्यक्रममा व्यापक रुपमा देखिने गरेका छन्।
सार्वजनिक कार्यक्रममा ओलीको पछाडि तीनजना सादा पोसाकमा नेपाली सेनाका अधिकारी खटिन्छन्। त्यतिमात्र होइन उनीहरुका साथमा कालो ब्रिफकेशसमेत हुन्छ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा उनको सुरक्षामा सुरक्षा अधिकारहरु ब्रिफकेशमा साथ खटिएका थिए। धेरैले ब्रिफकेशसहित सुरक्षाकर्मी परिचालन गर्नु मोदीको नक्कल गरेको भनेका छन्।
ती सादा पोसाकका सुरक्षा अधिकारीले सार्वजनिक कार्यक्रममा ओली उत्रिँदा भीड र बाटोलाई पनि घेरा हालिरहेका हुन्छन्। त्यतिमात्र होइन आजभोलि प्रधानमन्त्रीका कार्यक्रममा उपस्थितलाई ती सुरक्षाकर्मीहरुले कालोमास्क समेत लगाउन दिने गरेका छैनन्।
रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री ओलीको यो कडा सुरक्षासँग पछाडि उभिने सादा पोसाकमा खटिएका नेपाली सेनाका अधिकारीले बोक्ने ब्रिफकेशमा के हुन्छ? धेरैलाई चासोको विषय छ।
नेपाली सेनाका अधिकारीहरूका अनुसार ती ब्रिफकेशमा बुलेटप्रुफ प्लेटहरू र अत्याधुनिक मेसिनगन हुन्छ। मोटो देखिने ब्रिफकेशमा सब–मेसिनगन हुन्छ भने पातला २ ब्रिफकेसमा प्रोटेक्टिभ सिल्ड भनिने सुरक्षाकवच (बुलेटप्रुफ) हुन्छ।
मोटो ब्रिफकेशमा भित्र राखिएको अत्याधुनिक हतियारबाट गोली निस्किने प्वाल पनि हुने गरेको बताइन्छ। ब्रिफकेशको माथिपट्टि नै ट्रिगर हुन्छ।
पातलो ब्रिफकेसमा भने दुईदेखि तीन पत्रसम्म पट्याएर गोली छेक्ने पाताहरू राखिएका हुन्छ।
‘त्यसरी तालिमप्राप्त सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सुरक्षामा खटाइन्छ,’ सैनिक मुख्यालयका एक अधिकारीले भने, ‘त्यसलाई सेनाले क्लोज प्रोटेक्शन कोर टिम भन्छ। टिममा आधा दर्जन सादा पोसाकका अधिकारी छन्। त्यसैमध्येका तीन जनाले ब्रिफकेश बोक्छन्।’
अति विशिष्ट व्यक्तिमाथि कुनै पनि प्रकारको आक्रमण भए त्यो कोर टिमले पहिलो चरणमा सुरक्षा प्रत्याक्रमण गर्ने रणनीति बनाउँछ। सोहीअनुसार त्यसरी तालिम दिएर सादा पोसाकमा नेपाली सेनालाई खटाइएको सैनिक मुख्यालयले जानकारी दियो।
भीभीआईपी व्यक्तिमाथि कुनै आक्रमण भएको अवस्थामा यस्तो ब्रिफकेसलाई तुरुन्तै सुरक्षा ढालको रूपमा प्रयोग गर्नुपर्ने हुन्छ।
त्यस्तै प्रधानमन्त्री ओलीको दोस्रो घेरामा नेपाल प्रहरी, बाहिरी घेरामा सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी परिचालित हु्न्छन्। २ सयभन्दा बढी सुरक्षाकर्मी प्रधानमन्त्री ओलीको सुरक्षामा खटिएका छन्।
गत ५ पुसमा प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै मध्यावधि निर्वाचनको मिति तोकेकी थिइन्।
त्यसयता प्रधानमन्त्री ओली चुनाव प्रचारप्रसारकै क्रममा ठाउँ–ठाउँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न पुगेका छन्। त्यसपछि सुरक्षा थ्रेट बढेको आँकलन गर्दै ओलीको पछाडि कालो ब्रिफकेशधारी सुरक्षा अधिकारी खटाइएको हुनसक्छ। यसअघि यस्तो अभ्यास थिएन।
यता, केही समयअघि सरकारले पूर्व पदाधिकारीहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुको दुरुपयोग भएको भन्दै कटौती गरेको छ। पूर्व पदाधिकारीहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिँदै आएको थियो।
प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७