अमेरिकी अन्तरिक्ष सम्बन्धी निकाय नासाले उसको पर्सेभिअरेन्स रोभर मंगल ग्रहमा अवतरण गर्दै गरेको भिडियो सार्वजनिक गरेको छ।
भिडियोमा अवतरण गर्दाको अन्तिम क्षणलाई देखाइएको छ।
पर्सेभिअरेन्सलाई रकेटले झुलाउँदै जेजेरो क्रेटर नाम दिइएको मंगल ग्रहको सतहमा राखिएको हो। पर्सेभिअरेन्समा क्यामेराहरू बाँधेर पठाइएको थियो। तीमध्ये सात वटा क्यामेरा उसको अवतरणको रेकर्डिङका लागि खटाइएका थिए। तस्बिरहरूले ग्रहको सतह अध्ययनका लागि सहयोग गर्नेछ।
एक हजार किलोग्राम वजन भएको उच्च प्रविधियुक्त रोभरमा सातवटा उपकरण, कैयौँ क्यामेरा, माइक्रोफोन र एउटा ठूलो खन्ने उपकरण जडित छ। प्यारासुटतर्फ खिच्ने तीनमध्ये एक क्यामेरा असफल भए पनि अन्य ६ वटा क्यामेराहरूले कुनै पनि त्रुटीविना काम सम्पन्न गरेका थिए। नासाले अवतरणको आवाज पनि रेकर्ड हुने आशा राखेको भए पनि त्यो चाहिँ सफल हुन सकेन। सतहमा भने एउटा माइक सञ्चालन गर्न सफल भएकाले आगामी दिनमा पर्सेभिअरेन्सको कामलाई सुन्न सकिने सम्भावना रहेको बताइएको छ।
हेर्नुस् भिडियो-
अमेरिकी पर्सेभिअरेन्स अन्तरिक्ष यान पृथ्वीबाट उडेको करिब सात महिनापछि मंगल ग्रहको सतहमा गत शुक्रबार अवतरण गरेको थियो। नेपाली समय अनुसार शुक्रबार बिहान करिब २:४० बजे यान मंगल ग्रहको सतहमा अवतरण गरेको थियो।
यान सफलतापूर्वक अवतरण भएपछि नासाका वैज्ञानिकले खुसीयाली मनाएका थिए। मंगल ग्रहको सतहमा सुरक्षित अवतरण गर्नुलाई यो मिशनको सबैभन्दा कठिन चुनौतीका रूपमा पनि हेरिएको थियो। हालसम्म मंगल ग्रहमा १४ मिशनले अवतरण गर्ने प्रयास गरेकोमा आठमात्रै सफल भएका छन्। ती सबै अमेरिकी अभियान हुन्। यो यान दुई वर्षसम्म मंगल ग्रहमा बसेर अध्ययन गर्नेछ।
यो सन् १९७० को दशकको भाइकीङ मिसनपछि मंगल ग्रहमा जीवनको सम्भावनाबारे अध्ययन गर्ने नासाको सबैभन्दा महत्वाकांक्षी परियोजना हो। यानको सफल अवतरणले जीवनको अध्ययन गर्नमा सहयोग गर्ने विश्वास उसले लिएको छ।
यानमा जीवावशेष अध्ययन गर्नका लागि आवश्यक पर्ने वैज्ञानिक उपकरणहरू राखिएका छन्।
६ वटा पांग्रा भएको उक्त रोभर सात महिनाको यात्रामा ४७ करोड किलोमिटर यात्रा गरेर मंगल ग्रहको सतहमा अवतरण गरेको हो।
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७