अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ। कोरोना संक्रमणका कारण सबैभन्दा धेरै मानिसको मृत्यु अमेरिकामा भएको छ।
राष्ट्रपति जो बाइडेनले यसलाई राष्ट्रिय शोकको घडी भनेका छन् र राष्ट्रका नाममा सम्बोधन गरेका छन्।
‘एक देशका रुपमा हामीले यस्तो क्रुर भाग्यलाई स्विकारमात्रै गरिरहन सक्दैनौं’, सम्बोधनमा उनले भनेका छन्, 'यो शोक मनाउने बेलामात्रै होइन। यसविरुद्ध हामी अझैं जुझारु हुनुपर्नेछ।’
ह्वाइटहाउसबाहिर राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस परिवारसहित उपस्थित भएर मृतकप्रति श्रद्धाञ्जली दिएका थिए। उनीहरूले केहीबेर मौन धारण पनि गरे।
अहिलेसम्म कोरोना संक्रमणबाट अमेरिकामा २८.१ मिलियन मानिस संक्रमित भइसकेका छन्।
‘आज म सबै अमेरिकीसँग यो आग्रह गर्दछु कि हामीले ती व्यक्त्तिहरूलाई याद गरौं जसलाई हामीले अनाहकमा गुमाउनुपरेको छ। जसलाई हामीले नचाहेर पनि जीवनभन्दा पछाडि छोड्नुपरेको छ’ उनले भने।
५ लाख मृतक अमेरिकीलाई श्रद्धान्जली दिनका लागि अमेरिकाले पाँच दिनसम्म शोक मनाउने भएको छ। राष्ट्रपति बाइडेनले देशभर राष्ट्रिय झन्डा आधा झुकाउन आह्वान पनि गरेका छन्।
ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले पहिलो, दोस्रो र भियतनाम युद्धमा मारिएकाभन्दा पनि कोरोना संक्रमणका कारण धेरै अमेरिकीको मृत्यु भएको बताए।
‘५ लाख ७१ अमेरिकीको मृत्यु सारा देशवासीका लागि मुटु नै टुक्रा-टुक्रा पारिदिने एउटा कोशेढुङ्गा हो’, उनले भने।
‘हामीले आम अमेरिकीमात्रै भनेका छौं। तर, जसले कोरोना संक्रमणका कारण ज्यान गुमाए ती ‘आम’ अमेरिकीमात्रै थिएनन्। ती सबै ‘असाधारण’ अमेरिकी थिए। ती कोही अमेरिकामै जन्म लिएका थिए वा कोही आफ्नो देश त्यागेर अमेरिकालाई अपनाएका थिए’, निकै भावुक हुँदै बाइडेनले भने, ‘कतिले त अमेरिकामा अन्तिम सास लिँदा पनि एक्लै छट्पटाउनुपर्यो।’
त्यसक्रममा राष्ट्रपति बाइडेनले आफ्नी पहिलो पत्नी र छोरीको मृत्युलाईसमेत सम्झिए। त्यो १९७२ को एउटा कार दुर्घटना थियो। जसमा उनकी श्रीमतीको मृत्यु भयो। अनि २०१५ मा उनकी छोरीको ब्रेन क्यान्सरबाट मृत्यु भयो। ती दिनहरूलाई सम्झिँदै बाइडेनले भने, ‘मेरो लागि दु:ख र शोकको घडी मेरो यात्राको एक उद्देश्यको खोज पनि हो।’
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७