नेपालका लागि निसान गाडीको आधिकारिक विक्रेता पायोनियर मोटो कर्प प्रालिले ‘निसान म्याग्नाइट’ सार्वजनिक गर्दै बुकिङ खुला गरेको छ। यो गाडीको सुरुवाती मूल्य २९ लाख ४९ हजार रुपैयाँ तोकिएको छ।

पायोनियर मोटो कर्पका अनुसार निसानको वेबसाइट https://nissan-nepal.com/book-a-vehicle मा गएर बुकिङ गर्न सकिन्छ।

निसान मोटर इन्डियाका अध्यक्ष तथा दक्षिण एसिया इन्चार्ज सिनन ओजकोकले गाडी सार्वजनिक कार्यक्रममा निसान म्याग्नाइटले ‘निसान नेक्स्ट’ को नेपाली तथा विश्व बजारका लागि तय गरिएको रणनीतिमा नयाँ अध्याय सुरुवात गर्ने बताए।

‘मेक इट इन्डिया, मेक फर द वल्र्डको दर्शनमा निर्मित नयाँ निसान म्याग्नाइटमा २० भन्दा बढी प्रथम श्रेणी र बेस्ट–इन–सेग्मेन्टका सुविधा छन् जसले उपभोक्तालाई नविन अनुभवको अवसर प्रादन गर्ने छ,’ ओजकोकले भने।
उत्कृष्ट अनुभव प्रदान गर्न निरन्तर अन्वेषणमा लागिपर्ने निसानको मान्यताअनुसार नै म्याग्नाइटमा निसानका प्रख्यात क्रुज कन्ट्रोल र ३६० डिग्री भ्युजस्ता अन्य प्रविधि समावेश गरिएको उनले जानकारी दिए।

कार्यक्रममा पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दिपकुमार शारडाले नयाँ निसान म्याग्नाइट सार्वजनिक हुनु निसानको ग्राहक केन्द्रित लामो यात्रामा अविष्मरणीय कोसेढुंगा साबित हुने बताए।

‘हाम्रा ग्राहकका लागि बिग, बोल्ड, ब्युटिफुल र करिज्म्याटिक निसान म्याग्नाइट ल्याएका छौं,’ प्रबन्ध निर्देशक शारडाले भने, ‘ग्राहकका आकांक्षा र उच्च प्रविधि समायोजन भएको म्याग्नाइटले पक्कै पनि नेपाली गाडी बजारमा गेम चेन्जरको भूमिका खेल्नेमा हामी विश्वस्त छौं।’

पायोनियर मोटो कर्पका अनुसार निसान म्याग्नाइट ११ भेरायन्टमा उपलब्ध छन्। यिनको मूल्य २९ लाख ४९ हजारबाट सुरु भई अधिकतम ४२ लाख ७९ हजार रुपैयाँसम्म तोकिएको छ।
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७