सोमबार राति महोत्तरीको पिपरा गाउँपालिका–५ सहोर्वाका दम्पती अपहरणको आशंकामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुको पहिचान खुलाइएको छैन।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) टिकाबहादुर केसीले दुईजनालाई सोधपुछका लागि प्रहरी कार्यालयमा ल्याइएको दाबी गरे। ‘हामीले बोलाएपछि उहाँहरू आफैं प्रहरी कार्यालय आउनुभएको हो,’ केसीले भने।
घरमै सुतिरहेका ६६ वर्षीय मुसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी बेपत्ता भएका छन्। एक्कासी घरबाट बेपत्ता भएपछि परिवारका सदस्यहरुले दुवै जनाको अपहरण भएको आशंका गरेका छन्।
प्रहरीका अनुसार दुवै जना राति ११ बजे कोठामा सुत्न गएका थिए। तर मंगलबार बिहान दुवै घरमा थिएनन्। यी वृद्ध दम्पतीसँगै घरमा उनीहरुको कान्छी बुहारी पनि रहेको प्रहरीले जनाएको छ।
मोही जग्गाको मुद्दामा अदालतमा साक्षी बसेका दम्पतीलाई घरबाटै अपहरण गरिएको प्रहरीले जनाएको छ। स्थानीयवासीका अनुसार जग्गासम्बन्धी मुद्दामा मंगलबार अदालतमा सुनुवाइ हुनुअघि दुवै जनालाई बेपत्ता पारिएको हो।
स्थानीयका अनुसार मोसाफिर झा मोही जग्गा विवादको मुद्दामा साक्षी बसेका थिए। अदालतमा विचाराधीन त्यस क्रममा मुद्दाका विपक्षीसँग उनको विवाद भएको थियो।
झा दम्पतीको ओछ्यानमा रगतको छिटासमेत देखिएको छ। ‘उहाँहरुको ओछ्यानमा रगतको छिटा देखिएको छ,’ पारिवारिक सदस्यलाई उदृत गर्दै केसीले भने, ‘खाना खाएर राति ११ बजेतर्फ उहाँहरु आफ्नो कोठामा सुत्न जानु भएको थियो। बिहान बेपत्ता हुनुभएको छ।’
झा दम्पती सुतेको कोठामा रगतका थोपाहरू समेत देखिएकाले घटना शंकास्पद बन्दै गएको छ। अपहरित दम्पतीको खोजी जारी रहेको केसीले जानकारी दिए। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए।
ओछ्यानमा रगतको छिटा देखिएकाले अपहरण भएको हुनसक्ने आशंका गर्न थालिएको वडाध्यक्ष शम्भु यादवको भनाइ छ। अध्यक्ष यादवले सोमबार साँझ झा दम्पतीसँग भेटघाट गर्न केही मानिस आएका बताए।
झा दम्पतीको अपहरण भएको खबर पाएलगत्तै स्थानीयले जनकपुरधाम-भिठामोड सडक खण्डमा चक्काजाम गरेका छन्। अपहरित दुवैकाे पत्तो नलागेसम्म चक्काजाम जारी राख्ने स्थानीयको चेतावनी छ।
स्थानीयका अनुसार झा मालपोत कार्यालयका अवकाशप्राप्त कर्मचारी हुन्।
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७