इंग्ल्याण्ड र भारतबीचको तेस्रो टेस्ट दुई दिनमै सकिएको छ। डे-नाइट टेस्टको दोस्रो दिनमै जित निकाल्ने क्रममा भारतले पाहुना टोली इंग्ल्याण्डमाथि १० विकेटको ठूलो जित निकालेको छ। इंग्ल्याण्डले दिएको ४९ रनको झिनो लक्ष्य भारतले एक विकेट पनि नगुमाइ पूरा गर्यो। भारतका लागि रोहित शर्मा २५ र शुभमन गिल १५ रनमा अविजित रहे।
पहिलो पारीमा दुवै टोलीले खराब ब्याटिङ गरेपछि खेल अगाडि नै सकिने अनुमान गरिएको थियो। नरेन्द्रमोदी स्टेडियममा भएको खेलमा पहिलो पारीमा इंग्ल्याण्डले ११२ रनमात्रै जोड्न सकेको थियो भने भारत पनि १४५ रनमै खुम्चिएको थियो। तर, दोस्रो पारीमा इंग्ल्याण्डले झनै खराब ब्याटिङ प्रदर्शन गर्यो। दोस्रो पारीमा इंग्ल्याण्ड ८१ रनमै अलआउट हुन पुग्दा भारतले ४९ रनको झिनो विजयी लक्ष्य पायो। जसलाई उसले सहजै पूरा गर्यो।
तेस्रो टेस्टको पहिलो पारीमा इंग्ल्याण्डका ज्याक क्राउले ५३ रन बनाउनुबाहेक अन्यले सम्झनयोग्य प्रदर्शन गर्न सकेनन्। उक्त पारीमा भारतका स्पिनर अक्षर पटेल चम्किए। उनले ६ विकेट लिए। आश्विनले तीन विकेट लिए। भारतले पहिलो पारीमा १४५ रन बनायो। जसमा रोहित शर्माको ६६ रन सर्वाधिक रह्यो। इंग्ल्याण्डका जो रुटले पाँच र ज्याक लिचले चार विकेट लिए।
पहिलो पारीपछि ३३ रनले पछि परेको इंग्ल्याण्डले दोस्रो पारीमा जम्मा ८१ रन जोड्न सक्यो। उसका लागि बेन स्टोक्सको २५ रन सर्वाधिक रह्यो। फेरि एकपटक भारतका पटेल नायक बने। उनले पाँच विकेट लिँदा आश्विनले चार विकेट लिए।
जितसँगै भारतले चार खेलको टेस्ट शृङ्खलामा २-१ ले अग्रता बनाएको छ। अन्तिम टेस्ट मार्च ४ मा हुनेछ।
प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७