राहुल सहनी (१३) कक्षा ६ मा अध्ययनरत बालक हुन्। बुद्धको प्राचिन दरबार तिलौराकोटबारे उनलाई धेरै जानकारी छ। विद्यालय समयबाहेकका समयमा उनले तिलौराकोट पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई तिलौराकोटको गाइड गर्छन्। बिदाको समयमा त उनी तिलौराकोट परिसरमै भेटिन्छन्।
राहुलले तिलौराकोटमा आउने पर्यटकलाई गाइड गर्न थालेको तीन वर्ष बढी भइसक्यो। उनले नेपालीसहित ६ भाषामा तिरौराकोट बारेमा गाइड गर्नसक्ने बताए।
बुद्धले २९ वर्ष बिताएको दरबार नजिकै घर रहेका राहुललाई तिलौराकोटको विषयमा जानकारी नभएको कुरा सायदै होला। तिलौराकोटका विषयमा लेखिएका किताब पढेर र यहाँका बुढापाका तथा लुम्बिनी विकास कोषका कर्मचारीको संगतबाट गाइड गर्नसक्ने भएको उनी बताउँछन्। आफ्नो घरमा कपिलवस्तुको बारेमा लेखिएका किताबहरू प्रशस्त रहेको उनले सुनाए।
विद्यालयबाट छुट्टी भएपछि उनी तिलौराकोट गेटभित्र छिर्छन्। त्यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकलाई गाइड गर्छन्।
तिलौराकोटको पूर्वीद्वारदेखि पश्चिमीद्वारसम्मका सबै पुरातात्विक वस्तुहरूको उनलाई ज्ञान छ। तिलौराकोट उत्खनन्को सुरुआतदेखिको जानकारी उनलाई छ। त्यस क्षेत्रमा अहिले फलामका किल्ला, माटोका भाँडा र इँटाका टुक्रा, फुटेका चुरालगायत सामग्री संकलन गरिएको छ।
तिलौराकोटमा ईपू छैटौं शताब्दीमा योजनाबद्ध सहरीकरण सुरु भएको पाइएको छ। उक्त क्षेत्रको चारैतर्फ किल्ला र पर्खालले घेरिएको, उत्तरतर्फ स्तूप, दक्षिणमा औद्योगिकस्थल, पूर्वमा विहार र पश्चिममा बसोबास रहेको बताइन्छ।
यसका साथै दरबारभित्र बुद्धले नुहाउने कोठा, आराम गर्ने कक्ष कता थियो भन्ने जानकारीसमेत सहनीले पर्यटकलाई गराउँछन्। स्तूपको नजिकै थुप्रै पर्खाल, पोखरीको किनारका साथै विहारको जगमा चाँदीका ४९७ पञ्चमार्क मुद्रा पनि भेटिएको उनलाई जानकारी छ।
उनका बाआमा किसान हुन्। उनको घरमा बलियो आर्थिक स्रोत छैन। उनका भाइबहिनी पनि स्कुल पढ्छन्। सहनी गाइड गरेर पैसा कमाउँछन्। गाइड गरेको आम्दानीले परिवारमा धेरथोर मात्रामा सहयोग पुगेको उनी सुनाउँछन्।
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७