खबर आदान–प्रदान गर्न कुनै समय एकमात्र माध्यम थियो हुलाक। हुलाकलाई ‘डाँक’ पनि भनिन्थ्यो।
सूचना, खबर, समाचारका लागि मान्छे चिठी लेखेर हुलाकमार्फत नै पठाउँथे। महिनौं लाएर चिठी सम्बन्धित मान्छेकोमा पुग्थ्यो।
तर, अहिले समय फेरिएको छ। सूचना–प्रविधिको विकास भएसँगै हुलाक कामविहीन जस्तै बनेको छ।
हुलाकले ‘हुलाक बैंकिङ सेवा’ पनि सञ्चालन गरिरहेको छ। उसले आन्तरिक ट्र्याकिङ प्रणाली र छिटो सामान पुर्याउन (इएमएस) सेवासमेत चलाइरहेको छ।
जसले गर्दा हुलाक अलि बेफुर्सदिलो बनेको छ। पछिल्लो समय हुलाकले आफूलाई प्रविधिमैत्री बनाउँदै लगिरहेको छ।
जसका लागि उसले फागुन ११ गतेबाट ‘गुगल प्लस कोड’ सेवा सञ्चालनमा ल्याएको छ।
के हो गुगल प्लस कोड?
गोश्वारा हुलाक कार्यालयका प्रमुख प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार गुगल प्लस कोड भनेको गुगल म्याप जस्तै हो।
‘गुगल प्लस कोड भन्नाले अमेरिकाको बहुराष्ट्रिय प्रविधि कम्पनी गुगलले सञ्चालनमा ल्याएको गुगल म्याप्स एप्लिकेसनमा आधारित जिपिएस प्रणालीको लोकेसन कोड हो,’ उपाध्यायले आयोमेलसँग भने।
उनले गुगलमा गुगल प्लस कोड हालेपछि जिपिएसबाट त्यो व्यक्ति कुन ठाउमा छ भनेर सजिलै थाहा पाउन सकिने बताए।
‘हुलाक पनि समय अनुसार प्रविधिमैत्री भएर चल्दै जानुपर्ने हेतुले गुगल प्लस कोड सञ्चालन गरेका हौं,’ उनले भने, ‘सेवाग्राहीलाई छिटोभन्दा छिटो सामान पुर्याउन यो कोड प्रयोग गर्ने गरिन्छ।’
हुलाकमा आफूले कार्यभार सम्हालेपछि ठेगाना थाहा नपाएर, बसाइँ सरेका, फोन नम्बर परिवर्तन भएर सम्बन्धित व्यक्तिलाई सामान पार्संल गर्न नसकेको उनी बताउँछन्।
त्यसकारण धेरै पार्सल अहिले पनि अफिसमा थन्किएर बसेको उनी बताउँछन्। त्यही भएर यसरी सामान नथन्कियोस् भन्ने उद्देश्यले गुगल कोड सुरु गर्ने सोच आएको उनको भनाइ छ।
गुगल कोड प्रयोग गरेर हालसम्म एक सेवाग्राहीले सेवा लिइसकेको उनी सुनाउँछन्। यसले सामान छिटो र सम्बन्धितको हातमा पुर्याउने उनको विश्वास छ।
यो कोर्ड सेवाग्राही आफैंले गुगलमा गएर बनाउनुपर्छ। यो कसरी बनाउने भनेर एउटा भिडियो बनाएर कार्यालयको वेबसाइटमा राख्ने योजना उपाध्यायले सुनाए। एक साताभित्रै काम सकिने उनको भनाइ छ।
‘पहिलाको पार्सलमा नाम, ठेगाना, फोन नम्बर लेखिन्थ्यो। कोड सिस्टममा चाहिँ ठगानाको ठाउँमा गुगल प्लस कोड राखिन्छ,’ उनी भन्छन्।
साथै, उनले गुगल कोड पाइसकेपछि त्यो कोड घर नम्बर कार्ड जस्तै गरी बनाएर घर बाहिर टाँस्न अनुरोध गरे।
गोश्वारा हुलाक कार्यालयका शाखा अधिकृत राजाराम कार्कीले नयाँ प्रविधि प्रयोग गरेर हुलाकलाई अघि बढाउँदै जानुपर्ने बताए।
‘हुलाकबिना पहिला जीवन चल्दैन भनिन्थ्यो। त्यही कारण फिल्ममा पनि हुलाकलाई लिएर गीत बनाइएको छ। ‘चिठी आएन, चिठी आएन, मेरो मायालुको मलाई चिठी आएन...,’ उनी हुलाको महत्व सम्झिन्छन्, ‘सरकारी फाइल (कागजात), प्रेमपत्र, सुखदुःखका कुराको चिठीमार्फत हुलाकबाट हुन्थे।’
अहिले नयाँ–नयाँ प्रविधि आएर हुलाकको काम अलि कम भए पनि हुलाक नै नचाहिने भन्ने चाहिँ नभएको उनको भनाइ छ। ‘यो कहिले पनि हुँदैन,’ उनल थपे।
जुनसुकै सकल कागजात पठाउनुपर्दा, अहिले पनि हुलाकबाट नै पठाउने गरिएको उनी सुनाउँछन्।
उनले अहिले कोरोनाका कारण एक वर्षदेखि विदेशमा सामान पठाउन नसकेको दुखेसो पोखे। उनले थाई एयरवेजसँग सम्झौता खारेज गरेर अर्को वायुसेवासँग सम्झौता गरी सामान बाहिर पठाउन तयारी भएको बताए।
नेपालमा १९३५ सालमा नेपाल हुलाक घर स्थापनासँगै औपचारिकरूपमा हुलाक सेवा सुरु भएको थियो। हुलाक सेवा नेपालको सबैभन्दा पुरानो सरकारी सेवा प्रदायक संस्थामा पर्छ। यसले नागरिकलाई अनिवार्य तथा व्यावसायिक सेवा प्रदान गर्दै आएको छ। हुलाक सेवाअन्तर्गत हालसम्म ७७ जिल्लामै हुलाक कार्यालय सञ्चालनमा छन्।
प्रकाशित मिति: मंगलबार, फागुन १८, २०७७