नेकपाका महासचिव विप्लवले जनमतमा जाने आफूहरूको माग अझै कायम रहेको बताएका छन्। राष्ट्रिय सभागृहमा सरकारसँग सहमति पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
विप्लवले जनताले के चाहेका छन् यो जान्ने अधिकार एकपटक उनीहरूलाई दिनुपर्ने बताए।
‘संविधान निर्माण प्रक्रियामा आफूहरूको असहमति थियो, नेपालमा आज पनि जनता सुरक्षित छैनन्,’ उनले भने, ‘आफैंले नेतृत्व गरिरहेको अनुभूति जनतालाई भएको छैन। नेपाली जनतालाई एकपटक यो अधिकार दिनुपर्छ।’
प्रत्यक्ष ढंगबाट देशको नेतृत्व चयनकाे अधिकार जनतालाई दिनुपर्ने आफूहरूको माग अझै कायम रहेको विप्लवले बताए। देश विकासका लागि हातेमालो गरेर अघि बढ्न तयार रहे पनि विदेशीको हस्तक्षेप स्वीकार्य नहुने उनले उल्लेख गरेका छन्।
सहिदको सपना पूरा गर्ने कार्यबाट आफूहरू पछि नहट्ने उनले बताएका छन्।
प्रकाशित मिति: शुक्रबार, फागुन २१, २०७७