आजभन्दा १३ वर्षअघि अन्तर्राष्ट्रिय फुटबलमा पाइला टेक्दै गर्दा सायदै विराज महर्जनले सोचेका थिए होलान् अन्त्य यति सुखद हुन्छ भनेर।
सोमबार दशरथ रंगशालाको माहोल अर्कै थियो। कोरोना बिर्सिएर मैदान भरिने गरी दर्शकहरु उपस्थित भएर एउटै नारा लगाइरहेका थिए, ‘नेपाल...नेपाल...नेपाल...।’ त्यसैमा दर्शकको मुखबाट अर्को नाम पनि निस्किरहेको थियो ‘विराज...विराज...विराज...।’ तर, अब उनी खेलाडीका रुपमा अन्तर्राष्ट्रिय खेलमा मैदानमा देखिने छैनन्। देखिन त सक्छन्, तर खेलाडी भएर होइन, सायदै अरु कुनै भूमिकामा।
नामजस्तै विराजले पनि नेपाली फुटबलमा १३ वर्ष राज गरे। त्यो पनि सबैको मन–मुटुमा रहने गरी। नेपाली फुटबललाई एक उचाइ प्रदान गर्न पनि सफल रहे। त्यसैले त उनले सबैभन्दा बढी समय अन्तर्राष्ट्रिय खेलमा राज गरे। उनले राजु शाक्यको नाममा रहेको ६८ अन्तर्राष्ट्रिय खेलको रेकर्डलाई भंग गरेका छन्। सोमबार बंगलादेशविरुद्धको ७३ औं अन्तर्राष्ट्रिय खेल खेल्दै विराज विदा भए।
विराजले नेपाली फुटबल कप्तानका रुपमा जसरी नेपाललाई लिड गरे त्यो सह्रानीय छ। त्यसैले त उनको विदाइ पनि सुखद बन्यो, उपाधिसहित हजारौं दर्शकमाझ।
आजभन्दा १३ वर्षअघि विराज महर्जनले पोखरामा पाकिस्तानविरुद्ध सन् २००८ मा भएको अन्तर्राष्ट्रिय खेलमार्फत डेब्यु गरेका थिए। नेपाललाई अन्तर्राष्ट्रिय फुटबलमा छुट्टै उचाइमा पुर्याउने लक्ष्यकासाथ उनले फुटबलमा आफ्नो शतप्रतिशत दिइनै रहे। सन् २००९ मा उनले किर्गिस्तानविरुद्ध गरेको गोल नै अन्तर्राष्ट्रिय खेल जीवनका गरेको एकमात्र गोल हो।
३१ वर्षीय विराज कप्तानको भूमिकामा भने २०१५ को साफ च्याम्पियनसिपमा भारतविरुद्धको खेलबाट देखिए। विराजले चार वर्ष कप्तानी गरे। उनको कप्तानीमा नेपालले १८ खेल खेल्यो।
विराजको कप्तानीमा नेपालले तीन उपाधि जित्यो। बंगलादेशमा भएको बंगबन्धु गोल्डकप, १२ औं दक्षिण एसियाली खेलकुद र २०१६ मा भएको सोलिडारिटी कपको उपाधि उनले नेपाललाई दिलाए। उनले सोमबार सम्पन्न त्रिदेशीय फुटबलको उपाधि पनि उचाले। यस प्रतियोगितामा कप्तान किरण चेम्जोङ रहेपनि उनले सम्मानस्वरुप कप्तानको 'आर्मव्यान्ड' मैदान प्रवेश गर्नैलाग्दा विराजलाई दिएका थिए भने ट्रफी पनि विराजले नै उचालेका थिए।

विराजको त्यो अन्तिम ७ मिनेट...
जब, ८९ औं मिनेटमा त्रिदेव गुरुङलाई 'रिप्लेस' गर्दै विराज मैदान प्रवेश गरे, माहोल नै अर्कै बन्यो। उनी भावुक देखिन्थे भने दर्शकको मुखमा विराज...विराज...स्वरको फोहरा। उनी मैदान प्रवेश गर्नै लाग्दा कप्तानसमेत रहेका किरणले आफ्नो 'आर्मब्याण्ड' फुकालेर विराजलाई दिए। त्यो विराजप्रतिको सम्मान थियो।
जब खेल सकियो मैदान बाहिर रहेका खेलाडी र अफिसियल दौडिँदै मैदान प्रवेश गरे। जितको खुसीयाली मनाए। तर, त्यसपछिको माहोल विराजको आँशुसँगै भावुक बन्यो। विराजलाई खेलाडीले काँधमा उचाले। उनले दर्शकको माया देखेर आँशु थाम्न सकेनन्।
घरेलु मैदानमा पाएको सफलताको साक्षी बन्दै विदाइ हुनपाउनु सबै खेलाडीको भाग्यमा हुँदैन पनि। तर, नेपाली टोलीका लागि उनले दिएको योगदानको सम्मानमा भगवानले पनि यो स्वर्णीम अवसर जुराइदिएको हुनुपर्छ।
सन् २०१९ मा मलेसियाविरुद्ध मैत्रीपूर्ण खेलपछि अन्तर्राष्ट्रिय खेलमा नदेखिएका उनी यस्तै ऐतिहासिक विदाइको कल्पनामा थिए र, त्यो सत्य पनि भयो।

फुटबल मेरो भगवान
विदाइका क्रममा उनले यो क्षण कहिल्यै बिर्सन नसक्ने बताए। अन्तिम खेल उपाधिसहित दर्शकमाझ खेल्दै विदा हुनु आफ्नो जीनवको अविष्मरणीय क्षण रहने विराजले बताए। उनले आफू नेपाली फुटबलकै कारण अहिले यो स्थानमा रहेको बताए। नेपालका लागि खेल्न पाउनु नै आफ्ना लागि सबैभन्दा ठूलो उपलब्धी भएको उनी बताउँछन्।
उनी फुटबललाई आफ्नो भगवान मान्छन्। विराज भन्छन्, ‘म आफूलाई नेपालको फुटबल खेलाडी भएकोमा भाग्यमानी ठान्छु। फुटबल मेरो भगवान हो। यसैले मलाई यो स्थानमा पुर्यायो। सायद फुटबल नभएको भए विराज भनेर मलाई कसैले चिन्ने थिएन। फुटबलबाट मैले धेरै कुरा सिकेको छु। अझै कतिपय कुरा सिक्न बाँकी नै छ। नेपाली समर्थकलाई धन्यवाद र मायाँ। सधैं नेपाली फुटबललाई यसरी नै मायाँ गर्नुस्। आउने जेनेरेसनलाई पनि साथ दिनुस्।’
विराजले अन्तर्राष्ट्रिय मात्र होइन राष्ट्रियमा पनि उत्तिकै सफल रहे। उनले तीन फरक क्लबबाट शहीद स्मारक ए डिभिजन लिग जिते। यस्तो उपलब्धि हात पार्ने उनी एक सफल खेलाडी पनि हुन् घरेलु लिगमा। उनले थ्री स्टार, मनाङ मस्र्याङ्दी र मच्छिन्द्र क्लबबाट शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेर प्रमाणित गरिदिएका छन् कि उनी किन फुटबलमा राज गर्ने ‘विराज’ हुन् भनेर।
२०५७ सालमा एन्फा एकेडेमीमा जोडिएका विराज विभिन्न उमेर समूह पार गर्दै सन्याससम्म आइपुग्दा उनको योगदान र मैदानको उपस्थितिलाई आम नेपाली फुटबल समर्थकले सधैं मन–मुटुमा राखिरहनेछन्।


प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७