काठमाडौं महानगरपालिकाले सम्पदा क्षेत्रमा अनधिकृत रुपमा राखिएका पसल हटाउन माइकिङ गर्न थालेको छ। विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबारक्षेत्र आसपासका पसल हटाउन पुरातत्व विभागलाई पटक–पटक ताकेता गर्दा पनि आलटाल गरेकाले माइकिङ गरिएको महानगरपालिकाले जनाएको छ।
‘विभागलाई हामीले पटक–पटक मौखिक र लिखित रुपमा आग्रह गर्यौं, उसले ढिलासुस्ती गरेपछि हामीले बाध्य भएर सम्पदा मासेर अनधिकृत व्यापार गरिहेका व्यापार–व्यवसायीहरुलाई ती स्थान खाली गर्न आग्रहसहित माइकिङ गरेका हौँ,’ काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख धनपति सापकोटाले भने।
वारुणयन्त्र कार्यालयको उत्तरतर्फको भवन र तलेजु मन्दिर निकटको भवनमा होटल, रेष्टुराँ र सटरहरु सञ्चालित रहेको उनले जनाए। ‘आग्रहबाट आफैं हटाउन मानेनन् भने हामी हाम्रो ढंगबाट अघि बढ्छौँ,’ उनले भने।
सम्पदा बचाउने सबैभन्दा जिम्मेवार निकाय पुरातत्व रहेको र विश्व सम्पदा क्षेत्रमै पुरातत्वले सम्पदा मासेर आम्दानी गर्न थाल्दा अन्यत्र काम गर्न कठिन हुने भन्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले.निर्देशन अनुसार कारबाही अघि बढाएको सापकोटाको भनाई छ ।
‘स्थानीय बासिन्दाले समेत पटक–पटक त्यहाँको मौलिकता कायम गर्न महानगरपालिकासँग आग्रह गरेको भन्दै प्रमुखज्युले स्थानीयको समेत मागलाई ध्यानमा राखेर अघि बढ्न आग्रह गरेपछि हामीले त्यहाँ माइकिङ गर्दै खाली गर्न आग्रह गरेका हौँ,’ सापकोटाले भने, ‘स्थानीयको समेत माग सम्वोधन गर्दै महानगरपालिकाले पुरातत्वलाई दोस्रो ताकेतापत्र समेत पठाइसकेको र त्यो ताकेतालाई पनि बेवास्ता गरेपछि हामी अघि बढेका हौँ ।’
काठमाडौँ महानगरपालिकाकाले गत माघ १४ गते अनधिकृत पसल हटाइदिन आग्रह गर्दै पुरातत्वलाई पत्र पठाएको थियो। त्यसपछि महानगरले पुनः चैत ५ गते अर्को ताकेता पत्र पठाई पुरातत्वलाई स्मरण गराएको थियो।
पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले काठमाडौँ महानगरपालिकाको प्रयासलाई सकारात्मक रुपमा लिएको भन्दै सो क्षेत्र पुरातत्वको क्षेत्राधिकार भित्र पर्ने हुँदा समस्या समाधानका लागि प्रयास जारी राखेको जानकारी दिए। ‘काठमाडौँ महानगरपालिकाले पठाएको पत्र प्राप्त भएपछि हामीले प्रधानमन्त्री कार्यालय र पर्यटन मन्त्रालयलाई जानकारी गराइसकेका छौँ,’ गौतमले भने।
उनले हनुमानढोका दरबार संग्रहालय विकास समितिले हेरिरहेको र पर्यटन सचिव त्यसको प्रमुख हुने भएकाले हामीले उनीसँग समेत समन्वय गरेर आज–भोलि नै बैठक बसी तत्काल समाधानको प्रयास गर्ने तयारी रहेको जानकारी गराए।
पुरातात्विक र विश्व सम्पदा सूचीमा रहेको त्यहाँको सम्पत्तिलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा काठमाडौँ महानगरपालिकाले लिएको पहल सकारात्मक रहेको भन्दै प्रमुख शाक्यको प्रयासमा समर्थन रहेको गौतमले बताए। ‘पुरातात्विक र विश्व सम्पदा सूचीमा रहेका स्थानको संरक्षण गर्नुपर्छ भन्नेमा हाम्रो विमति छैन,’ उनले भने।
प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७