सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेको एक महिनाभन्दा बढी समय भइसकेको छ।
तर, आफैंले चालेको कदम असंवैधानिक ठहर हुँदा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले न नैतिकताका आधारमा राजीनामा दिए, न त सदनबाट विश्वासको मतै लिएका छन्।
यस अन्तरालमा वैकल्पिक सरकारका लागि प्रयत्न त भइरहेका छन् तर स्पष्ट आकार लिन सकेको देखिँदैन। कांग्रेस, माओवादी र जसपा आ–आफ्नै रणनीतिक दाउमा देखिएका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अझै ‘पर्ख र हेर’ को अवस्थामा छ। तर, नयाँ सरकारबारे सभापति शेरबहादुर देउवा र इतरसमूह परस्परविरोधी धारमा पनि देखिन्छन्।
सत्ता गणितमा निर्णायक देखिएको जसपामा पनि मत बाझिएको छ। जसपाको एउटा पक्ष अहिलेको सरकारसँग नजिक देखिन्छ भने अर्को पक्ष ओली सरकारको विकल्पमा देखिन्छ।
सत्तारुढ एमालेभित्र त अन्तरसंघर्षले चर्को रुप लिँदै गइरहेको छ। अध्यक्ष ओलीले आफू थप शक्तिशाली हुने गरी संसदीय दलको विधान संशोधन गराएका छन् भने असन्तुष्ट माधव नेपालसहित चार नेतामाथि कारबाही थालेका छन्।
संसदमा रहेका मुख्य दल आन्तरिक विवादमा रुमलिँदा संवैधानिक बाटो बाटै ‘अर्लि इलेक्सन’ मा जानुपर्छ भन्ने स्वर पनि सुनिन थालेको छ।
पछिल्लो समय गिजोलिएको नेपाली राजनीतिमा सबैको नजर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसतर्फ तेर्सिएको थियो। खास गरेर प्रतिनिधिसभा पुनःस्थापना भइसकेपछि प्रधानमन्त्री ओलीको वैकल्पिक सरकारका लागि।
फागुन ११ सम्म कांग्रेस सरकारमा जान नहुने अडान लिएर बसेका संस्थापन इतरका वरिष्ठ नेता रामचन्द्र पौडेल, गगन थापालगायतका नेताहरूको स्वर पनि फागुन १३ पछि फेरिएको छ।
र, पौडेलहरूले सरकारको नेतृत्वका लागि कांग्रेस पछि हट्न नहुने बताइरहेका छन्। प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले प्रतिगमन गरेको भन्दै वर्तमान सरकार धेरै दिन टिक्न नहुने उनीहरूको तर्क छ।
‘मुलुकमा राजनीतिक दलहरूको हालिमुहाली देखिन्छ। नेताहरूको कब्जामा देश परेको छ,’ मंगलबार एक कार्यक्रममा पौडेलले भनेका थिए,‘एक जना (महन्थ ठाकुर) यहीँ हुनुहुन्छ, एक जना (शेरबहादुर देउवा) बुढानीलकण्ठतिर हुनुहुन्छ र अर्को एक जना खै कता हुनुहुन्छ। तपाईंहरूको हातबाट लोकतन्त्रको रक्षा हुन्छ कि आपतको भूमरीमा धकेलिन्छ।’
पौडेलको प्रत्यक्ष संकेत थियो नयाँ सरकार गठनका लागि भइरहेको ढिलाइतर्फ।
वरिष्ठ नेता पौडेलले सरकार गठनका लागि अग्रसरता देखाउन दबाब दिइरहे पनि सभापति देउवा भने मौनता साँधेर बसिरहेका छन्। अन्य दलहरूसँग छलफल गरिरहे पनि सरकारको नेतृत्व गर्न खासै रूची देखाएका छैनन्, देउवाले।
सरकार गठनका लागि जाँगर नदेखाएपछि उनीमाथि प्रधानमन्त्री ओलीलाई सहयोग गरिरहेको आरोपसमेत लाग्न थालेको छ।
किन चुप छन् सत्ताका खेलाडी देउवा?
सत्ताका माहिर खेलाडी मानिने देउवा यसपटक प्रधानमन्त्री बन्ने अवसर घरैसम्म पुगिसक्दा पनि खासै लालायित देखिएका छैनन्। मौन प्रायः छन्। प्रधानमन्त्रीको दौडमा देउवा लगभग देखिएका छैनन्। उनको यो‘रहस्यमयी’ मौनताले सबैलाई आश्चर्यचकित बनाएको छ।
सभापति देउवाले आफैं पनि विभिन्न फोरमहरूमा प्रधानमन्त्रीको दौडमा नरहेको बताउँदै आइरहेका छन्।
‘कांग्रेस प्रतिपक्ष हो, सरकारमा जाँदैन, बाहिरै बस्छ, सरकारविरुद्ध अविश्वास प्रस्ताव पनि ल्याउँदैन’ केही दिनअघि विराटनगर विमानस्थलमा देउवाले पत्रकाररूसँग भनेका थिए।
‘रेस’ बाट बाहिरै नभए पनि प्रधानमन्त्रीका लागि मुलुकको राजनीति नै उथलपुथल गर्ने चाहना देउवाको रहेको उनी निकट एक नेताले बताए।
‘मुलुकमा संकट आइपरे निकास दिनबाट कांग्रेस पछि हट्दैन सभापतिज्यूले भनिरहनु भएको छ,’ ती नेताले भने,‘तर, जहाँसम्म सरकारको नेतृत्व गर्ने कुरा हो त्यसका लागि सबै दलको सहमति जरूरी हुन्छ। त्यो अवस्था बनिसकेको छैन।’
अवसर पाए प्रधानमन्त्रीका लागि पछाडि नहट्ने भनेर देउवाले नेपाली राजनीतिमा छवि बनाएका छन्। विगतको इतिहास केलाउँदा पनि लगभग त्यस्तै देखिन्छ।
तर, यसपटक आफ्नो त्यो धुमील छविलाई चोख्याउन पनि सभापति देउवा प्रधानमन्त्रीको रेसबाट आफूलाई बाहिर राख्न खाजेको उनी निकट नेताहरूको भनाइ छ।
संसदको अंकगणितबाट तर्सिएका देउवा
कांग्रेसकै कतिपय नेताहरू वैकल्पिक सरकारका लागि अहिले परिपक्व स्थिति बनिसकेको बताउने गरेका छन्। र, त्यो परिपक्व स्थिति सरकार गठनको गणितसँग जोडिएको छ।
नेकपा नाम विवादसम्बन्धी सर्वोच्चको फैसलाले एमाले र माओवादी केन्द्रलाई साविकको अवस्थामा फर्काइ दिएपछि प्रतिनिधिसभा विघटन भएयता प्रधानमन्त्री ओलीविरुद्ध होमिएका प्रचण्ड सरकारको विकल्प खोज्न थप हौसिएका छन्।
कांग्रेसलाई विश्वासमा लिन सकिए ओली सरकारको विकल्प तयार हुनसक्ने प्रचण्डको बुझाइ छ। र, यसै सिलसिलामा उनले मंगलबार सभापति देउवासँग छलफल पनि गरे।
तर, सभापति देउवाले माओवादी केन्द्र र जसपाको स्पष्ट धारणा नआएसम्म सरकारमा जाने कुरा नगर्ने माओवादी अध्यक्ष प्रचण्डलाई बताए। सरकार गठनका लागि ढुक्क हुनसक्ने अवस्था बनि नसकेको देउवाको बुझाइ छ।
‘अदालतको आदेश पुनरावलोकन दर्ता गराएर सरकार गठनका लागि कुरा गरिरहनु भएको छ, अर्कोतर्फ जसपाले कार्यदल नै बनाएर प्रधानमन्त्रीसँग निरन्तर संवाद गरिरहेको छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आयोमेलसँग भने,‘कसरी ढुक्क हुने? ढुक्क हुने अवस्था नबनेसम्म सरकारमा जाने कुरा कसरी हुन्छ?’
प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन्। जसमध्ये दुई जना निलम्बनमा परिसकेकाले ६१ सांसदमात्र संसदीय प्रक्रियामा भाग लिन पाउने छन्। यसैगरी ३४ सांसद रहेको जसपाका दुई सांसद निलम्बित छन्।
यता, माओवादी केन्द्रका ५३ सांसदमध्ये केही सांसद प्रधानमन्त्री ओलीसँग मिलेर सरकारमा मन्त्री बनिसकेका छन्।
प्रतिनिधिसभामा हाल कायम रहेको संख्या अनुसार सरकार गठनका लागि बहुमत पुर्याउन १३६ सांसदको समर्थन चाहिन्छ। तीन वटै दलबीच सहमति बने सरकार गठनका लागि आवश्यक बहुमत नजिकको संख्या पुग्ने अवस्था पनि बन्छ।
तर, ठ्याक्कै बहुमत नजिकको सरकारको नेतृत्व देउवाले गर्न चाहेका छैनन्।
‘तीन दलबीच सहमति बनेको अवस्थामा बहुमतका लागि चाहिने संख्या भन्दा २/४ सिट बढी हुने देखिन्छ,’ देउवा निकट ती नेता भन्छन्,‘भोलि गएर ४÷५ जनाले हात झिक्ने हो भने सरकार ढल्ने अवस्था आउँछ। यस्तो ढुलमुले सरकार बनाउनुको के अर्थ हुन्छ र?’
अर्कोतर्फ ओलीको विकल्पमा सरकार दिने विषयमा जसपा पनि विभाजित छ। जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको झुकाव ओलीप्रति देखिएको छ। संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव ठीक विपरीत देखिएका छन्। भट्टराई र यादव कांग्रेस–माओवादीसँग गठबन्धन गरेर ओलीको विकल्प खोज्नुपर्ने अडानमा छन्।
सरकार गठनबारे जसपाभित्रै एकरूपता हुन नसकेपछि कांग्रेस सभापति देउवा नेतृत्वका लागि झस्किरहेका छन्। अविश्वासको प्रस्ताव लगेको अवस्थामा जसपाबाटै एकमुस्ट मत नआउने हो कि आशंका कांग्रेसले गरेको छ।
ओलीको विकल्पमा नयाँ सरकार बनाउनै पर्ने अवस्थाका लागि कांग्रेसले माओवादी केन्द्र र जसपाबाट ठोस प्रतिवद्धता खोजिरहेको प्रवक्ता शर्मा बताउँछन्।
प्रकाशित मिति: बुधबार, चैत १८, २०७७