नेपाल उद्योग वाणिज्य महासंघ र डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालबीच लघु, घरेलु, साना तथा मझौला उद्यम (एसएमई) का वित्तीय कर्जालगायतको सेवा प्रवाहमा सहजीकरण गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ।
महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र उपाध्यक्ष अञ्जन श्रेष्ठ, एसोसिएसनका प्रथम उपाध्यक्ष प्रद्युम्मनन पोखरेलको उपस्थितिमा महासंघ उपाध्यक्ष दिनेश श्रेष्ठ र एसोसिएसनका अध्यक्ष गोविन्दप्रसाद ढकालले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
दुवै संस्थाबीच भएको समझदारीअनुसार एसोसिएसनका सदस्य विकास बैंकहरूलाई लघु, घरेलु साना तथा मझौला उद्योगहरूको मागअनुसार सरल एवं सहज कर्जा प्रवाह गर्न सहजीकरण गर्ने, व्यवसायीलाई कर्जा शिक्षा, बचत र लगानीका फाइदा, कर्जा प्रक्रिया, कर तथा बजार व्यवस्थापनसम्बन्धी जानकारी दिन कार्यक्रम गर्ने, उत्पादनमूलक व्यवसाय र रोजगारी सिर्जना गर्ने व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्ने किसिमका कार्यक्रम गर्ने, उपयुक्त वित्तीय सेवा छनोट र प्रयोग गर्र्नसक्ने क्षमता विकास गराउने र भविष्यमा आउन सक्ने जोखिमका लागि तयारी वा योजना बनाउन सक्ने ज्ञान र सीप प्रदान गर्ने, कृषि कर्जा, महिला उद्यमी कर्जा, लघु, घरेलु, साना तथा मझौला उद्योगलाई प्रवाह गरिने कर्जालाई प्राथमिकतामा राखी प्रविधिमैत्री बनाउने र त्यसका लागि उचित तालिमको व्यवस्था मिलाइने छ।
समझदारीपत्र हस्ताक्षर कार्यक्रममा महासंघका उपाध्यक्ष श्रेष्ठले एसएमईले विशेष गरी ऋणको सहज पहु“चमा भोग्दै आएको समस्या यो प्रयासले सम्बोधन गर्ने बताए। मुलुकभित्रको कूल रोजगारीमा करिब ९५ प्रतिशत योगदान एसएमईहरूकै भएकाले यो समझदारीले एसमएमईहरू फस्टाउन सहयोग पुग्ने उनको भनाइ थियो।
महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डिबी वस्नेतले यो प्रयासबाट साना तथा मझौला उद्योग व्यवसायले ठूलो राहत महसुस गर्ने र यसबाट मुलुकभित्र एसएमईको विकासमा कासेढुंगा हुने विश्वास व्यक्त गरे।
डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष ढकालले लघु, घरेलु साना तथा मझौला व्यवसाय प्रवद्र्धन एवं संरक्षणका लागि वित्तीय कर्जालगायत सेवा प्रवाहमा सहजीकरण गराउने उद्देश्यले दुई संस्थाबीच भएको सहकार्यलाई परिणाममुखी बनाउने प्रतिबद्धता जनाए।
प्रकाशित मिति: सोमबार, चैत २३, २०७७