भक्तपुरको टोलटोलमा हुने स्थानीय जात्राहरु नरोकिने भएको छ। भक्तपुरको प्रसिद्ध विस्का जात्रा सञ्चालनसम्बन्धी सरोकारवालाहरूसँगको सोमबारको बैठकले यस्तो निर्णय गरेको हो।
भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले जात्रा अवधिभर भीड जम्मा नगर्न तथा आवश्यक स्वास्थ्य मापदण्ड अपनाउन नगरपालिकाले जनचेतनामूलक गतिविधि गर्ने बताए। विस्काका क्रममा टोलटोलमा मनाइने विभिन्न जात्रामा भीडभाड कम गर्न स्वयम्सेवक परिचालन गर्ने तथा जनताको घरदैलोमा साबुन, मास्क वितरण गर्नेलगायतका तयारीहरू रहेको उनले बताए।
जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रजिअ मुकेशकुमार केशरीले मानव जीवन रक्षा नै प्रमुख कारण भएकाले यस वर्षको विस्का जात्रा सामान्य पूजाआजामा सीमित गर्ने निर्णय भएको बताए। केशरीले कोभिड संक्रमण जोखिमका कारण जात्राहरूमा भीडभाड हुने कार्य नगरिदिन आग्रह गरे।
बैठकमा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक तारादेवी थापाले सदियौंदेखि चलिआएको जात्रा र परम्पराहरूको विशेष महत्व हुने बताउँदै सन्तुलित ढंगबाट नजिकिँदै गरेको विस्का जात्रा सम्पन्न गर्न सबैको सहकार्य आवश्यक भएको बताइन्।
त्यस्तै गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख आनन्दप्रसाद कर्माचार्यले संस्थानले बिस्केट जात्रासँग सम्बन्धित सम्पूर्ण दायित्व पूरा गरेको बताए। जात्राको समयमा कुनै पनि किसिमको लापरबाही गर्न नहुने उनी बताउँछन्।
साथै बिस्केट जात्रासँग सम्बन्धित इन्द्रायणी, बाराही, ज्याथा गणेश, भैरवनाथ, ब्रम्हायणी, माहेश्वरी, कुटी प्वाक गणेशलगायतका सरोकारवालाहरूले यस वर्षको बिस्केट र बिस्केटसँग सम्बन्धित स्थानीय जात्राहरू शान्तिपूर्ण, व्यवस्थित र सुरक्षित ढंगले सञ्चालन गर्ने विषयमा आ–आफ्नो राय–सुझावहरू दिएका थिए।
बिस्केट जात्रा सञ्चालन विषयमा भक्तपुर नगरपालिका प्रकोप व्यवस्थापन समितिको चैत्र १७ र १९ गतेको बैठकले जात्रासँग सम्बन्धित सरोकारवाला विभिन्न पक्षसँग राय सुझाव लिई निर्णय गरेअनुसार २०७७ चैत्र २३ गते सरोकारवाला सबै पक्षबीचको छलफलले यस्तो निर्णय गरेको थियोः
१) बैठकले जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (डीसीसीएमसी) भक्तपुरको चैत २२ गते बसेको बैठकले यस वर्षको बिस्केट जात्रामा पुजारीलाई मात्र राखेर पुजा गर्ने तथा रथ तान्ने र लिंगो ठड्याउने जात्रा गत वर्ष जस्तै यस वर्ष पनि नगर्ने भन्ने निर्णय गरिसेकेकाले ऐतिहासिक एवं सांस्कृतिक महत्वको भक्तपुरको प्रमुख बिस्केट जात्रासग सम्बन्धित टोलटोलमा हुने जात्राहरूलाई स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी सामान्य रुपमा सञ्चालन गर्न सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूलाई अनुरोध गर्ने निर्णय गर्यो ।
२) कोभिड १९ रोकथाम र नियन्त्रणका लागि भक्तपुर नगरवासीहरूको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी भक्तपुर नगरपालिकाले स्वास्थ्य सुरक्षासम्बन्धी सामग्री घर–घरमा गई वितरण गर्ने र जनचेतनामूलक माइकिङ, पर्चा वितरण तथा सूचना प्रकाशन गर्ने निर्णय बैठकले गर्यो।
३) बैठकले यस वर्षको बिस्केट जात्रा अवधिभर भक्तपुर नगरक्षेत्रमा कुनै किसिमको हुलहुज्जत हुन नदिई शान्तिपूर्ण तरिकाले सामान्य रुपमा जात्रा सम्पन्न गर्न सुरक्षा एवम् आवश्यक बन्दोबस्त जिल्ला प्रशासन कार्यालय, भक्तपुरलगायत जिल्लाका सबै सुरक्षा निकायले गर्ने निर्णय गर्यो।
४) बिस्केट जात्रासग सम्बन्धित जात्रा व्यवस्थापनको लागि गुठी संस्थान, भक्तपुरले आवश्यक सहयोग गर्ने निर्णय पनि सोही बैठकले गरेको थियो।
प्रकाशित मिति: सोमबार, चैत २३, २०७७