गायिका सोना अमात्यको ‘मेरो माया करोडमा’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। सोनाको स्वरसँगै अभिनयसमेत रहेको गीतको भिडियो नेपाल उद्योग वाणिज्य महासंघकी निवर्तमान अध्यक्ष भवानी राणोका उपस्थितिमा सार्वजनिक गरिएको थियो।
दीपक शर्माको शब्द र संगीत रहेको गीतमा सोनासँगै सुगम पोखरेलको स्वर छ। एड एजेन्सी फुल सर्कलकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) समेत रहेकी सोनाले ‘मेरो माया’ एल्बमअन्तर्गतको सिंगल गीत सार्वजनिक गरेकी हुन्। ‘गीतमा न्याय गर्ने कोसिस गरेकी छु,’ उनले भनिन्।
उनीसँगै भिडियोमा अभिनय गरेका सागर लम्साल ‘बले’ ले पनि काम गर्न निकै सहज भएको बताए। उनले पहिलो सहकार्य भए पनि नयाँजस्तो नलागेको प्रतिक्रिया दिए।
‘भिडियोको रिहल्सलमा केही नर्भस थिएँ, यद्दपि छायांकनमा भने काम राम्रो हुन्छ भन्नेमा विश्वस्त भइसकेको थिए। हाम्रो मेहनतले गीत राम्रो बने जस्तो लागेको छ,’ उनले भने, ‘सोनाजीसँग काम गर्दा निकै रमाइलो भयो।’
लम्सालले गीतमा माया निस्वार्थ हुन्छ भन्ने भाव देखाइएको बताए। सोनाले पनि टिमले राम्रो काम गरेको बताइन्। उनले को–स्टार लम्सालसँगै भिडियो निर्देशक गम्भीर विष्टले निकै सहज वातावरण सिर्जना गरेको बताइन्। ‘गायन र नृत्यसँगै अभिनय पनि छ। यो सम्पूर्ण टिमका कारण सम्भव भएको हो,’ सोनाले भनिन्।
उद्योग वाणिज्य महासंघकी निवर्तमान अध्यक्ष राणाले पनि सोनाको गायन र अभिनयको प्रशंसा गरिन्।
‘उहाँले गायन र अभिनयमार्फत आफ्नो कामलाई न्याय गर्नुभएको छ। आगामी दिनमा अझै सफलताको शुभकामना दिन चाहन्छु,’ राणाले भनिन्।
भिडियोमा लम्साल र सोनासँगै गोविन्दसिंह विष्टको पनि अभिनय छ। भिडियोमा शुभम भुजेलको कोरियोग्राफी, बुद्ध थापाको छायांकन, नविन निरौलाको कलर र सम्पादन, दीपक आचार्यको भिडियो कन्सेप्ट छ।
गीत सार्वजनिक कार्यक्रममा टिकटक च्यालेन्ज पनि घोषणा गरिएको छ। सार्वजनिक गीतको उत्कृष्ट टिकटक बनाउनेमध्ये तेस्रोलाई १० हजार, दोस्रोलाई २० हजार नगदसँगै मोबाइल फोन र पहिलो हुनेलाई ५० हजार नगदसँगै मोबाइल फोन दिइने घोषणा गरिएको छ। यो पुरस्कार वितरण सोनाकै तीन सातापछि सार्वजनिक हुने नयाँ गीतको कार्यक्रममा गरिने छ।
प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७