कैलालीको धनगढी माइत भएकी एक भारतीय महिला भदौ ९ गते बिहान गौरिफण्टा नाका हुँदै नेपाल भित्रिइन्। भारतीय नागरिकसँग विवाह गरेकी ती महिलासँग उनका श्रीमान र छोरी पनि थिए।
कोरोना भाइरसको संक्रमण बढिरहेका बेला सरकारले अन्तर्राष्ट्रिय सीमामा आवतजावत रोक लगाएको छ भने भारतमा रहेको नेपालीले पनि अत्यावश्यक कामले स्वदेश फर्किए क्वारेन्टाइनमा राख्ने गरिन्छ।
यसरी सीमावारपार अवैध आवतजावत नगर्न र अवैध रुपमा आएकालाई घरमा नराख्न समेत सरकारले निर्देशन जारी गरिसकेको छ।
तर धनगढी उपमहानगरपालिका–३ का वडा अध्यक्ष बलबहादुर ऐरले उनीहरुलाई धनगढी ल्याएका थिए। धनगढीकै क्षेत्रीय रंगशालामा रहेको क्वारेण्टाइनमा ल्याएर उनीहरुलाई राखियो।
तर स्थानीय प्रशासनले ती भारतीय नागरिकलाई उनकै देश पठाउन निर्देशन दियो। क्वारेण्टाइनमा रहेकी ती महिला र उनका श्रीमानलाई प्रहरीले भारत पठाउन खोज्दा
वडा अध्यक्ष ऐर विरोधमा उत्रिए। उनी पनि परे।
तर ऐरको तर्क भने यस्तो छ। ‘दिउँसो मेरै रोहबरमा ल्याइएको थियो। राति फेरि नाकामै लगेर अलपत्र छोड्न थालिएपछि मैले विरोध गरेको थिए, प्रहरीले मलाई नै पक्राउ गर्यो,’ उनले भने, ‘राति नफर्काएर अर्को दिन बिहान फर्काउन प्रहरीसँग आग्रह गरेको थिए। तर राति नै उनीहरुलाई सीमामा अलपत्र छोडियो। ऐर रिहा भइसकेका छन्। अहिले २ हजारभन्दा बढी भारतीय धनगढी भित्रिएको उनको दाबी छ।
यो समस्या पश्चिम नेपाल होइन प्रदेश २ को जनकपुरधामसँग सीमा जोडिएको क्षेत्रमा पनि छ। महोत्तरीको जलेश्वर नगरपालिकास्थित मलिबाडा नाकामा बिहानैदेखि मानिसको भीड हुन्छ। कतिपय व्यक्ति भारतबाट दैनिक उपभोग्य सामग्री खरिद गर्न पुगेका हुन्छन् भने कतिपयलाई भारततिर जानुपर्ने हतारो हुन्छ।
दशगजा वरै सडकमा तारको जाली ओछ्याइएको छ। सडकमा तारको जाली हेरेपछि नाकाबाट आवतजावत बन्द रहेको जस्तो देखिन्छ। तर, वास्तविकता भिन्न छ। मानिसको आवत–जावत बन्दजस्तो देखिएपनि नाका कट्नभने धेरै कठिन छैन्, त्यहाँ ।
मुख्य नाकाभन्दा केही मिटरको दूरीमा खेत र आलीको हुँदै दुबैतर्फका मानिसहरु सहजै आवत–जावत गरिरहेका हुन्छन्। दुबैतर्फको सुरक्षाकर्मी नाकामा तैनात हुन्छन्। देखेपनि नदेखे जस्तो गर्छन्, सुरक्षाकर्मी। र, आवत–जावत गर्नेहरू नाका कट्छन्।
महोत्तरीको मुख्य नाका मलिवाडामा मात्र होइन् धनुषासहित प्रदेश २ का प्रायः सबै नाकाको यस्तै अवस्था छ। धनुषाको जटही, खजुरी, महिनाथपुरलगायतका नाकामा पनि मानिसको सहज आवत छ। मुख्य नाकामा कडाइ भएपनि वैकल्पिक बाटो खुला भएपछि तस्करको व्यवसाय पनि मौलाएको छ।
दैनिक उपभोग्य सामग्रीसहित पान मसाला, गुटखा, रजनीगन्धालगायतका सामग्री पारी भारतीय बजारमा खरिद गरेर नेपाली बजारसम्म पुर्याउन तस्कर सक्रिय भएका छन्।
सरकारले नाका सिल गरेर कडाइ गर्ने निर्णय गरेको छ। तर, सरकारको त्यो निर्णय अहिले घोषणामा मात्र सीमित भएको छ। नाकामा कडाइ हुननसकेपछि कोरोना संक्रमणको थप जोखिम बढेको छ, अहिले।
सुरक्षाकर्मीको लापरवाही
सुरक्षाकर्मी लापरवाही भएपछि सीमामारीको बजार र गाउँघरसम्म मानिसको खलेयाम ओहोरदोहोरको क्रम वृद्धि भएको छ। संक्रमित भएर भारतबाट फर्केकाका कारण प्रदेश २ का जिल्लामा समुदायस्तरमै महामारी फैलिए पनि सीमामा खटिएका सुरक्षाकर्मीको काम भने फितलो देखिएको छ।
यसअघि भारतबाट फर्कनेलाई अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने रहेको व्यवस्था हटाइएपछि संक्रमणको जोखिम बढ्दै गएको स्थानीय बताउँछन्। ‘केही दिनअघिसम्म पारीबाट आएका क्वारेन्टाइनमा बस्नुपर्दा जोखिम कम थियो। तर, अहिले सोझै घरसम्म पुग्ने भएकोले त्रास बढेको छ,’ धनुषाको नाकासँगै टासिएको नगराईन नगरपालिका बस्ने मनोज कर्ण बताउँछन्।
बाक्लो जनघनत्व रहेको प्रदेश २ को आठवटै जिल्ला भारतीय सीमासँग जोडिएका छन्। समुदायस्तरमा कोरोना संक्रमण फैलिइसके पनि भारतीय बजार र गाउँघरमा आउने जानेको क्रम रोकिनुपर्ने स्थानमै उल्टै बढेर गएको छ।
भारतीय सीमासँग जोडिएका प्रदेश २ को ४ सय ६४ किलोमिटर सीमामा कडाइ गर्न ६ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिएको छ। केहीदिनअघिसम्म मुख्य नाकाबाहेक चोर बाटोमा समेत गस्ती गर्ने सशस्त्र प्रहरी अहिले देखिन छोडिएको छ। बाढीका कारण हटाइएका अस्थायी पोस्ट अहिले बोर्डर आउटपोस्टमा सीमित भएको छ। मुख्य नाकामा कडा निगरानी रहेपनि अन्य ठाउँमा सुरक्षाकर्मीको उपस्थिति नहुँदा चोर बाटो भएर मानिसको आवतजावत बढेको हो।
प्रदेश २ का सशस्त्र प्रहरी प्रमुख कृष्णभक्त ब्रहम्चार्य यसअघि भारतले नाका सुरक्षार्थ खटाएको एसएसबीको टोली हटाइसकेको बताउँदै नेपालको तर्फबाट मात्र निगरानी भइरहेको जनाए। ‘भारतीय एसएसबी अहिले सबै ठाउँमा खटिएका छैनन्, हाम्रो एकतर्फी निगरानी मात्रै भइरहेको छ,’ उनले भने, ‘एकतर्फी निगरानी मात्र भएपछि थोरै समस्या भएको हो।’ यद्यपि सम्भव भएसम्म पैदल र साइकलमा सशस्त्र प्रहरीको टोली खटाएर नाकामा निगरानी गर्ने काम भइरहेको उनले बताए।
सीमामा आवतजावत रोक्न धनगढीमा पनि सशस्त्र प्रहरीको स्थायी क्याम्प नै निर्माण गरिएको छ। तर सीमामा आवतजावत रोकिएको छैन न त प्रशासनले व्यवस्थित नै बनाउन सकेको छ।
धनगढी–३ का स्थानीय सुन्दर धामी सीमा बन्द हुँदा पनि भारतीय नागरिक आइरहेकोमा प्रहरीमाथि शंका गर्छन्। टोलमा निषेधाज्ञा भइसक्दा पनि कयों भारतीय आएको उनको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्ट खुला सीमाबाट घुसपैठ भएको हुनसक्ने भए पनि उनीहरुलाई प्रहरीले नभित्र्याएको दाबी गर्छन्।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले कुनै पनि भारतीय नागरिक नेपाल भित्रिन नपाउन भनेर सीमामा सुरक्षा व्यवस्था कडाई गरिएको बताए।
‘सुरक्षा व्यवस्था नभएको स्थानमा थप सशस्त्र प्रहरी परिचालन गरिएको छ,’ जोशीले भने, ‘कहि कतै घुसपैठ हुने ठाउँ छैन।’ उनले मालबाहक सवारीमा कार्यरत भएको भन्दै नेपाल प्रवेश गर्न खोज्ने दुई सय बढी भारतीय नागरिकलाई सीमाबाटै फर्काइएको बताए।
२ गत वर्ष चैत ११ पछि सीमावर्ती क्षेत्रका विभिन्न नाकाबाट सुदूरपश्चिममा १ लाख ६३ हजार ८ सय नागरिक फर्किएका छन्।
नाकामा कडाइ नगरेर सहरी क्षेत्रमा निषधाज्ञामात्र लगाएर कोरोना संक्रमण रोकथाम गर्न नसकिने विज्ञहरू बताउँछन्। संक्रमण रोकथाम गर्न निषेधाज्ञा र लकडाउनमात्र विकल्प नरहेकोले नाका कडाइतर्फ तीन तहको सरकारले ध्यान पुर्याउनुपर्ने डा. अजय झा बताउँछन्।
नाकामा कडाइ गरेर परीक्षणको दायरा नबढाएसम्म महामारी फैलिनबाट रोक्न नसकिने डा.झाले बताए। ‘नाका कडाइ गर्नतर्फ तीनवटै तहको सरकारले ध्यान दिनु पर्यो, जनघनत्व बढी भएकोले समुदायस्तरमा संक्रमण फैलिएको छ,’ उनी भन्छन्,‘संक्रमण रोक्न परीक्षणको दायरा बढेर बढिभन्दा बढीको जाँच गर्नु अहिले जरुरी देखिएको छ।’
वीरगन्ज नाकामा कडाइ
कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले चैत महिनादेखि अन्तर्राष्ट्रिय सीमा सिल गरेको छ। लकडाउन, निषेधाज्ञा जारी भएसँगै नेपालको भारतसँगको सीमा सिल भए पनि खुला सीमाबाट आवतजावत रोकिएको छैन।
प्रदेश २ मा भारतसँग जोडिएको दक्षिणी सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। लकडाउन, निषेधाज्ञाको सबैभन्दा प्रमुख चुनौति नेपाल–भारतको खुला सीमा भएकोले सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा नेपाली सेनाले परिचालन गरि सुरक्षा व्यवस्था कडा गरिएको थियो। लकडाउन खुकुलो भएपछि पर्साका नाकाहरुबाट आवतजावत हुन्थाल्यो।
लकडाउन खुकुलो भएकोका बेला वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा सञ्चालित उद्योगीहरुमा भारतबाट श्रमिक पुनः काममा आउँदा कोरोना संक्रमण बढेको थियो। बारा र पर्सा प्रशासनसँगै उद्योगीहरूले मौखिक सहमतिमा बाहिरबाट थप श्रमिक नल्याउने, काममा खटिएकालाई बाहिर जान नदिने, गाँसबासको व्यवस्था भित्रै गर्ने सहमति गरेपछि भारतबाट आउने घटेका छन्।
पर्सा जिल्लामा सशस्त्र प्रहरीको जनशक्ति थप गरिएको छ। नाकामा हरेक २ किलोमिटरको दूरीमा प्रहरी खटाइएको छ।
निषेधाज्ञा भए पनि रातिको समयमा आवतजावत बढेपछि जिल्लाका नाकामा थप कडाई गरिएको सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले बताए। भारतसँग जोडिएको पर्साको विभिन्न गाउँका सीमा नाकामा विगतको तुलनमा नाका कडाई गरिएको उनले बताए।
खड्काका अनुसार सीमा नाकामा मात्रै ५२ वटा चेक प्वाइन्ट थिपिएको छ भने ९ वटा मोबाइल गस्ती छ।
नेपालाको प्रमुख नाकाको रुपमा रहेका वीरगन्ज नाकामा कडाइ गरिएको छ। भारतको बिहारसँग खुल्ला सीमा जोडिएको वीरगन्जको नाका हुँदै भारतबाट आवतजावत हुने गरेकामो अहिले बन्द गरिएको छ।
तर, ग्रामीण क्षेत्रबाट लुकिछिपी आउने क्रम रोकिएको छैन। । अहिले खेतीपातीका समय भए पनि निषेधाज्ञा छ। बीउमलका लागि भारतीय बजार जानुपर्ने भएकाले पनि ग्रामीण क्षेत्रबाट आतवतजावत भइरहेको हो।
भारत जाने विद्यार्थीलाई पास
लकडाउनको क्रममा नेपाल फिर्ता आएका विद्यार्थी पुनः अध्ययनका लागि वीरगन्ज भएर भारत जान जिल्ला प्रशासन कार्यालय पर्साले पास वितरण गरिरहेको छ।
भारतका क्याम्पसमा अध्ययनरत पर्साका विद्यार्थीलाई परीक्षा दिइन थालिएको हो।
जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गर्दै भारतका विभिन्न कलेज तथा विश्व विद्यालयमा अध्ययनरत विद्यार्थीलाई परिक्षा दिन अनुमतिका लागि विभिन्न कागजातसहित कार्यालयमा उपस्थित हुन् आग्रह गरेको छ।
प्रशासनले विद्यार्थीलाई परीक्षाको किसिम, मिति, कलेजको नाम, ठेगाना र कुन नाकाबाट भएर भारत जानेलगायतको विवरण खुल्ने गरी लेखिएको निवेदन लिएर सम्पूर्ण गर्न आग्रह गरेको हो।
त्यसैगरी, परीक्षा हुने सम्बन्धी सूचना र प्रवेशपत्र, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि र परिचय खुल्ने प्रमाण पत्रसमेत लिएर जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।
प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७