कोरोनाको संकटका कारण नेपालमा सामाजिक सञ्जाल, इन्टरनेट वा डिजिटल प्लेटफर्म मार्फत व्यापार व्यवसाय बढ्न थालेको छ।
तर, यो संकटमा साना तथा मझौला व्यवसाय झनझन संकटमा पर्न थालेका छन्।
अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) र विश्व बैंकले सन् २०२० मे २५ देखि जुन १० सम्म गरेको सर्वेक्षण अनुसार नेपालमा २० प्रतिशत व्यवसायीले इन्टरनेट, समाजिक सञ्जाल वा डिजिटल प्लेटर्पmममार्फत् व्यापार थालेका वा गरिरहेका छन्।
यो तथ्य ‘कोभिड–१९ नेपाल विजनेश प्लस’ सर्वेक्षणमा उल्लेख गरिएको छ।
सर्वेक्षणले महामारीका कारण नेपालका आधाभन्दा बढी साना तथा मझौला व्यवसाय एक महिनाभित्र बन्द हुनसक्ने खतरा औंल्याएको छ।
सातवटै प्रदेशका ५ सय ४० भन्दाबढी साना तथा मझौला व्यवसायीसँग गरेको सर्वेका आधारमा यो तथ्यांक निकालिएको हो, जसमा ८० प्रतिशत व्यवसायको बिक्री घटेको पाइएको छ।
घाटा बढेपछि कतिपय व्यवसायीले कर्मचारीलाई बेतलबी विदामा राखेका छन् भने कयौंले काम गर्ने समय र तलब कटौती गरेका छन्।
‘कोभिड–१९ ले गर्दा साना तथा मझौैला उद्योगमा गम्भीर भार परेको छ,’ आइएफसीका दक्षिण एसिया म्यानेजर रोल्फ ब्रिहन्थले भने, ‘यी व्यवसायले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्छन्। तर, खरिद–बिक्री ओरालो लागेको अवस्थामा न्यून राजस्वको सामना गर्न विभिन्न उपाय रोज्नुपर्छ ताकि रोजगारदाता पछिसम्म टिकिरहन सकुन्।’
सर्वे अनुसार ४५ प्रतिशत फर्मले कर्मचारीलाई बिदा दिएका थिए भने २७ प्रतिशतले कामको समयावधि घटाएका थिए। त्यस्तै, १२ प्रतिशतलाई बेतली बिदामा राखिएको थियो।
‘महामारीले नेपालको अर्थतन्त्रलाई ठूलो क्षति पु¥याएको छ। सबै आकारका उद्योग कुनै हालतमा पनि राजस्व दिन सक्ने अवस्थामा छैनन्।
गत वर्ष भन्दा यो वर्ष ८३ प्रतिशतले व्यापार कम भएको छ,’ आइएफसीका नेपाल, भुटान र बंगलादेश कन्ट्री म्यानेजर वेन्डी वर्नरले भने। साना उद्योगले नेपालको अर्थतन्त्रमा महत्वपूण भूमिका खेलेको उनको भनाइ छ।
नेपालको कुल गार्हस्थ उत्पादनमा साना तथा मझौला उद्योगको योगदान २२ प्रतिशत छ भने १७ लाखलाई रोजगारी दिएको छ। यो गत वर्षको तथ्यांक हो।
प्रकाशित मिति: शनिबार, असोज १०, २०७७