लामो समयदेखि भारतीय चिनी आयातमा रोक लगाउन नेपाली व्यवसायीले माग गर्दै आए पनि सरकार हिच्किचाइरहेको थियो।
तर, यसपालि भने कोरोना संक्रमण नियन्त्रण गर्न बाध्य भएर सरकारले नै अन्तर्राष्ट्रिय सिमानाका बन्द ग¥यो। सीमा बन्दा हुँदा नेपाली चिनी उद्योगीलाई भने हौसला मिलेको छ।
‘लकडाउन’ का कारण भारतीय चिनी आयात हुन नपाउँदा यो वर्ष मुलुकमा उत्पादित चिनीले बजार पाएपछि व्यवसायी हौसिएका छन्। र, उनिहरूले अब भारतबाट आयात हुने चिनी सधैंका लागि बन्द गर्न माग गरेका छन्।
अन्य वर्ष यता उत्पादित चिनी कात्तिक–मंसिरसम्म बिक्री हुन्थेन। तर, यसपालि भारतबाट चिनी आयात हुन नपाउँदा नेपाली चिनी गएको असारमै खपत भएको उत्पादक बताउँछन्।
‘भारतीय चिनी नेपालीभन्दा कम मूल्यमा आयात हुने र त्योसँग प्रतिस्पर्धा गर्न नसक्दा बिक्री नहुने समस्या थियो,’ कञ्चनपुरको भागेश्वर सुगर एन्ड केमिकल्स इन्डस्ट्रिज प्रालिका सञ्चालक शंकर बोगटीले भने, ‘तर, यो वर्ष भारतबाट आयात नभएपछि हाम्रो चिनीले राम्रो बजार पाएको छ।’
उनका अनुसार विगतमा भारतबाट चिनी आयात हुँदा नेपाली उत्पादन खपत गर्न समस्या थियो। यस वर्ष भने कोरोना नियन्त्रणका लागि सरकारले अन्तर्राष्ट्रिय सीमा बन्द गर्दा भारतीइ चिनी आयात हुन पाएन जसले गर्दा यता उत्पादित चिनी समयमै खपत भयो।
सरकारले भारतीय चिनीमा रोक लगाए मुलुकलाई चिनीमा आत्मनिर्भर बनाउन व्यवसायी सक्षम रहेको बोगटीले दाबी गरे।
‘सरकारले किसानलाई स्तरीय बीऊ र प्रविधिमा सहगोग गर्नुपर्छ,’ उनले भने, ‘अनि, भारतीय चिनी बन्द गर्नुपर्छ। त्यसो गरे हामी नेपाललाई चिनीमा आत्मनिर्भर बनाउन सक्षम छौं।’
कञ्चनपुरकै बेलौरी नगरपालिकास्थित महाकाली सुगर मिलका प्रशासन प्रबन्धक कालुसिंह ठगुन्ना पनि भारतीय चिनी रोक्न सके नेपाली स्वदेशी उत्पादनबाटै आत्मनिर्भर बन्नसक्ने बताउँछन्।
‘अहिले सरकारले कोरोना महामारीका कारण सीमा बन्द गर्दा चिनी आयातमा रोक लागेको छ,’ उनले भने, ‘सरकारले यही मौकामा भारतीय चिनीमा रोक लगाउन सक्छ र यो उत्तम समय पनि हो।’
उनका अनुसार भारतले त्यहाँका किसानलाई उखुमा सहुलियत दिएका कारण कम लागतमा चिनी उत्पादन हुन्छ। त्यहाँको चिनी नेपाल आउँदा लागत कम पर्ने र नेपाली व्यवसायीले भारतीय चिनीसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था हुन्छ।
‘जसका कारण हामी व्यवसायी धराशयी बन्न पुग्छौं,’ उनले भने।
...
भागेश्वर सुगर मिलले वार्षिक २० लाख क्विन्टल उखु पेल्न सक्छ। तर, हालसम्म पूर्णक्षमतामा मिल सञ्चालन गर्न उखु अभाव रहेको प्रशासकीय अधिकृत डम्बर खड्काले बताए।
उनका अनुसार भागेश्वर मिलले आर्थिक वर्ष २०७५–७६ मा १७ लाख २ हजार क्विन्टल उखुबाट १ लाख ५३ हजार क्विन्टल चिनी उत्पादन गरेको थियो भने, आर्थिक बर्ष २०७६/०७७ मा १७ लाख ६८ हजार क्विन्टल उखुबाट १ हजार ५ सय ३० टन चिनी उत्पादन गरेको थियो।
महाकाली सुगर मिलको पनि वार्षिक उखु पेल्ने क्षमता २५ लाख क्विन्टल छ। महाकालीले २० लाख क्विन्टल उखुबाट २० हजार टन चिनी उत्पादन गरेको प्रशासन प्रबन्धक ठगुन्नाले बताए।
यो वर्ष कम उखु उत्पादन हुने
लकडाउनका कारण किसानले समयमा उखु लगाउन नपाउँदा यो वर्ष उखु उत्पादनमा कमी आउने किसानको आँकलन छ।
‘लकडाउनका कारण खेतमा गएर काम गर्ने वातावरण बनेन,’ कञ्चनपुर बेलौरी नगरपालिका–४ का धनराज जोशीले भने, ‘समयमै मल पनि पाइएन, जसका कारण यस वर्ष उखु राम्रो भएको छैन, उत्पादन घट्ने पक्का छ।’
उखु लगाउने समयमा लकडाउन हुँदा सुरुमा प्रहरीले खेतमा काम गर्न नदिएको पुनर्वास नगरपालिका–१० का किसान घुम्मन रानाले बताए।
‘सुरुमा प्रहरीले खेतमा गएर समूहमा कामै गर्न दिएन,’ उनले भने, ‘ढिलोगरी बल्लतल्ल उखु लगायौं, तर समयमा मल नपाउँदा उखु राम्रो छैन।’
यो वर्ष भागेश्वर सुगरले ७ हजार ७ सय ५ सय विघामा ३ हजार ५ सय ४३ क्विन्टल उखु बीऊ वितरण गरेको छ। जसबाट प्रतिबिघा ६ सय क्विन्टल उखु उत्पादन हुने अनुमान छ।
त्यस्तै महाकाली सुगरले ६ हजार बिघा जमिनमा ३ हजार क्विन्टल बीऊ विरतण गरेको जनाएको छ।
दक्ष कामदारमा भारतकै भर
कोरोना महामारीमा नाका बन्द गरिएपछि हालसम्म भारतीयलाई नेपाल आउन दिइएको छैन। तर, नेपाली चिनी मिलमा काम गर्ने अधिकांश जनशक्ति भारतकै थिए।
यो वर्ष भारतीय आउन नपाउँदा दक्ष जनशक्ति अभाव रहेको महाकाली सुगरका प्रशासन प्रबन्धक ठगुन्नाले बताए।
‘दक्ष जनशक्ति नहुँदा यो वर्ष मिल सञ्चालन गर्न सकिएको छैन,’ उनले भने, ‘हाम्रै पूर्वी नेपालबाट जनशक्ति खोजिरहेका छौं।’
भागेश्व सुगरका प्रशासकिय अधिकृत खड्काले मिल सञ्चालनका लागि भारतीय जनशक्तिकै भर पर्नुपर्ने बाध्यता रहेको बताए।
‘सुदूरपश्चिममा हालसम्म चिनी मिल सञ्चालन गर्ने दक्ष जनशक्ति तयार भएको छैन,’ उनले भने, ‘पूर्वमा जनशक्ति तयार भए पनि उतै काम पाउन थालेका छन्, टाढा आउन मान्दैनन्।’
प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७७