अर्जेन्टिनाका चर्चित फुुटबल खेलाडी डिएगो म्याराडोनाको निधन भएको छ। उनको हृदयघातका कारण बुधबार अर्जेन्टिनामा ६० वर्षको उमेरमा निधन भएको हो।
दुई साताअघि मात्र म्याराडोनाको मस्तिष्कको सफल शल्यक्रिया गरिएको थियो।
फुटबल जगतमा सर्वकालिन महान फुटबलरको रुपमा चिनिने ६० वर्षीय म्याराडोनाले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए। उनले इंग्ल्याण्डविरुद्धको क्वाटरफाइनल खेलमा हातले गरेको गोल चर्चित छ। जसलाई 'ह्याण्ड अफ गड' गोलको रुपमा लिइन्छ। यो गोलको पछि आलोचनासमेत भएको थियो।
उनकै कप्तानीमा अर्जेन्टिना सन् १९९० को विश्वकप फाइनलसम्म पुगेको थियो। तर, उक्त खेलमा अर्जेन्टिना वेस्ट जर्मनीसंँग १-० ले पराजित हुन पुग्यो।
अर्जेन्टिनाबाट चार विश्वकपमा सहभागिता जनाएका उनले ९१ अन्तर्राष्ट्रिय खेलमा ३४ गोल गरेका छन्। म्याराडोनाले बार्सिलोना तथा नापोलीबाट क्लब खेल खेलेका थिए।
सन् १९९७ मा फुटबलबाट सन्यास लिएका म्याराडोनाले त्यसपछि सन् २००८ देखि २०१० सम्म अर्जेन्टिनाको प्रशिक्षकको रुपमा काम गरेका थिए। उनकाे प्रशिक्षणमा सन् २०१० काे विश्वकप खेलेकाे अर्जेन्टिना क्वाटरफाइनलमा जर्मनीसँग पराजित भएकाे थियाे।
उनको निधनमा विश्वभरका खेलाडी तथा प्रसंसकले खेलको एक युग समाप्त भएको भन्दै सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरिरहेका छन्।
प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७७