नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) को मतदान सम्पन्न भएको छ। शनिबार काठमाडौंका तीन स्थानमा मतदान भएकामा जिल्ला/नगर, वस्तुगत र एसोसिएटतर्फ सतप्रतिशत मत खसेको छ।
महासंघमा जिल्ला/नगरतर्फ १ सय ५, वस्तुगततर्फ १ सय १ र एसोसिएटतर्फ ९ सय ४ मतदाता छन्।
यो निर्वाचनबाट महासंघको आगामी कार्यकालका लागि एक वरिष्ठ उपाध्यक्षसहित जिल्ला/नगर, वस्तुगत र एसोसिएटतर्फबाट एक-एक जना उपाध्यक्ष निर्वाचित गर्नेछ। त्यसैगरी, कार्यकारिणी सदस्य पदमा ६० जनालाई निर्वाचित गर्नेछ।
वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधान र चन्द्र ढकाल प्यानलसहित प्रतिस्पर्धामा छन्।
ढकालको समूहबाट एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र जिल्ला/नगर उपाध्यक्षमा गुणनिधि तिवारी तथा प्रधानको समूहबाट एसोसिएट उपाध्यक्षमा सौरभ ज्योति, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र जिल्ला/नगर उपाध्यक्षमा दिनेश श्रेष्ठले प्रतिस्पर्धामा छन्।
निर्वाचन समितिका अनुसार मतपत्र कमलादी पुर्याएर मत गणना सुरु गरिने छ।
वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १ सय २७ जना चुनावी मैदानमा छन्। वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा आगामी कार्यकालका लागि स्वत: अध्यक्ष बन्दैछन्।
प्रकाशित मिति: शनिबार, मंसिर १३, २०७७