आइफोन निर्माता एप्पलले सन् २०२४ सम्म चालकरहित कार बजारमा ल्याउने भएको छ।
रोयटर्समा प्रकाशित रिपोर्टअनुसार इन्धनमा लाग्ने खर्चलाई कटौती गर्न कम्पनीले आफ्नै ब्याट्री प्रविधि विकासको काम अगाडि बढाइरहेको छ।
चालकरहित कारलाई रियल टाइम थ्रिडी दृष्य प्रदान गर्न एप्पलले लिडार सेन्सर लगायत अन्य प्रणालीका विभिन्न तत्वमा बाह्य साझेदारसँग मिलेर काम गरिरहेको छ। एप्पल आफैले पनि लिडार प्रविधि विकास गर्ने बताइएको छ।
एप्पलले अन्य परम्परागत कार निर्माताद्वारा बनेका सवारीसाधनमा चालकरहित प्रविधिलाई जडान गर्छ वा आफैले अलग तथा नयाँ कारलाई बजारमा ल्याउने हो भनेर प्रष्ट पारिसकेको छैन।
एप्पलले सन् २०१४ देखि नै चालकरहित कारको प्रविधिमा काम गरिरहे पनि हालसम्म ठोस सफलता हासिल गरिसकेको छैन।
प्रकाशित मिति: बुधबार, पुस ८, २०७७