सुनिल केसीले बैंकिङ क्षेत्रमा तीन दशक बिताइसकेका छन्। चार वर्षदेखि निजी क्षेत्रको प्रमुख वाणिज्य बैंकमध्ये एक एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) को जिम्मेवारी सम्हालेर बसेका केसीले यो अवस्थासम्म आइपुग्न धेरै आरोह-अवरोह पार गरेको अनुभव सँगालेका छन्।
सन् १९९० मा एक विदेशी बैंकमा सहायक स्तरको कर्मचारीबाट बैंकिङ करियर सुरु गरेका उनी अझै पनि बैंकिङबारे सिकिरहेको बताउँछन्। यहाँसम्म आइपुग्नुमा आफ्नो मिहिनेत, सहकर्मीहरूको सहयोग र सहकार्य तथा लगानीकर्ताको विश्वासलाई उनी जस दिन्छन्। उनै केसीसँग एनएमबीका योजना, लक्ष्य, चुनौतिका साथै समग्र बैंकिङ क्षेत्रको उतारचढावबारे आयोमेलकर्मी सुशील भट्टराईले गरेको कुराकानी:
यो वर्षसमेत गरी एनएमबीले तेस्रोपटक बेलायतमा दिइने ‘बैंक अफ दि इयर’ अवार्ड पाएको छ। अवार्ड 'ह्याट्रिक' मा तपाईंको अनुभूति के कस्तो छ?
पछिल्लो चार वर्षमा तीनपटक बैंक अफ द इयर भएका छौं जसले नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत प्रभाव पारेको छ। बैंकिङ क्षेत्रमा सबैले आ-आफ्नै किसिमले योगदान दिइरहेका छौं, छन् पनि। तर, एनएमबी बैंक नै किन? भन्दा हामी मूलधारका बैंकभन्दा फरक ढंगले काम गरिरहेका छौं। एनएमबी कमर्सियल बैंक भएको १२ वर्ष भइसकेको छ। यसले पनि बैंकिङ क्षेत्रलाई स्थापित गर्न सहयोग गरेको छ।
सन् २०२० को ‘वर्ष बैंक’ अवार्ड पाउनुमा अलिक विशेष पृष्ठभूमि जोडिएको छ। कोरोना भाइरस महामारी चलिरहेको थियो। विषम परिस्थितमा काम गरिरहेका थियौं। त्यस्तो कठिन समयमा पनि कर्मचारीको राम्रो व्यवस्थापन र ग्राहक सेवालाई ध्यानमा राखी निरन्तर सेवा प्रदान गरिरह्यौं। समय परिस्थिति हेरेर नयाँ ‘डिजिटल’ माध्यमबाट अलि फरक ढंगले विज्ञापन गरी आवश्यकताअनुसार सेवा दियौं। उदाहरणका लागि फेसबुक र भाइबरबाट बैंक खाता खोल्न सकिने व्यवस्था गर्यौं। जसका कारण ग्राहकले घरमै बसिबसी खाता खोल्न सके। बैंकसम्म आउनुपरेन।
त्यतिमात्रै नभई आफ्ना ग्राहकसँग डिजिटल च्यानलका माध्यमबाट निरन्तर सम्पर्कमै रह्यौं। ग्राहकसँग नियमित सम्पर्कमा रही कोरोनाकालमा समय परिस्थितबारे सर्वेक्षण गर्याैं। सर्वेक्षण गरिसकेपछि उनीहरूको आवश्यकताअनुसार सहयोग सहकार्य गरेका कारण पनि हुनसक्छ।
नेपालमा कोरोना भाइरस लहर चलिरहँदा विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) बाट २ करोड ५० लाख डलर ऋण लियौं। यो रकम धेरै ठूलो नभए पनि यस्तो बेला पनि नेपालमा विदेशी लगानी ल्याउन सकिँदो रहेछ भन्ने सन्देश दियो। महामारीमा विदेशीहरू नेपालका बैंकसँग काम गर्न इच्छुक छन् भन्ने यसबाट प्रष्ट हुन गयो। त्यसमा पनि एनएमबी अगाडि आउँदा फरक ढंगले उभ्यायो।
यसबाहेक नेपालको औपचारिक अर्थतन्त्रलाई सहयोग पुग्ने क्षेत्रमा काम गरिररहेका छौं। उदाहरणका लागि हाइड्रोपावर जस्ता क्षेत्रमा लगानी गरिरहेका छौं। यसमा पनि एनएमबी सबैभन्दा अगाडि छ र यसको नेतृत्व गरिरहेको छ।
यसका अलावा नेपालको पर्यटन क्षेत्र जसमा कोरोना भाइरसको प्रत्यक्ष असर गरेको छ, त्यस क्षेत्रमा पनि हामी काम गरिरहेका छौं। यसबाट आर्थिक क्षेत्रमा दीर्घकालीन फाइदा पुर्याउँछ।
एनएमबीले मुलुकको दिगो विकासका लागि निरन्तर सहयोग र सहकार्य गर्दै आइरहेको छ। कोरोना भाइरस महामारी चलिरहँदा सुदूरपश्चिमको एउटा विकास बैंकलाई ‘अक्वायर’ गर्याैं। हामी विस्तारै नेपालको संरचनाअनुसार विकेन्द्रीकरणलाई आत्मसात गरिरहेका छौं।
एनएमबीले ग्रामीण क्षेत्र र इमर्जिङ सिटी-टाउनहरूमा पनि लगानी गरिरहेको छ। एनएमबीको शाखा विस्तार सँगसँगै ‘अर्गानिक ग्रो’ जसले त्यहाँका बैंकलाई अक्वायर गरेर त्यहाँ कमर्सियल बैंकको सेवा विस्तार गरी व्यापकरूपमा त्यहाँका साना, मझौला र ठूला व्यापारीमा पुर्याइरहेका छौं। यी सबै कारणले गर्दा पनि एनएमबी बैंकले चार वर्षमा तीनपटक वर्ष बैंकको उपाधि जितेको हो। नेपालमा एनएमबी बैंकभन्दा ठूला बैंक पनि छन्। राम्रै खालका आर्थिक अवस्था मजबुत भएका बैंक पनि छन्।
त्यसकारण यो पूरै आर्थिक रिजल्ट, ब्यालेन्स सिटको साइज, ब्रान्चको नम्बरभन्दा पनि कसरी बैंकले अरूभन्दा पृथक तरिकाले काम गरेर प्रभाव पारेको छ, सामाजिक आर्थिक विकासमा के कति सहयोग पुर्यायो, दिगो विकास र दिगो आर्थिक वृद्धिमा कसरी काम गरिरहेको छ त्यो महत्वपूर्ण कुरा हो।
९६ वर्षदेखि प्रकाशन भइरहेको लन्डनको ‘दि फाइनान्सियल टाइम्स’ पत्रिकाले यो अवार्ड दिँदै आएको छ। यसको ‘दि बैंकर्स’ भन्ने म्यागाजिन पनि छ। यो म्यागाजिनले नेपाल राष्ट्र बैंकलाई पनि १ हजार उत्कृष्ट बैंक ‘रिकग्नाइज’ गर्ने भनेर निर्देशिका बनाएको हुनाले यसलाई हाम्रो राष्ट्र बैंकले पनि मान्यता दिएको छ। यो वर्षेनि हुन्छ र हरेक देश र हरेक क्षेत्रमा हुन्छ।
विभिन्न देशमा थुप्रै किसिमका बैंक छन्। अवार्डका लागि उक्त संस्थाले ६-७ महिनाअघि जुन-जुलाईतिर आवेदन माग्छ। त्यसमा हामीले के-के काम गर्यौं, कस्ता-कस्ता काम गर्यौं भनेर आवेदन दिन्छौं। त्यसैका आधारमा फोकल पर्सन बसेर नेपालसँग सम्बन्धित कुनै मान्छे छ भने उहासँग कन्सल्ट गरेर निर्णय गर्छन् र डिसेम्बरमा अवार्ड घोषणा हुन्छ।

कोरोना भाइरस महामारीले बैंकिङ क्षेत्र र समग्र अर्थतन्त्रमा गहिरो प्रभाव पारिरहेको सन्दर्भमा अबको दिन कस्तो देख्नुहुन्छ?
कोरोना भाइरस महामारी नेपालमा मात्रै नभई विश्वभर थियो। नेपालले त्योभन्दा अघि सामना गरेका चुनौति भूकम्प तथा राजनैतिक संकट र नाकाबन्दी आदि थिए, ती समस्या अलि फरक थिए।
यस्तो आर्थिक संकट यति लामो नाकाबन्दी कहिल्यै फेस गरेको अनुभव थिएन। सुरुको अवस्थामा त्यो अन्योल र विषम परिस्थितिले बैंक र बैंकसँग सम्बन्धित क्षेत्रलाई ठूलो असर पारेको थियो।
नयाँ किसिमका संकटले दिने अवसर पनि उत्तिकै थियो। लकडाउनले कुनै पनि व्यवसाय, उद्योगधन्दा चलाउन आवश्यक पर्ने जनशक्ति पाउन गाह्रो थियो। लकडाउनले पूरै ठप्प हुँदा अतिआवश्यक बाहेक सबै सेवा बन्द थिए।
आपूर्ति ठप्प थियो, उद्योगधन्दाका लागि चाहिने कच्चापदार्थको आपूर्ति थिएन, सबै नाका तथा यातायातका साधन बन्द थिए जसका कारण उत्पादनमा कमी आएको थियो। यस्तो बेलामा पनि बैंकले गर्नुपर्ने काम गरिरहेको थियो। पेमेन्टका लागि आवश्यक खाद्यान्न, औषधी सुचारू रूपमै चलाइएको थियो।
नेपाली बजारमा बाहिरको पर्याप्त पुँजी छैन र धेरै डोमेस्टिक रूपमै चलिरहेको अवस्थाले गर्दा नेपाली अर्थतन्त्र चाँडो ‘रिभाइभ’ गर्ने अवस्था देखिएको छ।
त्यो बेला नेपालको उत्पादन एकदमै घटेको अवस्थामा थियो। जसका कारण उत्पादनसमेत हुन सकेको थिएन। महामारीको प्रभाव पर्यटन तथा होटल क्षेत्रमा पर्दा आर्थिक क्षेत्रमा निकै असर परेको थियो।
अहिले आठ-नौ महिना बितिसक्दा विस्तारै आर्थिक गतिविधि सञ्चालनमा आएका छन्। उद्योगधन्दा, कलकारखाना विस्तारै खुल्दै गइरहेका छन्।
नेपाल राष्ट्र बैंकले सकारात्मक रूपमा गर्न सकेको काममा विभिन्न किसिमका मनिटरिङ अपरेसन, लिक्विडिटीलाई मार्केटमा यथेष्ठ राख्न सकियो। त्यसकारण ऋणको लागत घट्न गयो। रिफाइनान्सिङ केही क्षेत्रमा घट्दै गयो।
मार्केटमा प्रशस्तमात्रामा तरलता भइदिँदा विस्तारै ऋणको दर घट्दै जाने अवस्था सिर्जना भयो। पूर्णरूपमा नभए पनि यसबाट सबै व्यवसायीलाई राहत पुग्यो।
त्यतिबेला सबैका आ-आफ्नै व्यवसाय थियो। अचानक लकडाउन भयो। लकडाउन भएदेखि व्यापार घट्यो, वस्तुको बिक्री-वितरण हुन सकेन, जसका कारण क्यास फ्लोको समस्या भयो।
त्यतिबेला बैंकिङ क्षेत्रले र नेपाल राष्ट्र बैंकले पनि रिफाइनान्सिङ र ऋण लचकतामा काम गर्यो, जसकारण महामारीको समयमा काम गर्न केही सहज भयो। यसले समस्या पूर्णरूपमा समाधान नभए पनि केही हदसम्म सहजीकरण गरिदियो। यसबाट रिलाइबिलिटीका लागि चाहिने वातावरण भने मिलेको छ।
अहिले आर्थिक क्रियाकलाप बढिरहेका छन्। विस्तारै बजार व्यवसाय खुलिरहेको छ। विश्वमा कोरोना भाइरसको भ्याक्सिन आइसकेपछि पोजिटिभ सेन्टिमेन्ट देखिन त थालेको छ। जसका कारण बजार खुल्दै पुरानो अवस्थामा फर्किंदै गइरहेको देखेका छौं।
नेपालमा पनि कुनै किसिमका नराम्रा अप्रिय घटना भएनन् भने र युरोपमा देखिएको छुट्टै प्रकृतिको कोरोना नभित्रिने हो भने नेपाली बजार छिट्टै उकासिन्छ र त्यो ‘रिजिलेन्स’ व्यापारीले पनि देखाएका छन्। नेपालको व्यापार-व्यवसाय आइसोलेटेड छ। नेपाली बजारमा बाहिरको पर्याप्त पुँजी छैन र धेरै डोमेस्टिक रूपमै चलिरहेको अवस्थाले गर्दा नेपाली अर्थतन्त्र चाँडो ‘रिभाइभ’ गर्ने अवस्था देखिएको छ।
रेमिट्यान्समा प्रभाव पर्छ भन्ने खालको अनुमानभन्दा रेमिट्यान्स राम्रै रूपमा आइरहेको छ र यो सकरात्मक छ। बाहिर गएका ‘माइग्रेन्ट वर्कर्स’ विदेशबाट फर्किने क्रमले अलिकति बेरोजगारीका मुद्दा बढेका छन्। त्यसकारण नेपालमा पनि आत्मनिर्भर हुनुपर्छ भन्ने थाहा भएको छ र नयाँ किसिमका काम भइरहेका छन्। त्यसमा बैंकले सहयोग गर्नुका साथै सरकारले पनि साथ-सहयोग गरे अहिलेको अवस्थाभन्दा अर्थतन्त्र माथि जान्छ।
वाणिज्य बैंकको संख्यालाई लिएर प्रश्न उठ्ने गर्छ। यसको औचित्यबारे तपाईंको धारणा के हो?
अहिलेको अवस्थामा नेपाल राष्ट्र बैंकले पनि हरेक बैंकले आफ्नो शाखाबाट कम्तिमा १० वटा सहुलियत ऋण १० देखि १५ लाख रुपैयाँसम्मका उपलब्ध गराउनुपर्ने भनेको छ।
हाम्रा बैंकले अहिलेसम्म १ हजार ८ सय नयाँ ऋण उपलब्ध गराउनुपर्ने अवस्था छ। नेपालमा २७ वटा कमर्सियल बैंक छन्। सबै बैंकलाई जोड्ने हो भने ५०-५५ हजार पुगिहाल्छ। व्यापार–व्यवसाय गर्न कोही आउँछन्, केही सीप, क्षमता भएका कोही नयाँ आइडिया लगाएर आउँछन् भने उनीहरूलाई सहयोग गर्नुपर्छ।
एनएमबीको कुरा गर्नुपर्दा कोरोनाभन्दा अगाडि नै स्वदेश फर्किने कामदारलाई लक्षित गरेर नेपालबाट गएका केही सीप सिकेर आएका र बचत गरेका बिनाधितो १ अर्ब रुपैयाँ ऋण दिने निर्णय गरिसकेका थियौं। त्यसैगरी अन्य संघसंस्थासँगको पार्टनरसिपमा पनि स-साना माइक्रोसेमीलाई सहयोग गर्न फन्डमा पार्टनरसिप गरेर नयाँ बिनाधितो ऋण उपलब्ध गराउने काम गरिरहेका छौं।
ग्रामीण क्षेत्र, सेमीअर्बन क्षेत्र र गाउँगाउँमा जुन किसिमको पहुँच छ, त्यसमा टेकेर नेपाललाई आत्मनिर्भर बनाउने, हामी पनि गर्न सक्छौं भन्ने लयलाई सहयोग गर्न सक्यौं भने भोलिका दिनमा यस्तो महामारीको संकटले नेपाललाई राम्रै गर्याे भन्न सकिने सम्भावना धेरै देखिन्छ। त्यसका लागि सबै एकजुट भई मिलेर जानुपर्छ।
नेपाललाई दक्षिण एसियासँग तुलना गर्यौं भने बैंकको उपस्थिति, बैंकको संख्या र जिडिपी साइज सबै हेर्दा बैंकहरूको संख्या बढी भएको जस्तो देखिन्छ। तर, त्यसो भनिरहँदा हामीले ठुल्ठूला प्रोजेक्ट गर्नुपर्यो भने त्यसलाई पूरा गर्नसक्ने क्षता वृद्धि गर्नुपर्ने बलियो अवस्था बनाउन अझै बाँकी छ।
कुनै-कुनै ठाउँमा बैंकको उपस्थिति चाहिनेभन्दा बढी नै छ। जस्तै, न्युरोडमा हेर्ने हो भने चाहिनेभन्दा बढी लेभलमा छन्। हामीले बैंकिङ क्षेत्रलाई अबका दिनमा आर्थिक विकास र वृद्धिलाई पूर्णसहयोग गर्ने र कोरोनाकालमै एक लयमा अगाडि जान्छ भन्ने अनुमानअनुसार अगाडि जाने हो भने बैंकलाई अन्तर्राष्ट्रिय बैंकहरूसँग प्रतिस्पर्धा गर्नेखालको बनाउने हो भने मर्जर गर्दा पनि राम्रै हुन्थ्यो।
तर, मर्जरका लागि मर्जर खाली क्यापिटल बढाउनका लागि भन्दा पनि अलि सिनर्जिक र केही उद्देश्य लिएर रणनीति बनाइ अगाडि बढ्यौं भने भोलिका दिनमा बैंकलाई फाइदा पुर्याउँछ नै। त्यसको प्रभाव भनेको जस्तै हाइड्रोपावरको क्षेत्रमा नेपालमा ठुल्ठूला प्रोजेक्ट हुनुपर्याे, इन्फ्रास्ट्रक्चरका क्षेत्रमा बैंकहरूले अहिलेसम्म त्यति धेरै काम गरेका छैनन्, अहिले सबै सरकारले नै गरिरहेको छ।
भोलिको दिनमा त्यसरी निजी क्षेत्र अगाडि आउने प्रोजेक्ट हुने हो भने त्यो स्तरको क्षमता बढाउन मर्जरले सहयोग गर्छ। फेरि, त्यहाँनेर इन्फ्रास्ट्रक्चर बकैंहरू पनि छन्। अहिले सबै बैंकसँग ८ अर्बभन्दा बढी पुँजी छ। त्योभन्दा पनि अझै १४, १५ २० अर्ब पुँजी हुने बैंकको संख्या पनि निकै छ। सिनर्जिको उद्देश्य लिएर काम गर्याे भने फाइदा पुर्याउँछ।
बैंकहरूबीच गुणात्मक प्रतिस्पर्धाको अवस्था कस्तो पाउनुहुन्छ?
ग्राहकको पक्षबाट हेर्दा प्रतिस्पर्धा हुनु राम्रो कुरा हो। प्रतिस्पर्धाले ग्राहकको सुरक्षा र उनीहरूलाई फाइदा नै पुर्याउँछ।आजभन्दा ३५ वर्षअघि नेपालमा निजी बैंक स्थापना भएका हुन्।
त्यसभन्दा पहिलेको स्थितिमा दुई-तीनमात्रै सरकारी बैंक थिए र त्यतिबेला कुनै ग्राहकलाई खाता खोल्नुपर्यो भने महिना दिन लाग्थ्यो भन्ने कुरा थियो। त्यतिबेला ग्राहक बैंकमा जानुपर्थ्याे, तर अहिले बैंक ग्राहककोमा गइरहेको छ। यो राम्रै कुरा हो र प्रतिस्पर्धाले पुर्याएको फाइदा पनि।
अहिले हरेक टोलटोलमा बैंक छ। अहिले गाडीदेखि कलेज, स्कुल पढ्न, घर बनाउन, कुनै वस्तु किन्न अथवा मोबाइल किन्न नै किन नहोस्, सेवा सुविधा पाइन्छ। यसले आर्थिक व्यवहार र कन्जम्प्सनमा राम्रो सहयोग गरिरहेको छ।
त्यसका बेफाइदा पनि होलान्। नेपालको आफ्नो उत्पादन छैन जसका कारण आपूर्ति बढ्यो भन्ने पनि होला तर, बैंकले ३५ वर्षको छोटो अवधिमा जुन काम गर्यो त्यो सबै क्षेत्रभन्दा महत्वपूर्ण काम गर्नुका साथै योगदानसमेत दिएको छ। यसले सामाजिक आर्थिक प्रभाव पारेको छ। महामारीमा पनि प्रशस्तमात्रामा जनशक्तिलाई काम दिइरहेका छौं। प्रतिस्पर्धाले समाजमा निकै ठूलो प्रभाव पारेको छ।
अबको बैंकिङ टेक्नोलोजी (प्रविधि) मा आधारित हुन्छ। सबै बैंक डिजिटल माध्यममा जान्छन्। त्यसका लागि ठूलो लगानी र इन्फ्रास्ट्रक्चरको आवश्यकता पर्छ। बैंक मर्जर गर्दा बैंकले आ–आफ्नो स्ट्रक्चर बनाउँथ्यो भने लागत कम पर्थ्याे। अब हामी डिजिटल प्लेटफर्ममार्फत ग्राहकसम्म पुग्छौं, अन्तर्क्रिया गर्छौं र सेवा दिन्छौं। कमभन्दा कम लागतमा स्तरीय सेवा दिनका लागि मर्जरले निकै सहयोग गर्छ।
सहरभन्दा बाहिर जाने सवालमा हाम्रा बैंकहरूको तत्परता के कस्तो छ यतिबेला?
तीन-चार वर्षयता ठूलो परिवर्तन आएको छ। भर्खरै क्वार्टरको रिजल्ट हेर्याे भने नयाँ र फरक किसिमका बैंकले राम्रो पर्फर्मेन्स गरेको देखिन्छ। अहिले सरकारको लक्ष्यअनुसार सबै ७ सय ५३ स्थानमा बैंक पुगिसकेको अवस्था छ। स्थानीय तहमा बैंकले नजान चाहेका होइनन्, एनएमबी बैंकको हकमा त्यहाँ अवसर देखेका छौं।
पहिले केन्द्रिकृत शासन व्यवस्था भएकाले सबै काम केन्द्रबाटै हुने गरेका थिए। तर, अहिले समय, बाटोघाटो सडक, मोबाइल र इन्टरनेट पहुँचका कारण र रेमिट्यान्स प्रवाहका कारण आम्दानी भइरहेकाले त्यहाँ अवसर बढ्दै गइरहेको देखेका छौं। चार-पाँच वर्षयता एनएमबीले जस्तो काम गर्याे त्यस्तै किसिमका ग्राहक र व्यापारलाई लक्षित गरी भइरहेको हुनाले हामी अगाडि गइरहेका छौं। बैंकिङको सबै क्षेत्रको कुरा गर्ने हो भने पनि त्यो काम भइरहेको छ।
एनएमबीमा तपाईंको करियर निरन्तर र प्रगतिशील देखिन्छ। सिइओ बनिसक्दाको विशेष अनुभूति चाहिँ कसरी वर्णन गर्नुहुन्छ?
बैंकको साइज ठूलो हुँदा काम गर्न सहज हुनुका साथै जोखिम मोल्नसक्ने क्षमता बढ्छ। लागत कम हुनेबित्तिकै ग्राहकलाई सजिलो हुन्छ। अबको जर्नी भनेको डिजिटल जर्नी नै हो।
काम गर्ने शैली सबैको आ-आफ्नै हुन्छ। पदअनुसार गर्ने क्रियाकलाप पनि फरक हुन्छन्। सिइओ भएर काम गर्दा संगठनलाई लिड गर्नुपर्छ। संगठनलाई अगाडि बढाउनेबारे सोच्नुपर्छ। हामीसँग १ हजार ७ सय कर्मचारी हुनुहुन्छ, १ सय ८० वटा शाखा छन्। ती सबैलाई समन्वय गरेर उद्देश्यअनुसार काम गर्ने, कर्मचारी, व्यवस्थापन, सञ्चालक समितिसँग सहकार्य गरी जाने काम हुन्छ।
डेपुटी सिइओ हुँदा आन्तरिक कामलाई कसरी अगाडि लिएर जाने भन्ने हुन्थ्यो। दुवैका फरक-फरक क्षेत्र, चुनौति र काम छन्। कसरी काम गर्ने भन्ने कुरा धेरै तत्वले फरक पर्छ।
मभन्दा पनि संगठनमा आबद्ध १७ सय कर्मचारी र बोर्डको भूमिका नै महत्वपूर्ण हो। सबैको आ-आफ्नै धारणा हुन्छ। लिड गर्ने कुरा एउटा होला तर बैंक किन तीन-तीनपटक बैंक अफ द इयर भयो भन्ने कुरा हेर्दा सबैभन्दा बढी स्टाफले गरेको कामको कारणले नै हो। यसको सबै जस स्टाफलाई जान्छ। म भए पनि बैंक अफ द इयर हुन्थ्यो र नभए पनि हुन्थ्यो, म भोलि नहुँदा पनि हुनसक्छ। त्यसकारण बैंकमा सबैको ठूलो योगदान रहेको छ।
मभन्दा पहिलेको सिइओको पनि ठूलो भूमिका थियो। लिडरभन्दा पनि जसले फिल्डमा बसेर काम गर्नुहुन्छ, कोरोना महामारीमा पनि बैंकमा उपस्थित भएर सेवा दिनुभयो, आफैं संक्रमित भए पनि त्यस्तो लगाव र मिहिनेत नै यसको कारण हो।
एकजनाले भन्दा पनि सम्पूर्ण टिमले कमसरी काम गर्छ भन्ने कुरा महत्वपूर्ण हो। अबको बैकिङ कारोबार पहिलेको परम्परागत बैकभन्दा फरक किसिमले चल्छ। त्यसका लागि हामी डिजिटल प्रणालीमा जान तयार रहनुपर्ने अवस्था छ। त्यसका लागि ठूलोमात्रामा लगानी गरिरहेका छौं र त्यसमा पनि लिडिङ पोजिसनमै पर्छौं। त्यसलाई च्यालेन्ज गरी अगाडि बढ्ने कुरा त छँदैछ।
कुनै थप अक्वायर वा मर्जको योजना?
हामी सन् २०१५ देखि लगातार विकास बैंक अक्वायर गर्दै अएका छौं। अहिलेसम्म ६ वटा विकास बैंक र फाइनान्स कम्पनी अक्वायर गरेर यो ठाउँमा छौं अहिले। हामी यो कुरामा ओपन छौं तर केका लागि? के कसरी गर्ने भन्ने सोचाइ छ।
अलिकति अर्बन सेन्ट्रिक बैंकबाट अलिकति कोअपरेटिभ बैंकबाट विस्तारै गाउँगाउँमा बैंक लिएर जाँदैछौं। यसमा राइट पार्टनर फेला पार्याैं भने हामी ओपन पनि छौं। तर, तत्काल मर्जरमा गइहाल्ने भन्ने कुनै योजना छैन।

एनएमबीका अबका चुनौति के हुन्?
कोभिडपछिको न्यु नर्मल अवस्थामा कसरी आफूले आफैंलाई अगाडि लैजाने भन्ने कुरा होला तर त्योभन्दा बाहेकका कुरामा हामी निरन्तर लागिरहेका छौं।
जुन बैंकको लामो भिजन पनि हो। हामी जुन क्षेत्रमा काम गर्छौं, जस्तै हाइड्रोपावर आफैंमा बढी जोखिम भएको क्षेत्र हो तर हाइड्रोपावर त्यस्तो क्षेत्र हो त्यसमा जति हामीले लगानी गर्दै गयो अहिले हामी ४५ बढी प्रोजेक्टमा छौं जसमा आधाभन्दा बढी अन्डर कन्स्ट्रक्सनमा काम भइरहेका छन्।
त्यो सबै आइसकेपछि नेपालको स्तर नै परवर्तन हुनसक्छ। एक त भारतमा निर्यात हुन्छ, बाहिर जाला त्यो सँगसँगै नेपालमा भएका उद्योगधन्दाहरू सबै चल्छन् र प्रतिस्पर्धा हुन्छ। नेपालको व्यापार-व्यवसाय क्षेत्रलाई सकरात्मक बनाउँदा यहाँ नयाँ बजार स्थापित हुन जान्छ जसमा अवसर पाइन्छ।
यतिमात्रै नभई हामीले पर्यावरणका क्षेत्रमा पनि काम गर्नुपर्छ। बैंकिङ भनेको दीर्घकालीन योजना हो। दसौं वर्षपछि के कस्तो हुन्छ भनेर सोच्नुपर्छ। यहाँको पर्यावरणलाई सहयोग गरेपछि भविष्यका पुस्तालाई कसरी उत्पादनमूलक काममा लगाउने विकास गर्ने भन्ने कुरामा पनि प्रभाव पारिरहेको हुन्छ।
नयाँ प्रोजेक्टमा काम गर्दा थुप्रै समस्या, बाधा भए पनि हामी जुनरूपमा गइरहेका छौं, त्यसलाई निरन्तरता दिने हो भने हामी सफल हुन्छौं।
हामीलाई हाम्रो ग्राहकले फिल गर्नुपर्यो, उहाँहरूले पाउने सेवा, सुविधा, उत्पादन सजिलै र चाहेजस्तो हुनुपर्यो र त्यसबाट हामीले कस्टमर एक्सपिरियन्स क्रिएट गर्न खोजिरहेका छौं।
आजसम्म अधिकांश कारोबार बैंकमै आएर गरिरहेका छौं। अबको दिनमा, करीब तीन वर्षमा ९० प्रतिशत ग्राहकले घरमै बसिबसी मोबाइल-ल्यापटपबाटै कारोबार गर्न सक्नुहुन्छ। अहिले सुरुवाती अवस्थामा भए पनि घरमै बसिबसी ऋण लिने व्यवस्था पनि गरिसकेका छौं।
फेस टु फेस नभेटी नहुनेबाहेकका काममा बैंक आउनु नपर्ने गरी काम गरिरहेका छौं। त्यो भनेको उहाँहरूको समयको बचत, कन्भिनियन्स र रिक्वायरमेन्टअनुसार गरिरहेका छौं। बैंकका सेवा सुविधा सहजरूपमा ग्राहकसमक्ष पुर्याउने र बैंकलाई चाहिएको सेवा सुविधा र आवश्यकता नहेरी ग्राहक सेवा र चाहनाअनुसार काम गरिरहेका छौं।
हामीले सुरु गरेको एक-दुई वर्ष भइसक्यो। यो अनगोइङ प्रोसेस हो, जुन अहिले पनि चलिरहेको छ। तर, यसलाई हामी दुई-तीन वर्षभित्र सक्नेगरी अघि बढिरहेका छौं। यसले बैकलाई पनि लागतका हिसाबले फाइदा गर्छ।
दूरदराजमा बैंक खोल्दा लगानी लाग्छ, त्यसको बदला अरू माध्यमबाट पुग्न सक्यौं भने राम्रै हुन्छ। अहिले सबैसँग मोबाइल छ। धेरैले स्मार्ट फोन चलाउनुहुन्छ, इन्टरनेट पहुँच बढिरहेको छ, फोरजी गाउँगाउँमा पुगिरहेको अवस्था छ। यसले ठूलो परिवर्तन ल्याइरहेको छ। यो एक किसिमको क्रान्ति नै हो जुन बाहिरका देशमा देखिन थालिसकेको छ।
बैंकिङ क्षेत्रमा मात्र नभई मेडिकल क्षेत्र, यातायात क्षेत्रजस्ता सबै क्षेत्रमा जुन नयाँ वेभ आइरहेको छ, त्यो बैंकिङ क्षेत्रमा ल्याइएन भने हामी पछाडि पर्छौं, त्यसका लागि पनि काम गरिरहेका छौं। बैंकको पहुचलाई एकदमै तल्लो तहमा पुर्याउने र उहाँहरूलाई चाहिने सम्पूर्ण कुरा उहाँहरूकै औंलामा राखेर दिने भन्ने हो।
समग्रमा आफ्नो बैंकिङ करियरलाई कसरी हेर्नुभएको छ? सन्तुष्ट हुनुहुन्छ?
बैंकिङ क्षेत्रमा काम गरेको ३० वर्ष पूरा भएको छ। मैले असिस्टेन्टबाट काम सुरु गरेको थिएँ। मैले काम गर्दा चार-पाँच बैंकमात्रै थिए। भर्खर-भर्खर विदेशी बैंक आएका थिए। त्यहि विदेशी बैंकबाटै मैले आफ्नो करियर सुरु गरेँ। केही पनि नजानेको मान्छे सिक्दासिक्दै यहाँसम्मको यात्रा तय भयो। जहिले पनि सिकिरहने म अहिले पनि सिकिरहेको छु।
मसँग भएको समयको राम्रो सदुपयोग गर्न सकेँ जस्तो लाग्छ। म खुसी छु। आज यहाँसम्म पुग्नका लागि मेरो टिम, मेरा स्टाफहरूको ठूलो हात छ। सबैभन्दा ठूलो कुरा भगवानको कृपा हो जस्तो लाग्छ। करियर सबैको हुन्छ, सबै माथिसम्म पुग्छन् तर तल्लो स्तरबाट व्यवस्थापनको टप स्थानमा पुग्नु ठूलो कुरा हो, सन्तुष्ट छु।
प्रकाशित मिति: आइतबार, पुस १२, २०७७