केही समय पहिले देशैभरि राजसंस्था र हिन्दु राज्य चाहियो भनेर चर्को नाराबाजी भयो। देशका प्रमुख सहरहरू राजावादीको आन्दोलनले ताते।
नेकपा आन्तरिक कलहमा फसिरहेको र सरकारप्रति जनताको वितिष्णा बढिरहेको समयमा राजाको पक्षमा नारा किन र कसरी लाग्यो भन्ने कुरा अझै प्रष्ट हुन सकेको छैन।
तर, एकपछि अर्को स्थान हुँदै देशका मुख्य-मुख्य सहरमा नारा लागिरह्यो। पछिल्लो समय संसद विघटन भइसकेपछि सो क्रम केही रोकिए पनि अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्दोलनको नेतृत्व गरिरहेको छ। र, राजाको पक्षमा नारा लाग्ने क्रम रोकिएको छैन।
खासमा यो वर्तमान सत्ताको अकर्मण्यताप्रतिको विरक्तिमात्र हो, जुन घोर निराशातर्फ उन्मुख छ।
र, सोही धमिलो पानीमा माछा मार्न खोज्नेहरू सलबलाइरहेका छन्।
वर्तमान शासकले यो कुरा समयमै बुझेनन् भने देश फेरि अर्को दुर्घटनामा नपर्ला भन्न सकिन्न। वर्तमान राजनीतिक खिचातानीका कारण जनतामा सरकारप्रतिको वितृष्णा पनि बढ्दो छ।
जनतामा सरकारप्रतिको आक्रोस बढ्दै गइरहेको सन्दर्भमा आयोमेलले 'एक्कासि सुरु भएको 'राजा आऊ देश बचाऊ’ आन्दोलनलाई के भन्नुहुन्छ? भनेर एउटा सर्वेक्षण गरेको थियो।
पाठकमाझ गरिएको यो सर्वेक्षणमा सहभागी धेरैजसोले 'अहिलेका नेताहरूले कामै नगरेर' ठानेका छन्।
सर्वेक्षणमा सहभागी करिब ६० प्रतिशतले ‘अहिलेका नेताहरूले कामै नगरेर’ भन्ने मत दिएका छन्। त्यस्तै १३.३३ प्रतिशत सहभागीले 'बेमौसमको बाजा’, अनि १३.३३ प्रतिशतले राजा हुँदा के नै सुध्रिएको थियो र!’ भन्ने मत व्यक्त गरेका छन्। यस्तै १३.३३ प्रतिशत सहभागीले 'जुनै जोगी आए नि कानै चिरेका' भन्नेमा मत व्यक्त गरेका छन्।
यसबाट पनि जनताको पछिल्लो समय नेताप्रति विश्वास गुम्दै गएको प्रष्ट हुन्छ।
त्यस्तै 'जे सुकै होस्' भन्ने विकल्पमा भने कुनै मत प्राप्त भएको छैन।
प्रकाशित मिति: शुक्रबार, माघ २, २०७७