बुडर, डोटीका प्रेमबहादुर खड्का वनरक्षक भएर काम गर्दागर्दै एउटा उल्झन आइलाग्यो। उनको कार्यक्षेत्रमा काठ तस्करी अचाक्ली भयो। र, उनले जिल्ला वन कार्यालयलाई गुहारे। वन तस्करीको मुद्दामा सरकार वादी भएर मुद्दा लाग्छ।
खड्काको जाहेरीमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गर्यो, दुईजनाविरुद्ध। जाहेरीलगत्तै राधेश्याम बडाऐर पक्राउ परे। अर्का आरोपी चाहिँ उम्किए, जो उम्किएको उम्कियै अहिले वनमन्त्री नै बनेका छन्। अर्थात्, प्रेम आले।
जिल्ला अदालतमा सुरक्षित मुद्दाको मिसिलमा संलग्न वनरक्षक प्रेमबहादुर खड्काको जाहेरीपत्रमा यस्तो लेखिएको छ–
‘सँगै उजुरी दिएका राधेश्याम बडाऐरलाई २०५५ वैशाख २१ गते पक्राउ गरिसकिएको र अर्का प्रतिवादी आले उच्छृङ्खल मानिस भएकाले पत्र बुझाउन नसकी हुलाकबाट राजिस्ट्री गरी पत्र बुझाए पनि पक्रन नसकेको।’
श्रेणीले सिपाहीसरह वनरक्षक खड्काले उजुरीपत्रमा आफूमाथि खतरा रहेको दर्शाएका छन्। ‘उजुरी दिने मेरो ‘शरीर’ ज्यानको खतरा भएकाले सुरक्षा गरिदिन भन्दै जोरायल प्रहरी चौकी बुडरलाई पत्राचार गरिएको छ,’ उजुरीपत्रमा उल्लेख छ।
वडास्तरको राजनीति र वन पैदावर कारोबारलाई एकसाथ अगाडि बढाएका आलेलाई उक्त मुद्दाबाट जसरी पनि जोगिनु नै थियो। जानकार स्रोतका अनुसार उनले उक्त मुद्दामा आफ्नो ठाउँमा एक आफन्तलाई उभ्याए र आफू उम्किए। मुद्दा कसरी मिलाएर आलेलाई उन्मुक्ति दिइयो भन्ने खोजीको विषय भइरहँदा उनीमाथिको अभियोग चाहिँ निकै प्रष्ट देखिन्छ।
‘२०५५ वैशाख १० गते साविक छतिवन गाविस–९ रुबसकाँडा बस्ने प्रेमबहादुर आले र छतिवन–८ का राधेश्याम बडाऐरसमेतले मिलेर छतिवन गाविसका वडा नम्बर ५ र ८ मा रहेको वनबाट अबैधरूपमा ११ हजार २ सय ३२ दशमलव ८४ क्युफिट काठ कटाएको प्रमाणित भएकाले वन ऐन २०४९ को दफा ४९ (घ) र (ङ) को कसुरमा सोही ऐनको दफा ५० (१) (घ) ४ नम्बरबमोजिम बिगो ४ लाख ४९ हजार ३ सय १४ रुपैयाँ ८० पैसाको दोब्बर रुपैयाँ र एक वर्ष कैद गर्न तथा बरामद काठ जफत गरी कारबाही गरिपाउँ’ भन्दै जिल्ला अदालतमा प्रस्तुत अभियोगपत्रमा उल्लेख छ।
उक्त मुद्दाबाट छुटाकारा पाइसकेपछि २२ वर्षको बीचमा आलेले वन पैदावार व्यवसाय र राजनीतिलाई बाहुबली र पैसाका आडमा एकसाथ अगाडि बढाउँदै लगातार ठूलो फड्को मारेका छन्। उनले डोटीबाट दुईपटक संसदीय निर्वाचन जितिसकेका छन्। प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक द्वन्द्व सम्हाल्न नसकेर संसद विघटन गरेपछिको कामचलाउ सरकारमा आलेको मन्त्री बन्ने सपना पूरा भएको छ। भाग्यवश, उनले रोजाइकै वन मन्त्रालय पाएका छन्।
जाहेरी दिने तत्कालीन वन रक्षक (हाल निवृत्त) खड्काले विस्तारमा कुरा गर्न चाहेनन्।
‘त्यतिबेला कानुनअनुसार उजुरी दिएकामा मुद्दा किनारा लागिसकेको छ। अब उहाँ मन्त्री भइसक्नुभयो, म केही बोल्दिनँ,’ खड्काले आयोमेलसँग भने।


को हुन् आले?
पञ्चायतकालमा उपप्रधानपञ्च रहेका डोटी, सहजपुरका पदमबहादुर रानाकी बहिनी बिष्नालाई विवाह गरेका थिए टेकबहादुर आलेले। विवाहपछि भारत मुम्बई हान्निएका टेकबहादुरकी पत्नी बिष्ना उतै बितिन्।
बिष्नाकी आमाले पहिलो घर (सहजपुर) छाडी रुबसकाँडा निवासी पर्शुराम सिँजालीसँग पुनः विवाह गरेकी थिइन्। उनले सिँजाली परिवारमा पुनः एउटी छोरी (गंगा) जन्माइन्।
उनले भारतको मुम्बई लगेकी छोरी बिष्नाको मृत्यु भएर एक्लो जीवन बिताइरहेका ज्वाइँ टेकबहादुरलाई घरमा बोलाउन थालिन्। सिँजाली परिवारमा जन्मेकी छोरी गंगा हुर्कंदै गइन्। पछि विदुर रहेका ज्वाइँलाई छोरी गंगा नै सुम्पिइन्। तिनै गंगादेवीबाट २०२८ सालमा जन्मिए प्रेम आले।
प्रेमबहादुरलाई मुम्बईमा रोजगारी गर्दै पढाउँदै आएका थिए टेकबहादुरले। टेकबहादुरको मुम्बईमा रेल्वे स्टेसनमा राम्रो जागिर थियो। रेल्वे स्टेसन नजिक बसाइमा प्रेमको चाहिँ गुन्डागर्दीमा लागेका युवाहरूसँग संगत हुन थाल्यो।
छोरा बिग्रिन थालेको भन्दै टेकबहादुर १७ वर्षका प्रेमलाई लिएर २०४५ सालतिर कैलालीको रुबसकाँडा आए। रुबसकाँडामा ससुराली नजिकै घर बनाएर बस्न थाले। भारतबाट रुबसकाँडा आएकै बेला प्रेमले काँग्रेसको सदस्यता लिएका थिए।
कांग्रेसबाट वडाध्यक्षको टिकट नपाएपछि उनी तत्कालीन एमालेमा प्रवेश गरेका थिए।
मुम्बईबाट रुबसकाँडा आएपछि प्रेम ‘दादा’ नै थिए। उनी टोलछिमेकमा लडाइँ गर्थे। उनी कति पढेका हुन् भन्ने प्रश्नमा एक स्थानीयले भने, ‘भारतमा जति पढ्यो थाहा भएन, तर नेपाल अएपछि भने ऊ स्कुल जाँदै गएन।’
उनले महोन्याल गाउँपालिका–३ फलेबिसौनाको जनकल्याण सामुदायिक वनका अध्यक्ष जनक गिरीलाई झपार्दै गरेको भिडियो सार्वजनिक भएको थियो। उनले अध्यक्ष गिरीलाई ‘म को हुँ, चिन्छस्? के मुखमा के हेरेको? टाउको तल गर्। तँ साले बढ्ता कुरा गर्छस्’ भनेर थर्काएका थिए।
कसरी गर्थे काठको कारोबार?
२०५५ सालताका व्यक्तिले काठको कारोबार गर्न पाउँथे। त्यतिबेला फर्म हुँदैनथ्यो। फर्म नभएकै बेला उनले व्यक्तिगत रूपमा काठको कारोबार गरे। यसरी व्यक्तिगत रूपमा काम गरेकै बेला उनलाई वनमुद्दा लागेको थियो।
स्रोतका अनुसार उनले आफैंले लगानी गरेर उद्योग तथा सः मिललाई महँगोमा काठ बेच्थे। उद्योग तथा सः मिलले लगानी गरे भने बिचौलिया बनेर कमिसन लिन्थे। त्यसैबेला बुडरमा ईलाका वन कार्यालयमा सहायक वन अधिकृतका रूपमा सुरेशचन्द्र डिसी आएका थिए।
डिसी पनि गुन्डागर्दी छविका कर्मचारीका रुपमा चिनिन्छन्। आलेले तिनै डिसीसँग मिलेर डोटीको काठ काठमाडौंसम्म पनि पुर्याएको एक निकटवर्तीले बताए।
डिसीको घर दाङ हो। आलेको डिसीसँग धेरै राम्रो सम्बन्ध छ। आलेसँग व्यक्तिगत सम्बन्ध राम्रो भएका कारण उनी धेरै समय बुडर र बिपीनगरमा बसेका थिए। स्रोत भन्छ, ‘सेटिङका लागि माहिर हुन् डिसी।’
२०७६ साउन २६ मा डोटी बिपीनगर सबडिभिजन वन कार्यालयका सहायक वन अधिकृत डिसी डडेल्धुरा भात्काँडामा घुस रकमसहित समातिएका थिए। अख्तियारको टोलीले उनलाई ३ लाख २६ हजार घुस रकमसहित पक्राउ गरेको थियो।
ठेकेदारलाई काठ मिलाइदिने भन्दै ठेकेदारबाट उनले त्यो घुस लिएको अख्तियारले जनाएको छ। त्यसपछि अख्तियारले उनलाई निलम्बन गरेको छ भने विशेष अदालतमा मुद्दा चलिरहेको छ।
असार दोस्रो साता वैज्ञानिक वन अनुगमन क्रममा आलेले उनै निलम्बित सहायक वन अधिकृत डिसीलाई कैलालीसम्म बोकेर आएका थिए। टोपी र मास्क लगाएका डिसी अनुहार नचिनिने गरी कैलालीको अनुगमनमा आलेलाई सघाउन पुगेका थिए।

सधैं विवादमा अल्झने आले
असार दोस्रो साता सामाजिक सञ्जालभरि डोटीबाट निर्वाचित सांसद प्रेम आलेको आलोचना भयो। आलोचना हुनुको कारण थियो–सामुदायिक वनका अध्यक्षलाई ‘टाउको तल गर, म को हुँ चिन्छस्?’ भन्ने धम्कीपूर्ण भाषा।
उनी संघीय संसदको सार्वजनिक लेखा समितिअन्तर्गत बनेको वैज्ञानिक वन अनुगमन उपसमितिको सदस्य भएर कैलाली पुगेका थिए। सांसद प्रदिप यादव (उपसमिति संयोजक) सहित कैलाली आएका आले ठूलै युद्ध लड्न जाने तयारी झैं दलबल र गुन्डा लिएर सामुदायिक वन अनुगमनमा निस्केका थिए। उनी कैलाली लम्की पुगेर वन समितिका अध्यक्षलाई हप्काउन थाले।
उनले महोन्याल गाउँपालिका–३ फलेबिसौनाको जनकल्याण सामुदायिक वनका अध्यक्ष जनक गिरीलाई झपार्दै गरेको भिडियो सार्वजनिक भएको थियो।
उनले अध्यक्ष गिरीलाई ‘म को हुँ, चिन्छस्? के मुखमा के हेरेको? टाउको तल गर्। तँ साले बढ्ता कुरा गर्छस्’ भनेर थर्काएका थिए।
संसदको लेटरप्याड दुरुपयोग गरेर चर्चामा आएका आले अन्य विवादमा पनि तानिएका छन्। वाइडबडी जहाज खरिद, चिनीको परिणात्मक बन्देज, डेडिकेटेड लाइन, सिमेन्टको नयाँ मापदण्ड, मुद्रण प्रेस खरिदलगायत समितिले अनुसन्धान गरेका प्रायः मुद्दामा सत्तारुढ नेकपाको आडमा ‘विचौलियागिरी’ गरेको भन्दै उनको आलोचना हुँदै आएको छ।
वैज्ञानिक वन व्यवस्थापन प्रणाली नै खारेज गर्नुपर्ने अभिव्यक्ति दिँदै आएका आलेको भूमिका शंकास्पद देखिँदै आएको छ। यो प्रणालीबाट आफ्नो निहित स्वार्थपूर्ति नहुने, सबै ठाउँबाट काठ काट्न नमिल्ने, प्राविधिक रूपमा आँकलन गरिसकेपछि मात्र रूख कटान हुने भएपछि ‘तस्करी व्यापार’ नै डामाडोल हुने कारण काठ कारोबारीको ठूलो हिस्सा तर्सेको छ।
के भन्छन् आले?
काठ तस्करीको आरोपमा आफूलाई फसाइएको वनमन्त्री आलेको दाबी छ।
‘जिल्ला अदालतदेखि पुनरावेदन अदालतसम्मले सफाइ दिइसकेको छ,’ काठ तस्करी मुद्दामा फसाइएको दाबी गर्दै आलेले आयोमेलसँगको कुराकानीमा भने।
आफ्नो पार्टी (नेकपा) बाट चोइटिएर गएका मान्छेहरूले भ्रमको खेती गरिरहेको आलेले दाबी गरे। ‘मप्रति दुराशय राखेर आफ्नै साथीहरूले भ्रमको खेती गरे,’ उनले भने।
२०५५ सालमा आफूलाई भन्दा पनि भीम रावललाई मुद्दा परेको आलेले बताए। उनले रावललाई काठ व्यवसायी र तस्करहरूले घेरेको बताउँदै आफूमाथि काठ तस्करीको झुठो आरोप लगाइएको बताए।
प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७