घटना - एक
सहचालक : भाडा निकाल्नुस् त ?
(यात्रुले कार्ड छ भनी १५ रुपैयाँ दिए)
सहचालक : कार्डको छुट छैन।
विद्यार्थी : कार्डको छुट दिएको छ। ट्राफिकले पनि छुट पाउँछ भनेको छ। नभए फोन गर्छु।
सहचालक : ल ल गर्नुस्–गर्नुस्। स्कुलको ड्रेस लगाएको छ भने मात्रै हो नभए छैन। नचाहिने कुरा नगर्नुस। ट्राफिकलाई फोन गर्नेभए गर्नुस।
ती विद्यार्थीले छुट पाएनन्।
घटना : दुई
विद्यार्थी : (१५ रुपैयाँ हातमा समाएर) लिनु दाइ गाडीभाडा
सहचालक : कहाँबाट बहिनी?
विद्यार्थी : माइतीघरबाट
सहचालक : पुगेन नि भाडा। २५ रुपैयाँ हो।
विद्यार्थी : कार्ड छ, ड्रेस लागाएको छु कलेजको
सहचालक : विद्यार्थीलाई छुट छैन। कार्डको नि छुट छैन।
विद्यार्थी : अरु गाडीमा दिएको छ त। तपाईंको गाडीको समितिले पनि कार्डको छु्ट भनेको छ।
सहचालक : छैन–छैन कार्डको छुट। समितिले कार्डको छुट भन्ने हो? समितिलाई त हामीले पैसा दिनुपर्छ। खै समाचारमा त आएको छैन। कार्डको छुट छ भनेर। कहाँकहाँको कुरा सुनेर आउँछन् (बरबराउँदै)।
विद्यार्थीले छुट माग्दा उसले सहचालकको नराम्रो बोली सुन्नुपर्यो। अहिले अधिकांश विद्यार्थीहरुले यस्तै समस्या भोगिरहेको छन्। कोहीले आवाज उठाउँछन् कोहीले यस्तै हो भनेर पैसा दिएर जान्छन्।
यता, महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंका सूचना अधिकारी एसपी श्याम कृष्ण अधिकारीले विद्यार्थीको र वृद्धवृद्धाहरुलाई कार्डको छुट भएको बताए।
अधिकारीले कार्डको छुट नपाइने भनेर कहिल्यै नियम नबनेको बताउँदै यसअघि एउटा सिटमा एकजना यात्रुमात्र राख्ने नियम भएका बेला आफूहरुले केही नभनेको बताए।
दुवै सिटमा यात्रु राखेपछि कार्डको छुट दिनुपर्ने उनी बताउँछन्। उनले छुट नदिए ट्राफिक प्रहरीलाई वा १०३ नम्बरमा फोन गरी उजुरी गर्न उनले अनुरोध गरे। उनले उजुरी दर्ता भएका थुप्रै गाडीहरुलाई कारबाही गरिसकेको र गाडीले छुट नदिए खबर गर्न आग्रह गरे।
‘विद्यार्थीले ड्रेस लगाएपनि नलगाएपनि कार्डको छुट पाउँछन्, नदिएमा ट्राफिक प्रहरीलाई वा १०३ नम्बरमा फोन गरी उजुरी गर्नुहोला’, उनले भने।
भक्तपुर यातायात समितिका पूर्वअध्यक्ष ज्ञानेन्द्र महर्जनले हाल यस समितिबाट चल्ने गाडीहरुले कार्डको छुट नदिएको बताए। यात्रु कम हुने र कहिलेकाँही नहुने भएपछि चालकहरुले छुट नदिएको महर्जन सुनाउँछन्। ‘माघ १ गतेदेखि सबै विद्यालय खुलेपछि कार्डको छुट दिन्छ होला’, उनले भने, ‘अहिले आम्दानी नै छैन भन्ने चालकको गुनासो छ।’ केही गरी पछि पनि छुट नदिए अफिसमा सम्पर्क गर्न उनले अनुरोध गरे।
प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७