मुलुकको केन्द्रीय बैंकले मूल्यवृद्धि करिब तीन प्रतिशत रहेको तथ्यांक सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७७–७८ को पाँच महिनाको तथ्यांक समेटेर बुधबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार गत मंसिरमा मूल्यवृद्धि २.९३ प्रतिशत थियो।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष मंसिरमा मूल्यवृद्धि ६.५५ प्रतिशतसम्म पुगेको थियो। गत कात्तिकमा भने मूल्यवृद्धि ४.०५ प्रतिशत थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ५.२३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि १.१६ प्रतिशत थियो।
गत मंसिरमा फलफूल, घ्यु तथा तेलको मूल्यवृद्धि सबैभन्दा बढी १४.७५ प्रतिशत पुगेको थियो। त्यस्तै तरकारीको १३.०१ प्रतिशत, दाल ११.४४ र गेडागुडीको मूल्यवृद्धि १०.७४ प्रतिशत पुगेको थियो।
समीक्षा महिनामा काठमाडौं उपत्यकामा मूल्यवृद्धि ३.७१ प्रतिशत, तराईमा २.३५, पहाडमा ३.९५ र हिमालमा ४.२२ प्रतिशत थियो। गत आर्थिक वर्ष मंसिरमा काठमाडौंमा ७.६०, तराईमा ६.६६, पहाडमा ५.२७ र हिमालमा ४.८३ प्रतिशत मूल्यवृद्धि थियो।
प्रकाशित मिति: बुधबार, पुस २९, २०७७