झन्डै एक वर्षदेखि जारी कोरोना भाइरस महामारीले मुलुक भित्रिने विप्रेषण (रेमिट्यान्स) करिब ११ प्रतिशतले वृद्धि भएको छ।
चालू आर्थिक वर्षको पहिलो पाँच महिना (साउनदेखि मंसिर) मा ४ खर्ब १६ अर्ब ८१ करोड रुपैयाँबराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ। यो गत आर्थिक वर्ष सोही अवधिको दाँजोमा १०.९ प्रतिशतले बढी हो। त्यसबेला भने शून्य दशमलव २ प्रतिशतको झिनो दरले गिरावट आएको थियो।
मुलुकको केन्द्रीय बैंकले चालू आर्थिक वर्ष २०७७–७८ को पाँच महिनाको तथ्यांक समेटेर बुधबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार गत पाँच महिनामा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ६.४ प्रतिशतले बढेर ३ अर्ब ५२ करोड पुगेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष सोही अवधिमा भने शून्य दशमलव ४ प्रतिशतको झिनो वृद्धि रेकर्ड गरिएको थियो।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम स्वीकृति लिने नेपालीको संख्या ७७.९ प्रतिशतले घटेको छ। गत वर्ष सोही अवधिमा भने ११.८ प्रतिशतले बढेको थियो। वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या गत पाँच महिनामा ६९.४ प्रतिशतले घटेको र अघिल्लो वर्ष यस्तो संख्या ७.६ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ।
प्रकाशित मिति: बुधबार, पुस २९, २०७७