नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको हैसियत नै के हो भन्दै प्रश्न गरेका छन्।
‘काम चलाउ भइसक्नु भएको छ, अहिले कुर्सी छोड्नुस् ओलीजी,’ प्रेस संगठन नेपालको दोस्रो पूर्ण बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै नेपालले भने, ‘ओलीजी तपाईंको हैसियत के?’
पार्टीको महासचिव छँदा आफ्नो हुर्मत लिने गरेको भन्दै नेपालले ओलीलाई असहयोगी भएको बताएका छन्। फाइदा लिइसकेपछि धोका दिने ओली ऐजरू रहेको उनले जिकिर गरेका छन्।
‘प्रचण्डलाईपनि भर्याङ बनाउनु भयो, पुक्क लात्ती दिनुभयो,’ नेपालले भने,‘संसदीय दलमा कस्ता मान्छेलाई प्रस्ताव गरिएछ? मेरोबारे अनावश्यक प्रचार गर्दै हिँड्ने?’
प्रधानमन्त्री ओलीलाई भुटको पुलिन्दा बताउँदै उनी भ्रमको खेतीमात्रै गरेको नेपालले बताए।
‘ओलीजी झुटको पुलिन्दा हुनुहुन्छ, भ्रमको खेती गर्न माहिर मानिस,’ उनले भने,‘उहाँ एकै दिनमा तीनजना मानिसलाई एउटै पद दिन सक्नुहुन्छ।’
पार्टी एकताबखत भएका सहमतिहरू उल्लंघन गरेर ओलीले पार्टीभित्र भाँडभैलो मचाएको नेपालले आरोप लगाएका छन्।
‘सहमतिहरू तोडेर उहाँले पार्टीभित्र भाडभैलो मचाउनु भएको छ,’ नेपालले भने, ‘एकीकरण हुँदा प्रचण्डजी र ओलीजीले प्रधानमन्त्री आधा–आधा चलाउने सहमति भएको थियो। तर, उहाँले सहमित तोड्नु भएको छ।’
पार्टीभन्दा आफूलाई माथि ठान्ने ओली प्रतिगमनका प्रतिक र गणतन्त्र विरोधी रहेको उनले आरोप लगाए।
प्रकाशित मिति: मंगलबार, माघ ६, २०७७