नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा विघिटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भाषामा राजाको गन्ध देखिएको बताएका छन्।
नेपाल प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।
‘पहिला जतिपनि संविधान बने ती सबै संविधानमा संशोधनको अधिकार राजामहाराजाहरूमा निहीत थियो। विघट वा संशोधन गर्दा राजाले वक्तव्य निकाल्थे,’ प्रचण्डले भने,‘अहिले प्रधानमन्त्रीले राजा महाराजजस्तो आफूमा अन्तरनिहीत अधिकार प्रयोग गरेका छन्। प्रधानमन्त्रीले गरेको सिफारिसमा राजाकै भाषा ह्वास्स घनाएको छ। तपाईंहरू कतिको सुँघ्नु भएको छ। दुर्घन्ध आउँछ त्यो केपीको भाषामा।’
ठूलो राजामहाराजाको दुर्घन्ध आउने गरी संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर ओलीले संसद विघटन गरेको प्रचण्डले बताए।
प्रधानमन्त्रीको पछिल्लो कदम राजतन्त्र पुनस्र्थापित गर्ने र देशलाई निरंकुशतन्त्रतर्फ धकेल्ने प्रक्रियाको सुरूवात रहेको उनको भनाइ थियो।
सरकारले प्रतिनिधिसभामात्रै नभएर संविधान र संघीय गणतन्त्र अन्त्य गर्ने प्रक्रिया सुरु गरेको उनले बताए। देशलाई भयानक अराजकताको भूमरीमा धकेल्ने प्रयास भएको प्रचण्डले जिकिर गरे।
असाध्य विशिष्ट र चुनौतीपूर्ण मोडमा लोकतन्त्र र गणतन्त्रलाई पर्याइएको प्रचण्डले बताए।
‘नेपाली जनता सिंह हुन्। गर्जिन जानेका छन्। केपीको प्रतिगामी कदमविरुद्ध आवेग छ, आक्रोश छ,’ उनले भने, ‘हामी युद्धमा होइन शान्तिमा आइसकेका छौं। आवेग र आक्रोशका साथ आन्दोलन गर्नुपर्छ मैले भनेकै हो। तर, त्यसको अर्थ हिंसात्मक आन्दोलन पक्कै पनि होइन। हामी शान्तिपूर्ण आन्दोलन नै गर्छौं।’
देशमा मडिराइरहेको प्रतिक्रान्तिको खतराविरुद्ध पत्रकारहरूको भूमिका प्रशंसनीय रहेको प्रचण्डले बताए।
प्रकाशित मिति: मंगलबार, माघ ६, २०७७