आज श्रीपञ्चमी अर्थात विद्याकी अधिष्ठात्री देवी सरस्वतीको आराधना गरी बालबालिकालाई अक्षरारम्भ गराउने दिन। आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ। यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ।
पञ्चमीबाट अक्षर आरम्भ गर्दा ज्ञान प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ। मकर संक्रान्तिदेखि सूर्य उत्तरी गोलार्धमा सर्छ। यसलाई उत्तरायण भनिन्छ। सूर्यको गति उत्तरतर्फ लागेपछि देवताहरूका दिन सुरु भएको मानिन्छ। देवदिनमा अक्षर लेख्न सुरु गरे आध्यात्मिक, भौतिक र सामाजिक ज्ञान प्राप्त हुने विश्वास गरिन्छ। त्यसैले आज काठमाडौं उपत्यकासहित देशभरका सरस्वती मन्दिरका भित्ताहरुमा बालबालिकालाई लेख्न लगाई अक्षरारम्भ गराउने चलन छ।
काठमाडौंको स्वयम्भुमा रहेको सरस्वती मन्दिरमा पनि आज अक्षरारम्भ गराउने अभिभावक तथा बालबालिका भिड छ। हेरौं स्वयम्भु पुगेर आयोमेलकर्मी सुजन श्रेष्ठले लिएका केही तस्बिरहरु-








