post-slider post-slider

धर्मराउँदै सत्ता गठबन्धन, एमाले-माओवादी नजिकिए

Image
A A

काठमाडौं, फागुन २१- आज सत्तारूढ गठबन्धनको बैठक बस्दैछ।

प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा उक्त बैठक बस्नेछ। बैठक बिहान ८ बजे बोलाइएको छ।

सत्तारूढ गठबन्धनमा समस्या देखा परिरहेको बेला गठबन्धनको बैठक बस्न लागेको हो।

बैठकमा राष्ट्रिय सभाको भावी अध्यक्ष तथा सरकारका मन्त्रीहरू हेरफेरलगायतका विषयमा छलफल हुने जनाइएको छ।

आइतबार मात्रै प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिहान र साँझ दुई पटक भेटवार्ता गरेका थिए। सो भेटवार्तापछि सत्तारूढ गठबन्धनमा नयाँ बहस सुरू भएको छ र एमाले-माओवादीसहितको नयाँ गठबन्धन बन्नेतर्फ राजनीति अघि बढेको आँकलन गरिएको छ।

ओलीले पनि सरकार परिवर्तनका बारेमा नयाँ-नयाँ कुरा गरिरहेको बेला यस बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

राष्ट्रिय सभाको अध्यक्षमा कांग्रेसले दाबी गरिरहेको छ। गठबन्धनको अर्को दल माओवादी भने त्यसका लागि तयार देखिएको छैन।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग आइतबार छलफल गरेका थिए।

मन्त्रिपरिषद् पुन:गठन, राष्ट्रिय सभाको अध्यक्ष निर्वाचन र गठबन्धनका विषयमा सत्ता गठबन्धनमा विषयमा उनले छलफल गरेका थिए।

उनले सत्ता गठबन्धनमा समस्या देखिन सक्ने भएकाले राजीनामा दिन तयार रहन मन्त्रीहरूलाई भनेका थिए। फिनल्याण्ड जान लागेका परराष्ट्रमन्त्री एनपी साउदलाई उनले भ्रमण रोक्न भनेका थिए।

एमाले स्रोतका अनुसार दोस्रो तहका नेताहरूबीच निरन्तर वार्ता भइरहेको छ। यो वार्ता नयाँ गठबन्धन बनाएर अघि बढ्नेतिर अग्रसर छ। 

राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीलाई सँगै लिएर नयाँ गठबन्धन बनाउनेतर्फ एमाले-माओवादी नेताहरू अघि बढेका छन्। 

सोमबार नै यसबारे छिनोफानो हुने दाबी गरिएको छ। पछिल्लो समय प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओली नजिकिएका छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार प्रतिनिधिसभाको बैठकमा जवाफ दिने कार्यक्रम छ।

Tags: